आतंकको छायाँमा वार्ता हुँदैन : महतो

मोर्चा वार्तामा बस्न तयार
वेदराज पौडेल

इनरुवा — सरकारले नै वार्ताको वातावरण नबनाएको आरोप लगाउँदै संयुक्त मधेसी मोर्चा मध्येको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आतंकको छायाँमा वार्ता हुनै नसक्ने बताएका छन् ।

सुनसरीको इनरुवामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा सरकारले पठाएको पत्रको जवाफ दिँदै उनले वार्ताका लागि न्यूनतम चार सर्त अघि सारेपनि सरकार लचिलो रुपमा प्रस्तुत नभएको र भयरहित वातावरण नबनाएको आरोप लगाए ।

संयुक्त मधेसी मोर्चाले आयोजना गरेको विरोध सभामा सहभागी हुन मोटरसाइकलमा आएका महतोले पत्रकार समक्ष आफूहरुले तेस्रो चरणको अवज्ञा आन्दोलन थालेको बताए । उनले गान्धीले अंग्रेजका विरुद्ध चालेको अहिंसात्मक अवज्ञा आन्दोलन गरेर आफूहरुले काठमाडौंलाई मागहरु पुरा गराउन बाध्य बनाउने बताए । उनले भारतले सीमा नाकामा नाकाबन्दी गरेको नभई आफूहरुले नाका बन्दी गरेको जिकिर गरे ।

भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीलाई पठाएको ७ वटा संशोधनका बुँदा र तपाईहरुको ७ बुँदा उस्तै छन् नी ? भन्ने जिज्ञासामा आफूहरुले भारतले राख्नु अघि नै सरकारलाई ति मागहरु पेस गरिसकेको बताए ।

आफ्नो आन्दोलन मधेसको आन्दोलन भएको बताउँदै मधेसी देख्ने वित्तिकै बिहारी वा भारतीय देख्नु शासकहरुको कमजोरी भएको बताए ।
 
यो आन्दोलननै निर्णयक हुने बताउँदै महतोले सरकारले निम्नतम् शर्त पुरा गरे वार्ता नै अन्तिम विकल्प रहेको बताए । तर अब उधारो सम्झौता नहुने उनले बताए । उनले भने, ‘वार्तामा बसेपछि सम्झौता नगदानगदी हुनु पर्छ । उधारो सम्झौता हुँदैन ।’ मोर्चा वार्ता गर्न तयार रहेको बताउँदै सरकारले सेना, प्रहरी फिर्ता बोलाएर वार्ताका वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७२ १५:११
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय राजदूतको पत्रकार सम्मेलन रोकियो

दुर्गा खनाल

काठमाडौं — भारतीय राजदूत रणजीत रायले शुक्रबार साँझ गर्ने भनेको पत्रकार सम्मेलन रोकिएको छ । दूतावासले शुक्रबार दिउँसो प्रेस नोट जारी गर्दै साँझ ५ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित भएको जनाएको छ । संविधान निर्माणमा चासो राख्दै आएको भारतले मधेस आन्दोलनको कारण देखाउँदै अघोषित नाकाबन्दी सुरु गरेको छ ।

भारतीय राजदूत रणजीत रायले शुक्रबार साँझ गर्ने भनेको पत्रकार सम्मेलन रोकिएको छ ।

दूतावासले शुक्रबार दिउँसो प्रेस नोट जारी गर्दै साँझ ५ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित भएको जनाएको छ । संविधान निर्माणमा चासो राख्दै आएको भारतले मधेस आन्दोलनको कारण देखाउँदै अघोषित नाकाबन्दी सुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयले नाकाबन्दीबारे भारतको धारणा माग्न राजदूत रायलाई बोलाएपछि यस विषयमा प्रष्ट पार्न दूतावासले पत्रकार सम्मेलनको निधो गरेको थियो । तर मन्त्रालयले अहिलेसम्म बोलाएको छैन ।

यसैबीच नेपालको संविधान र तराईको आन्दोलनप्रति भारतीय चासो बढिरहेको बेला पछिल्लो समय नाकाहरुसमेत अवरोध हुन थालेपछि त्यसबारे दलका शीर्ष नेताहरुले भारतीय राजदूतसँग जानकारी लिएका छन् ।

राजदूत रायले शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै अनौपचारिक भेटघाट गरेका छन् । ती भेटमा नेताहरुले नाकाहरुमा भइरहेको समस्याबारे राजदूतसँग बुझ्ने प्रयास गरेको स्रोतले जनायो ।

दुई देशबीचको सम्बन्ध राम्रो बनाउनुपर्ने र यहाँको समस्या यहीका राजनीतिक दलहरुले समाधान गर्ने धारणा नेताहरुले राजदूतलाई सुनाएका थिए । नाकाहरुको समस्या समाधान गर्न लागि उनीहरुले ध्यानाकर्षण गराएका थिए ।

पूर्व प्रधानमन्त्री माधव नेपालसँग शुक्रबार कुराकानी गर्दै भारतीय राजदूत रणजित राय । तस्बिर: मोहन गौतमको फेसबुक

राजदूत रायले भारतबाट नभई स्थानीय समस्याका कारण त्यस्तो भएको हुनसक्ने भएकाले समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतकै विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार नै जारी गरेको विज्ञप्तिमा भने नेपालकै कारण समस्या सिर्जना भएको भन्ने उल्लेख छ । त्यही आशयको कुरा राजदूत रायले पनि नेताहरुसँग गरेका थिए ।

प्रमुख तीन दलको बिहीबार साँझ बसेको बैठकमा सीमा नाकामा भएको तनावबारे समीक्षा भएको थियो । नाकामा सामानहरु रोकिएकोबारे भारतीय पक्षसँग कुरा गर्ने सहमति दलहरुले गरेका थिए ।

प्रकाशित : आश्विन ८, २०७२ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×