बुद्धचित्त संसारकै नयाँ प्रजाति

अब्दुल्लाह मियाँ

काठमाडौं — केही वर्षदेखि काभ्रे र रामेछापमा किसान/व्यवसायीका लागि राम्रो स्रोत बन्दै आएको बुद्धचित्तको रूख/बिरुवा संसारकै नयाँ रैथाने प्रजाति पुष्टि भएको छ । बुद्धचित्त बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खान्छ ।

बुद्धचित्त संसारकै नयाँ प्रजाति
केही वर्षदेखि काभ्रे र रामेछापमा किसान/व्यवसायीका लागि राम्रो स्रोत बन्दै आएको बुद्धचित्तको रूख/बिरुवा संसारकै नयाँ रैथाने प्रजाति पुष्टि भएको छ ।
बुद्धचित्त बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खान्छ । तर, यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएको वन मन्त्रालयका सहसचिव तथा वनस्पतिविद् डा. खेमराज भट्टराई र अनुसन्धानकर्ता मित्र पाठकले प्रमाणित गरेका हुन् ।
दुईजनाको अनुसन्धानबाट प्रमाणित भएकाले उक्त प्रजातिको नामै ‘जिजिपस बुद्धेन्सिस केआर भट्टराई एन्ड पाठक’ रहेको छ । भारतबाट प्रकाशित हुने अनलाइन इन्टरनेसनल जर्नलमा बुद्धचित्तको रूख/बिरुवाबारे उनीहरूको आलेख भर्खरै प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरू भट्टराई र पाठकले बुद्धचित्त पाइने काभ्रेको तिमाल क्षेत्रमै गएर लामो अध्ययन गरी आलेख तयार गरेका थिए । ‘यो विल्कुलै नयाँ प्रजाति साबित भएको छ,’ भट्टराईले कान्तिपुरलाई भने, ‘यसमा लुकेका वैज्ञानिक तथ्यलाई केलाउँदै अब खेती प्रविधिलाई बढावा दिनुपर्छ ।’
उनीहरूले बुद्धचित्तको बिरुवालाई राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा ल्याई अध्ययन गरेका थिए । सामुद्रिक सतहबाट १२०० देखि २००० मिटर उचाइको जमिनको पाखोबारीमा पाइने बुद्धचित्तको माला बौद्व धर्मालम्बीले प्रयोग गर्छन् ।
भगवान् बुद्धले ध्यानका क्रममा तीन ठाउँमा छाडेका बिरुवामध्ये लुम्बिनी र काभ्रेको नमोबुद्धमा मरेर गएको तर काभ्रेकै तिमाल क्षेत्रमा चाहिँ बाँचेको, त्यसैबाट फैलिएको किम्बदन्ती छ ।
पछिल्लो समय काभ्रे र रामेछापमा बुद्धचित्तको एउटै रूखबाट किसानले लाखौं आम्दानी गर्न थालेका छन् । सहसचिव भट्टराई यसको व्यावसायिक खेतीतर्फ किसानलाई प्राविधिक ज्ञान दिनसके आम्दानीको राम्रो स्रोत बन्ने बताए । ‘थोरै पानी पर्ने, सुक्खा, गेग्रान र धेरैजसो रातो माटोमा यसको खेती राम्रो भएको पाइएको छ,’ भट्टराईले भने, ‘रोपेको तीन या चार वर्षबाटै फल दिन थाल्ने यो विरुवालाई त्यति स्याहार आवश्यक पर्दैन ।’
अनुसन्धानकर्ता पाठकका अनुसार २०० देखि २५०० मिटरको उचाइसम्म यसको खेती हुन सक्छ । ‘बुद्धचित्तजस्तै फल दिने तथा औषधिका रूपमा प्रयोग हुने सुनगाभा तथा विजयसाल, सतिसाल, श्रीखण्ड, पोलुनियाजस्ता बिरुवाको अनुसन्धान र व्यावसायिक खेतीसम्बन्धी प्रविधि हस्तान्तरण गर्नसके किसानले राम्रो आम्दानी गर्न सक्नेछन्,’ पाठकले भने ।


प्रकाशित : श्रावण १, २०७२ ०२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?