कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाबुराम भट्टराईद्वारा एमाओवादी परित्याग

•व्यवस्थापिका संसद् सदस्यबाट पनि राजीनामा •भन्छन्, ‘एमाओवादीमा फर्कने सम्भावना छैन’

काठमाडौं — एमाओवादीका एकजना बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् ।

काठमाडौंमा शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्दै भट्टराईले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेका हुन् । उनले पार्टीसँग व्यवस्थापिका संसद् सदस्यबाट पनि शनिबार नै राजीनामा दिएको बताए ।

बाबुराम भट्टराईद्वारा एमाओवादी परित्याग

एमाओवादीका एकजना बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेका छन् ।

काठमाडौंमा शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्दै भट्टराईले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेका हुन् । उनले पार्टीसँग व्यवस्थापिका संसद् सदस्यबाट पनि शनिबार नै राजीनामा दिएको बताए ।

‘केही समयदेखि मैले पार्टीहरु पनि रुपान्तरण हुँदै जानुपर्छ भन्दै आएको थिएँ,’ माओवादी विद्रोहका योजनाकार भट्टराईले भने, ‘संविधानसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले के गर्न सक्छु भन्ने आशयले सबैसँग छलफल गर्ने गरि आजैका मितिदेखि लागू हुने गरि मैले एकीकृत नेकपा माओवादी सम्पूर्ण दायित्व, जिम्मेवारी र साधारण सदस्यता परित्याग गरेको घोषणा गर्दछु ।’

भट्टराईले पार्टी परित्याग गर्ने जानकारी अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी गराइसकेको उल्लेख गरे । ‘तत्काल के गर्ने भन्ने दिमागमा छैन,’ आगामी योजनाबारे उनले भने, ‘बाहिर रहेका, कुनै पनि पार्टीमा नरहेकासँग सल्लाह गरेर कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने सल्लाह गरेर जाने योजना बनाएको छु ।’

भट्टराईले गोरखा क्षेत्र नं. १ को संविधानसभा सदस्यबाट पनि राजीनामा दिएको बताए । ‘पार्टी परित्याग गरेपछि संविधान सदस्यबाट पनि स्वत: राजीनामा दिनुपर्छ,’ उनले भने, ‘आज नै मैले व्यवस्थापिका संसदका सभामुखलाई पत्र लेखेर राजीनामा दिएको जानकारी गराउँछु ।’

भट्टराईले पार्टी परित्यागको घोषणा गर्दा माओवादीका उपल्लोस्तरका कुनै पनि नेता थिएनन् । संविधानसभा निर्वाचनअघि एमालेबाट प्रवेश गरेका निर्मल भट्टराई पत्रकार सम्मेलनको बीचमा देखिएका थिए । उनले अहिले पार्टीबाट एक्लै छाडेकाले आगामी दिनमा कसरी अघि बढ्ने निर्णय नगरेको बताए ।

भट्टराईले नयाँ बनाउने निर्णय पनि नगरेको बताए । ‘देश र जनताको सेवा गर्ने एउटा साधन पार्टी हो, पार्टीमात्रै सबै साधन होइन,’ आगामी योजनाबारे उनले खुलाए, ‘पार्टी बनाउने, नबनाउने ठोस अवधारणा बनाएको छैन ।’

भट्टराईले पार्टी अध्यक्ष भएर एमाओवादीमा फर्कने सम्भावना पनि नरहेको उल्लेख गरे । ‘घरबाट निस्किसकेपछि नयाँ घर बनाउने, नयाँ बाटो हिंड्ने अथवा जंगलमा बस्ने अनेक विकल्पहरु हुन्छन्,’ उनले एमाओवादीमा फर्कने सम्भावनाबारे भने, ‘पुरानो घर, भत्केको घर, छोडेको घर फर्कने कुरा हुँदैन ।’


के भने बाबुरामले पार्टी परित्यागको समयमा ? सुन्नुहोस् अडियो :

पाँच ‘स’को प्रतिबद्धता
भट्टराईले पार्टी र सभासद् पद त्याग गरे पनि पाँच ‘स’को प्रतिबद्धता जनाएका छन् । ‘त्यो भनेको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताप्रति सदैव रहने र त्यसको जगेर्ना गर्ने पहिलो प्रतिबद्धता हो,’ उनले आफ्ना प्रतिबद्धता खुलाउँदै गए ।
समानुपातिक समावेशी लोकतन्त्रप्रतिको प्रतिबद्धता दोस्रो थियो भने तेस्रो समृद्धि, सामाजिक न्याय चौथो हो भने सदाचार भट्टराईको पाँचौ प्रतिबद्धता हो ।

गम्भीर थिए बाबुराम
पत्रकार सम्मेलनमा झण्डै आधा घण्टा ढिला आएका बाबुराम गम्भीर देखिन्थे ।

पत्रकार सम्मेलनमा उनका लागिमात्रै कुर्सी व्यवस्था गरिएको थियो । पत्रकार सम्मेलनको उद्धेश्यबारे उनको निजी सचिवालयले केही बताएको थिएन । निजी सचिवालयले पठाएको एसएमएसमा यत्तिमात्र भनिएको थियो, ‘बीआरबी (बाबुराम भट्टराई) प्रेसमिट छ, आज अरुदिन भन्दा फरक र विशेष प्रेसमिट भएकाले तपाईं आउनुहोला है ।’

पत्रकारको अनुमान मधेस आन्दोलनमा भट्टराईले सार्वजनिक ऐक्यबद्धता जनाउनेमात्रै होला भन्ने थियो ।

सुरुमै भट्टराईले ४० वर्षे राजनीतिको नयाँ मोडमा आइपुगेको बताए । तर, फेरि पनि उद्धेश्य रहस्यमय नै थियो । त्यसपछि उनले पटक पटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभाविरोधीकोरुपमा चित्रण गरे । पटक पटक संविधानसभाको नारा लगाउँदा अवरोध गरेको र ६० सालमा कान्तिपुरमा संविधानसभा र गणतन्त्रको पक्षपोषणमा लेखिएको लेखका कारण कारबाही गरिएको उल्लेख गरे ।

उनले संविधान निर्माणपछि माओवादीको उपादेयता सकिएको, अहिलेका शीर्ष नेताहरु संघीयता र गणतन्त्रमा नक्कली अनुहार भएकोलगायतका आरोप लगाउँदै थिए । सहभागी पत्रकारले अनुमान लगाउँदै गए, भट्टराईले केही नयाँ घोषणा त पक्कै गर्दैछन् ।

पहिलोचरणमा झण्डै २० मिनेट मन्तव्य राखेपछिमात्रै भट्टराईले पार्टी परित्यागको प्रसंग उठान गरे । पार्टी परित्यागको कारणबारे ५ मिनेट धारणा राखे भने पत्रकारसँगमात्रै ३ मिनेट साक्षात्कार गरे । पार्टी परित्याग घोषणापछि उनले लामो समय बोल्न चाहेनन् । गम्भीर मुद्रामा रहेका उनी इन्द्रेणी कम्प्लेक्सको आठौं तलबाट सरासर ओर्लिए ।

प्रकाशित : आश्विन ९, २०७२ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?