१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

'प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारी थिएनन्'

बेथरी घटना: मृत्यु भएका र घाइते सवै हाटबजारबाट फर्केका थिए
माधव ढुंगाना

भैरहवा — हाटबजार लागेको स्थानमा अघिल्लो दिनदेखि तरकारी, सागसब्जी, माछामासु असरल्लै छन् । व्यापारी कता छन् ? पत्तो छैन । भुस्याहा कुकुरले सिङ्गै माछा लुछिरहेको देखिन्थे । हाटबजार लागेको स्थल वरपर दर्जनौं साइकल, मोटरसाइकल ढलेका छन् ।

'प्रहरीको गोलीबाट मारिएका आन्दोलनकारी थिएनन्'

यो दृश्यले मंगलबार सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच झडपमा गोली चल्दा मच्चिएको कोलाहल र भागदौड अवस्था अहिले पनि देख्न सकिन्छ ।
सुरक्षाकर्मीको गोली लागेर मंगलबार बालकसहित ४ जनाको मृत्यु भएको घटनापछि बुधबार घटनास्थल बेथरी पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । मृतकका घर र आफन्तकोमा रुवावासी चलेको छ । मंगलवार साँझदेखि लागेको कर्फ्युका कारण स्थानीय घरबाट बाहिर निस्केका छैनन् । हाटबजारमा किनमेल गर्न आएका र आफ्नोमा उत्पादित वस्तु बेच्न आएका किसान कर्फ्युले घर जान नसकेर अलपत्र परेका छन् । तिजको दिन जताततै रमाइलो र नाचगान चलिरहेको बेला बेथरीमा भय र त्रास छाएको छ ।  

व्यापारी त्रासले भागेपछि सुनसान बेथरीस्थित हाटबजार ।

लुम्बिनी करिडोरका उद्योगबाट लोड भएका ट्रकलाई प्रहरीले एस्कर्टिङ्ग गरेर ल्याउने क्रममा बेथरी चोकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले ट्रक र सुरक्षाकर्मी गाडीमाथि तोडफोड गरेपछि सुरक्षाकर्मीले गोली चलाउँदा उक्त घटना घटेको हो । स्थानीय र मृतकका आफन्तले सुरक्षाकर्मीले हाटबजार लागेको ठाउँमा सिधै गोली हानेर ज्यादती गरेको आरोप लगाए ।
'तीज मनाउन मेरो नातिनी मामाघर आएकी थिई तर भित्रै बसेको अवस्थामा गोली लागेर ढली' सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएकी सिलौटिया ८ ओडवलियाकी १४ वषर्ीया रञ्जनासिंह क्षेत्रीकी हजुरआमा बुद्धकुमारीले रुँदै भनिन्, 'मेरो नातिनी न आन्दोलनमा लागेकी थिई, नत ट्रक तोडफोड गर्न गई ।'

मंगलवार गोली चलेको बेथरिस्थत हाटबजार नजिकै भागदौडमा छाडिएका साईकल  र मोटरसाईकल । 

उनका अनुसार, बाहिर तोडफोड र गोली चलेर भागदौड मच्चिन थालेपछि उनकै घरमा सुरक्षित हुन भित्र बसेका नातिनीसहित अन्य तिनजनाको गोलीले एकै ठाउँमा ढले । जसमा, हाटबजारमा किनमेल गर्न आएकी आफ्नी आमाको काखमा आएका चार वर्षे चन्दन पटेल र गोनाहा ४ बेथरीका ४० वषर्ीय राजकुमार बरईको मृत्यु भयो । उनीहरु हाटबजारमा गोली चल्न थालेपछि भागेर उक्त घरमा लुकेर बसेका थिए ।  
नजिकैको अर्को छिमेकी घरमा पनि उस्तै घटना भयो । हाटबजारमा भागदौड मच्चिएपछि सुरक्षित हुन आफ्नै घरभित्र पसेका ४० वषर्ीय बिन्दु लाकौल पनि गोली लागेर त्यही ढलिन् ।
घटनामा मृत्यु भएका र घाइते सवै हाटबजारका सर्वसाधारण हुन् । एस्कर्टिङ्ग गरिएका ट्रक र सुरक्षाकर्मीको गाडी तोडफोडमा संलग्न सबै सडकसंगै जोडिएको हाटबजारको फाइदा उठाउँदै फरार भए । प्रत्यक्षदर्शीका अनुसार, करिब डेढ सयजति ट्रक पार भइसकेर केही ट्रक बेथरी कट्नै लाग्दा आन्दोलनकारीले ट्रक र सुरक्षाकर्मीको गाडीमा धावा बोलेका थिए । तोडफोडमा संलग्न समूह हाटबजार लागेका स्थानमा छिरेर लुके । 
आन्दोलनकारीले एस्कर्टिङ्ग गरिएका ट्रक र सुरक्षाकर्मीको गाडीमाथि लुकेर ढुंगा हाने । प्रहरी र एस्कर्टिङ गरिएका गाडीमा घरका छतबाट पनि ढुंगा हानियो । केही आन्दोलनकारीले चौकी घेर्ने र केहीले एस्कर्टिङका गाडीमा हाटबजारभित्र र घरका छतबाट ढुंगा हान्न थाले । प्रहरीले नियन्त्रणका लागि थुप्रै उपाय अपनायो । तर, नसकेपछि बाध्य भएर रबरको गोली चलाउनुपरेको रुपन्देहीका एसपी राजेन्द्र ढकालले बताए । हाटबजार स्थल प्रहरी चौकीको दूरीबाट करिब ५० मिटर टाढा छ ।
प्रहरीले नियन्त्रण र आत्मरक्षाका लागि भन्दै गरेको कारबाहीको निशानामा हाटबजारमा तरकारी बेच्न र किन्न आएका सर्बसाधारण परे । आन्दोलनकारीले मानव ढाल प्रयोग गरेको प्रहरीको दाबी छ । स्थानीय सर्बसाधारणले प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण गर्ने नाममा जथाभावी ज्यादती गरेको आरोप लगाए ।
तोडफोड गर्ने समूह हाटबजारतर्फ लागेपछि सुरक्षाकर्मीले हाटबजारतिर गोली चलाउदा सर्वसाधारणमा लागेको हो । हाटबजार लाग्ने स्थल वरपर बस्ती छ ।
सुरक्षाकर्मीमाथि दुईतिरबाट आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले गोली चलाउनु परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले बताए । उनका अनुसार, बालवालिकासहितको भिडले प्रहरी चौकीमाथि आक्रमण गर्न थालेको र आक्रमण क्रममा गुलेलीको पनि प्रयोग गरिएको थियो । बेथरी प्रहरी चौकीमा ढुंगा प्रहार गरिदा चौकीको झ्यालको शिसा फुटेका छन् ।
मृतकलाई राज्यबाट पाउनु पर्ने क्षतीपुर्ती दिलाउन पहल गरिने र घाईते सम्पुर्ण उपचार अस्पतालको बिल बमोजिम खर्च बेहोरिने ढकालले जनाए । मृतकको लास बुझ्न सम्बन्धित परिवार र आफन्त समक्ष आग्रह र पहल गरिएको उनले जनाए । 

गोली चलेर भागदौडपछि मंगलबार व्यापारीले छाडेको माछा खादै कुकुर । 

आन्दोलनरत मोर्चाका जिल्ला संयोजक तथा संघिय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले एस्कर्टिङ्ग गरिएका ट्रक तथा सुरक्षाकर्मीको गाडीमाथि तोडफोड गर्ने निर्देशन मोर्चाले नदिएको र सवै आन्दोलित भइरहेको वेलामा यसको नैतिक जिम्मेवारी मोर्चाले लिने बताए । तर, ट्रक र सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दैमा सुरक्षाकर्मीले घर भित्र बसेकालाई गोली प्रहार गरिनु अति निन्दनीय भएको बताए । केही दिनअघि बेथरी प्रहरी चौकीमा कुनैपनि ट्रक एस्कर्टिङ्ग नगर्ने लिखित प्रतिबद्धता प्रहरीले गरेको तर कार्यान्वयन नगरी त्यसै गरेपछि घटना घटेको हो । 

तस्विरहरुः माधव ढुंगाना/कान्तिपुर 

 

 

 


 

 

 

प्रकाशित : भाद्र ३०, २०७२ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?