जलेश्वरमा सेना सडकमा

महोत्तरी — जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार राति ८ बजेदेखि जारी गरेको कर्फ्यू आदेश कायमै राखेको छ । कर्फ्यूका कारण जलेश्वरको सडक सुनसान छ। शान्ति सुरक्षा कायम राख्न सेनालाई पनि गस्तिमा खटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जिल्लाको स्थिति बिग्रिदै गएपछि शान्ति कायम गर्न आफूले गर्नुपर्ने सबै व्यवस्था गरेको बताए । 'राज्यको प्रचलित कानुन अनुरुप मैले जे गर्नुपर्ने हो त्यही गरेको छु,' उनले भने, 'सेना पनि जिल्लाको सुरक्षा समितिको सदस्य हो । जिल्लमा सुरक्षा कायम गर्न सेनाको पनि सहयोग चाहिन्छ ।' उनले आधिकारीक रुपमा सेना परिचालन भएनभएको बारे कुनै प्रश्न नसोध्न आग्रह गरे ।
प्रहरीको गोली लागेर बुधबार ३ जना मारिएपछि आक्रोशित भएका आन्दोलनकारीले गएराती महोत्त्तरीको विभिन्न प्रहरी चौकीमा आगजनी गरेका छन् । रातको समयमा आएका प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय बलबा, मनरा प्रहरी चौकी र लोहरपट्टी प्रहरी चौकीमा आगजनी गरेका हुन् । यस्तै अन्य प्रहरी चौकीमा पनि आक्रमणको प्रयास भइरहेको जिल्लाका एसपी सौरभ राणाले जानकारी दिएकाछन् । उनको अनुसार प्रहरी चौकीमा आक्रमण हुन थालेपछि अर्काको भवनलाई प्रयोग गरि बसेका प्रहरी चौकीलाई आफ्नै भवन भएको ठाउँमा मर्ज गर्न थालिएको छ । 'हामीले भवन छोडीसकेपछि त्यहाँ आक्रमण भएको हो,' उनले भने, 'इलाका प्रहरी कार्यालय बलवा रामगोपालपुरमा र र लोहारपटि इप्रकालाई खुट्टा पिपराडीको सशस्त्रको क्याम्पमा सारिएको छ । यस्तै, मनरा प्रहरी चौकीलाई कट्टिकटैया सारिएको छ ।'
अहिले सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो पारिएको छ।
प्रकाशित : भाद्र २४, २०७२ ११:२९