‘चामल नै किन खानु, लौका स्कुस खानुहोस्’

काठमाडौं — कृषि मन्त्रालयकोसमेत जिम्मेवारीमा रहेका वामदेव गौतमले आम नेपालीलाई भात कम खान सुझाव दिएका छन् । उनले सभासदहरुलाई भने, ‘चामल नै किन खानु पर्‍यो, लौका स्कुस खानुहोस् त्यसले पनि पेट भरिन्छ ।'

‘चामल नै किन खानु, लौका स्कुस खानुहोस्’
कृषि मन्त्रालयकोसमेत जिम्मेवारीमा रहेका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आम नेपालीलाई भात कम खान सुझाव दिएका छन् ।
मध्य तराईका ८ जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सामा यसपटक धान रोपाईको स्थिति अत्यन्तै नाजुक भएपछि संसदको कृषि तथा जलस्रोत समितिले सोमबार गृहमन्त्री गौतमलाई ‘खडेरीबाट किसानलाई जोगाउन कस्ता कार्यक्रम बनाएको छ भनी ?’ जानकारी लिन बोलाएको थियो ।
कृषि मन्त्रालयका सचिव उत्तम भट्टराईसहितको टोलीका साथ बैठकमा पुगेका उनले नेपालीहरुको खाने बानी नमिलेकोमा आलोचना गर्दै भने, ‘हामी शरीरको आवश्यकता भन्दा बढी डकार्ने गरी खान्छौं । तलबाट होइन माथिबाट हावा फाल्छौं ।’ आहारविहार सुधार्नुपर्ने बताउँदै उनले थपे, ‘हाम्रो खाना खाने बानी राम्रो छैन, धेरै खाना खेर फाल्ने विश्वका मुलुकहरुको सूचीमा नेपाल पनि पर्छ ।’
एमालेको किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले खानाबारे नबुझ्नेलाई खाना खेर फाल्नु पाप हो र खानाबारे जानकारी भएकालाई खानाको वैज्ञानिक कारण बुझाइनु पर्ने बताए ।
नेपालीहरुको भातमात्रै अत्यधिक खाने बानी रहेको बताउँदै बैठकमा उनले सभासदहरुलाई भने, ‘चामल नै किन खानु पर्‍यो, लौका स्कुस खानुहोस् त्यसले पनि पेट भरिन्छ ।' उनले नेपालमा वार्षिक २५ अर्ब रूपैयाँको चामल लगायत खाद्यन्न आयत हुनुमा खाने बानी नै नमिलेको बताए । ‘हामी २५ अर्बको त खाना खेर फाल्छौं । यदि खान जान्यौं भने २५ अर्ब रुपैयाँ बराबरको बचत हुनसक्छ,’ उपप्रधानमन्त्री गौतमले ठोकुवा गरे ।
गृहमन्त्रीले समितिको बैठक यती भनेपछि भरे संसदको क्याननिनमा सभासहरु गृहमन्त्रीलाई व्यङ्ग गर्दै खाना खाइरहेका थिए ।



प्रकाशित : श्रावण २५, २०७२ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?