जनकपुरमा भोलिदेखि अनिश्चितकालीन कर्फ्यु

सशस्त्र एसपीमाथि पेट्रोल बम प्रहार
श्यामसुन्दर शशि

जनकपुर — संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार जनकपुरमा वृहत सभा गर्नेभएपछि स्थानीय प्रशासनले भोलि(शुक्रबार) बिहान ६ बजेबाट अनश्चितकालका लागि कर्फ्यु घोषणा गरेको छ ।


मोर्चाले 'चलु जनकपुर भरु' अर्थात जनकपुर भरौं भन्न नारा लगाएर ठूलो जनसमूदाय ल्याउने तयारी गरेपछि प्रशासन आत्तिएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सम्भावित मुठभेडलाई दृष्टिगत गरी कर्फ्यु आदेश जारी गरिएको बताए ।

 

 

‍‍‍‍................................

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेको अगुवाईमा बिहीवार २६ औ दिनपनि जनकपुर बाजार बन्द रहे । मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुले विहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । अपरान्ह महिलाहरुले झाडु जुलुस प्रदर्शन गरेका थिए । विहान नगरको शान्ति सुरक्षाको अवस्था बुझ्न जाँदै गरेका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरमाथि भानुचौकमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेका थिए ।
एसपी ठाकुरले आफू चढेको गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएपनि गाडीको सीसा बन्द रहेकोले सुरक्षित बाँचेको बताएका छन् । बम गाडी बाहिर खसेको थियो । बम प्रहार गर्ने व्यक्ति फरार भएको एसपी ठाकुरले जानकारी दिए ।  
यसैबीच मोर्चा सम्बद्ध महिलाहरुले अपरान्ह जनकचौकबाट झाडु जुलुस प्रदर्शन गरेका छन् । जुलुस राम मन्दिर,पुरानो बाजार,जानकी मन्दिर,मिल्सएरिया हुदै भानु चौक पुगेको थियो । मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुले समेत दिनभरि प्रदर्शन गरेका छन् ।
विहान बसेको संयुक्त युवा संघर्ष समितिको बैठकले जिल्ला स्थित सुरक्षाकर्मीहरुलाई बहिष्कार गर्ने निर्णय गरेको छ । संघर्ष समितिको निर्णयमा सुरक्षाकर्मीहरुलाई ईन्धन, खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरु आपूर्ति नगर्न स्थानीय व्यावसायीहरुसंग अपिल गरिएको छ । यसै बिहीवारै बसेको लोकतान्त्रिक मधेसी समाजको बैठकले जिल्ला स्थित सुरक्षाकर्मीहरुलाई भद्र अवज्ञा तथा असहयोग गर्ने निर्णय गरेको छ ।
मंगलवार अपरान्ह १ वजेदेखि जनकपुरका चार प्रमुख सडकमा लगाइएको निषेध बिहीवार तेश्रो दिन पनि जारी रह्यो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार-सोमवार नेपाली काँग्रेस कार्यालयमा आगजनी गरेपछि ,सरकारी कार्यालयहरु अवस्थित रहेका चार सडकलाई निषेधित क्षेत्र जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले भानुचौकदेखि रेल्वेस्टेशन, भानुचौकदेखि विद्यापति चौक, भूतनाथ मन्दिरदेखि जिल्ला अदालत एवं कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय बीचको सडकलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

 

प्रकाशित : भाद्र २४, २०७२ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

जलेश्वरमा कर्फ्यु तोड्न खोज्नेमाथि अश्रुग्याँस

कान्तिपुर संवाददाता

महोत्तरी — महोत्तरीको जलेश्वरमा कर्फ्यु तोड्ने प्रयास गर्ने महिलाहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । हातमा झाडु र कुचो लिएर महिलाहरुले शंकरचोकमा प्रदर्शन गरेका थिए ।

कर्फ्यु उल्लंघन गरेको भन्दै शसस्त्र प्रहरीले २ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
शंकरचोकको स्थिति अहिले तनावग्रस्त छ । महोत्तरीकै जिरो माइलमा पनि मोर्चाका कार्यकर्ताले उल्लंघन गर्ने प्रयास गरेका थिए ।
दिनभर शान्त देखिएको जलेश्वरमा ४ बजेपछि कर्फ्यु तोड्ने प्रयासहरु भएका हुन् ।

प्रकाशित : भाद्र २४, २०७२ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×