आन्दोलनबाट २ अगुवा अलग्गिए

राजेन्द्र नाथ र ठाकुरसिंह थारु

नेपालगन्ज — थरुहट आन्दोलनका नेतृत्वकर्ता आन्दोलनबाट टाढिएका छन्। आन्दोलनका अगुवा चन्द्रबहादुर चौधरी र मधेसी नेता इस्तियाक राई नेतृत्वबाट बाहिरिएका हुन्।


एमाले बाँकेका सचिवालय सदस्य समेत रहेका चौधरीले कोहलपुर र पूर्वश्रममन्त्री राई केही दिनको अन्तरमा नेतृत्व त्यागे। उनीहरू नेतृत्वबाट बाहिरिएपछि आन्दोलनको प्रभाव मत्थर हुँदै गएको छ। लामो र कष्टकर बन्दको अवज्ञा गर्दै बुधबार स्वस्फूर्त ढंगले यातायात सञ्चालनमा आएका छन्। बजार खुलेको छ। एकअर्कामा पीडा साटासाट गर्न र दर खान बुधबार मात्रै नेपालगन्जका महिलाले दुई वटा सार्वजनिक कार्यक्रमहरू गरे। त्यसमा थुप्रैको उत्साहजनक सहभागिता देखियो। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा कायमै छ। जुलुस र धर्ना बन्द भएका छन्। बजारमा चहलपहल बढेको छ।

सीमांकनप्रति आपत्ति जनाउँदै जारी आन्दोलनको नेतृत्व गर्ने नेताहरू पछि हटेपछि कार्यकर्तामा अन्योलता थपिएको छ। थारू अगुवा चौधरीलाई आन्दोलनबाट पछि हट्न उनको माउ पार्टी एमालेको पनि दबाब थियो। तर, राईले भने प्राविधिक कारणले नेतृत्वको जिम्मेवारी छाडेको बताए। 

उनीहरूले नेतृत्व छोड्नुको कारण राजनीतिक घटना क्रम र आन्दोलन हिंसात्मक हुनु हो। तीन दलको संशोधन विधेयकमा संवैधानिक मुस्लिम आयोग र थारू आयोग बनाउने प्रस्ताव छ। मुख्य राजनीतिक दल आबद्ध कतिपय थारू र मधेसी नेताहरूले उक्त प्रस्तावको स्वागत गरेका छन्। एक हदसम्म माग पूरा भएको भन्दै विज्ञप्तिमार्फत नै स्वागत गरेका हुन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट गत शुक्रबार कोहलपुर–नेपालगन्ज सडक खण्डको पिप्रहवा चोकमा एक युवाको ज्यान गएपछि नै मतमतान्तर देखिएको एक नेताले बताए। 

पछिल्लोपल्ट बुधबार कोहलपुरमा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका चौधरी पछि हटेका हुन्। पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले थरुहट मागलाई सम्बोधन गराउन पार्टीभित्रै अन्तर संघर्ष गर्ने बताए। ‘संवैधानिक थारू आयोग बन्ने प्रस्तावको स्वागत गर्छु,,’ उनले भने, ‘अन्य मागहरू पूरा गराउन पार्टीभित्रै बसेर संघर्ष गर्नेछु। त्यसका लागि काठमाडौं गएर शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम समेत तय गरेका छौं।’ साउन २७ गतेदेखि सुरु भएको आन्दोलनको मोर्चा सम्हालेका संयुक्त थरुहट मधेस संघर्ष समितिका संयोजक राई तराईमा आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन्। ‘म नेतृत्वबाट पछि हटेकै हो तर आन्दोलनबाट पछि हटेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘घरायसी कामको बोझले संयोजक पद अरू साथीले लिनुभएको छ। आन्दोलनलाई सशक्त बनाउन गाउँगाउँमा प्रशिक्षण दिइरहेको छु।’ उनको अनुपस्थितिमा समितिले विजय गुप्तालाई कार्यवाहक जिम्मेवारी दिएको जनाएको छ। 

प्रदेशको सीमांकनप्रति आपत्ति जनाउँदै प्रमुख दलसहितका थारू नेताहरूले थरुहट संघर्ष समिति गठन गरी साउन २७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। माग सम्बोधन नगरिएको भन्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रमहरू थपिँदै गएका थिए। आन्दोलनकै क्रममा थरुहट नेताहरूले मोर्चामा आबद्ध मधेसी दलहरूसँग सहकार्य गरी संयुक्त संघर्ष समितिसमेत गठन गरेका थिए। 

चौधरीले सडक संघर्ष त्यागेर शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने घोषणा गरे। एमाले बाँकेले यसअघि नै थारू बाहुल्य पश्चिम कैलाली लगायतका जिल्लाहरू समेटेर प्रदेश ५ मा मिलाउनुपर्ने प्रस्ताव पार्टी केन्द्रमा पठाइसकेको जिल्ला अध्यक्ष अशोक कोइरालाले बताए। बुधबारदेखि एमाले सम्बद्ध थारू नेता तथा कार्यकर्ताको आन्दोलनमा सहभागिता नरहने पनि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक थारू संघले एक कार्यदल गठन गरेको छ। चौधरीको नेतृत्वमा रामचरण थारू र तुलसी थारू सम्मिलित उक्त कार्यदलले काठमाडौं गएर एमाले तथा अन्य पार्टीका शीर्ष नेताहरूलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिनेछ। 

प्रकाशित : भाद्र २४, २०७२ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

टीकापुरमा २१ दिनदेखि कर्फ्यू

गणेश चौधरी

टीकापुर — टीकापुर घटनापछि लगातार कर्फ्यू जारी छ। जनजीवन कफ्र्युको कठघरामा कैद छ। टीकापुरमा कर्फ्यू लाग्न थालेको २१ दिन पुगेको छ। बन्द भएको त ३४ दिन पुगिसक्यो। भदौ ४ गते अखण्ड पक्षधर र थरुहट पक्षधरबीच दुर्गौली गाविसको तोरैयापुरमा झडप भएपछि स्थानीय प्रशासनले राति कफ्र्यु र दिनमा निषेधित क्षेत्र घोषणा गरेको थियो।

टीकापुर घटनापछि लगातार कर्फ्यू जारी छ। जनजीवन कफ्र्युको कठघरामा कैद छ। टीकापुरमा कर्फ्यू लाग्न थालेको २१ दिन पुगेको छ। बन्द भएको त ३४ दिन पुगिसक्यो। भदौ ४ गते अखण्ड पक्षधर र थरुहट पक्षधरबीच दुर्गौली गाविसको तोरैयापुरमा झडप भएपछि स्थानीय प्रशासनले राति कफ्र्यु र दिनमा निषेधित क्षेत्र घोषणा गरेको थियो। भदौ ७ गते निषेधित क्षेत्र तोडेर थरुहट पक्षधरले प्रदर्शन प्रयास गरेपछि भएको टीकापुर घटनापछि २४ सै घण्टा कर्फ्यू सुरु भएको हो।


एक सातासम्म २४ सै घण्टा टीकापुर नगरपालिका, दुर्गौली, पथरैया, मुनवा, धनसिंहपुर र नारायणपुर गाविसमा कर्फ्यू लगाएको हो। कफ्र्यु खुला गरेर जनजीवन सहज बनाउन यहाँका नागरिकले माग गरेपछि एक सातापछि दिनको बिहानपख कर्फ्यू खुला गर्दै आएको छ। लगातारको कर्फ्यू र बन्दको मारमा छ टीकापुर। सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। शान्ति सुरक्षाको असहज परिस्थितिका कारण कर्फ्यू लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताउँदै आएका छन्।

लगातारको कर्फ्यू र बन्दको मारमा सबभन्दा धेरै मजदुरहरू परेका छन्। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरूले काम गर्न नपाउँदा उनीहरूलाई छाक टार्न पनि समस्या परेको छ। दैनिक छाक टार्न समस्यमा रहेका मजदुर के गरौं, कसो गरौं, कता जाऊँ भन्ने छटपटीमा छन्। टीकापुर नगरपालिकाको विजयनगर मुक्त कमैया बस्तीमा बस्दै आएका बाबुराम चौधरीले कर्फ्यूका कारण कतै निस्कन पनि नपाएपछि उकुसमुकुस भएको बताए। उनले भने, ‘हामी आर्थिक अवस्था कमजोर भएकाहरू हौं। काम गरेर आर्थिक रूपमा सबल बनौं भन्ने चाहना हो। तर कर्फ्यूले काम गर्न पनि नसकेकाले आर्थिक स्थिति झन् कमजोर भएको छ।’

विद्यालय खुले
लगातारको कर्फ्यूका बीचमा पनि टीकापुरका विद्यालय खोलिए पनि आंशिक रूपमा मात्र कक्षा सञ्चालन भएका छन्। कर्फ्यूका कारण विद्यालयमा पूरै विद्यार्थी पनि आउन नसकेका र कर्फ्यू खुला समय पनि छोटो भएकाले पूरै पिरियड पढाउन सक्ने अवस्था नरहेको शिक्षकहरूले बताएका छन्। विद्यालय बिहान १० बजे खुल्दै आएकोमा कर्फ्यू खुला समय बिहान भएकाले विद्यालय पनि बिहान सञ्चालन गरिएका छन्। विद्यालय खोल्ने वातावरण बनाउन इलाका प्रशासन कार्यालय टीकापुरमा आइतबार छलफल कार्यक्रम भएको छ। कार्यक्रममा सुरक्षा स्थितिलाई विचार गरी पहिलो चरणमा क्याम्पस तथा उच्च मावि एवं कक्षा १० को पढाइ सञ्चालन गर्ने निर्णय भएको छ। स्थानीय प्रशासनले लगातार कफ्र्यु लगाएपछि कुनै अप्रिय घटना भएको भने छैन। टीकापुर घटनाको आरोपमा प्रहरी प्रशासनले थारू समुदायका व्यक्तिहरूलाई पक्राउ गर्न थालेपछि गाउँमा सुरक्षाकर्मीको सवारी साधन देख्नेबित्तिकै गाउँमा रहेका मानिसहरू खेतबारीतिर निस्कने गरेका छन्।

कोही नयाँ मान्छेसित उनीहरू कुरा गर्न चाहँदैनन्। जोशीपुर गाविस २ का सुरज चौधरीले सुरक्षाकर्मीले घटनामा संलग्न आरोपमा समात्छ भन्ने त्रासका कारण गाउँमा युवाहरू नरहेका बताए। उनले भने, ‘टीकापुर घटनापछि भजनीबाट आएको सुरक्षाकर्मीले दिउँसो सद्भाव कायम गर्ने भनेर थापापुरमा छलफल चलायौं। राति आएर त्यही गाउँबाट पक्राउ गर्‍यो। त्यसले गर्दा गाउँमा त्रास छ।’ बन्द र कर्फ्यूको मारमा टीकापुरका व्यापारी व्यवसायी निकै संकटमा परेको उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष आनन्द हमालले बताए। एकथरी व्यापारी व्यवसायी बन्द र कर्फ्यूको मारमा छन्। अर्कोतिर थारू समुदायका व्यापारी व्यवसायीको पसलमा आगजनी तोडफोड भएको छ। यसले टीकापुरको व्यापार व्यवसायको हालत आफैं अनुमान गरे हुन्छ। ‘बजारमा व्यापार व्यवसाय गर्नेहरूको पसलमा आगजनी भएको छ। यसको क्षतिपूर्तिको व्यवस्था राज्यले गर्नुपर्छ,’ उनले भने।

प्रकाशित : भाद्र २४, २०७२ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×