कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

टीकापुर घटना : त्रासले रित्तिँदै गाउँ

टीकापुर (कैलाली) — हिंसात्मक घटनापछिटीकापुर र आसपासका गाउँमा करिब एक सातादेखि २४ घण्टे कफ्र्यु छ। सुरक्षाका लागि सरकारले नेपाली सेनासमेत परिचालन गरेको छ। यद्यपि असुरक्षित महसुस गर्दै स्थानीयले घर छाडेपछि गाउँ खाली भएका छन्।

 टीकापुर घटना : त्रासले रित्तिँदै गाउँ

महिला र बालबालिका मात्रै गाउँमा भेटिन्छन्।

त्रास कतिसम्म भने नयाँ अनुहार देख्नासाथ स्थानीय नजिकै पर्न चाहँदैनन्। ‘जे नहुनु पर्ने त्यही भयो, एउटाको कारणले दुवै समुदाय त्रासमा छ,’ जोशीपुर–७ का नरेश मल्लले भने, ‘अहिले एकअर्को समुदायलाई देखेर डराउने अवस्था छ। त्यसैले गाउँ युवाविहीन छन्।’
स्थानीय प्रशासनले सुरक्षाका लागि आश्वस्त पार्न नसक्दा टीकापुरनिकट गाउँहरू खाली भएको सर्वसाधारणको गुनासो छ। दुवै समुदाय लम्की, धनगढी, बर्दियाको राजापुरलगायतका आफन्त र छिमेकीका घरमा गएका छन्। टीकापुर आसपासका जोशीपुर, मनिकापुर, कञ्चनपुर, मुनुवा, दुर्गौलीलगायतका युवाले गाउँ छाडेपछि महिला, वृद्ध र बालबालिका मात्रै बाँकी छन्।
गाउँ नै खाली हुन थाले पनि सद्भावका लागि दुई समुदायबीच संवाद हुन सकेको छैन। शान्ति सुरक्षा कायम गर्न सर्वसाधारणले आग्रह गरेका छन्। ‘भागेर समस्या समाधान हुँदैन, संवाद आवश्यक छ। स्थानीय प्रशासनले सुरक्षाको अनुभूति गराउन सक्ने हो भने घर छोड्ने रहर कसैलाई छैन,’ स्थानीय गिरिराज चौधरीले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी समस्या समाधान गर्न आवश्यक छ।’ घटनापछि गाईभैंसीका लागि घाँस काट्नसमेत जानसक्ने अवस्था नरहेको कञ्चनपुर गाउँका दिलु चौधरीको गुनासो छ। ‘समस्या समाधानका लागि वार्ता नथालिँदा कतिबेला के हुने हो भन्ने त्रास छ। डरका कारण धेरैले गाउँ छाडिसके,’ उनले भने। टीकापुर नगरपालिका र आसपास क्षेत्र दंगाग्रस्त घोषणा गरिएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरीले टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा चौबीसै घण्टा गस्ती गरिरहेका छन्।
इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धितालले स्थिति सहज पार्ने प्रयास भइरहेको जनाए। ‘स्थानीयकै सुरक्षाका लागि नेपाली सेनासहितको सुरक्षाकर्मी खटाइएकाले डराउनुपर्ने अवस्था छैन,’ उनले भने। घटनास्थल पशुहाट बजार उत्तरपूर्वको दुर्गौली गाउँका महिलासमेत घरबाट बाहिर निस्किन डराइरहेका छन्। केही महिला तथा बालबालिका कान्तिपुर संवाददातालाई देखेर भाग्न खोजिरहेका थिए। नजिकैको कञ्चनपुर गाउँका सुन्दर चौधरीलाई घाइते अवस्थामै सुरक्षाकर्मीले पक्राउ गरेपछि सबै डराएका हुन्। गाउँका अगुवा (बडघर)को निर्देशनमा त्यस दिन स्थानीयहरू प्रदर्शनका लागि टीकापुर गएको गाउँकी सीता चौधरीले बताइन्।

 

प्रकाशित : भाद्र ११, २०७२ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?