फुटपाथ व्यापारका लागि १० स्थान

काठमाडौं — सरकारले महानगरभित्रका १० स्थानमा फुटपाथ व्यवसाय गर्न दिने भएको छ । गृहमन्त्रालय र काठमाडौं महानगरपालिकाले आन्दोलनरत फुटपाथ व्यापारीको व्यवस्थापनका लागि स्थान निर्धारण गरेको हो ।


सरकारले फुटपाथबाट हटाएपछि दुई महिनायता फुटपाथ व्यवसायीहरू आन्दोलित छन् ।
यस व्यवसायका लागि नारायणहिटी संग्रहालयको उत्तरी क्षेत्र, सुन्धारा, वीर अस्पताल, महाबौद्ध, प्रदर्शनीमार्गलगायत क्ष्ाेत्र तोकिएको छ । ती स्थानमा निश्चित घन्टामात्रै व्यापार गर्न दिइने महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बताए । 'व्यवसायमा असर नपरोस् भन्ने हाम्रो चाहना हो । स्थायी किसिमले त्यो स्थान दिने होइन,' उनले भने ।
संग्रहालयको उत्तर क्ष्ाेत्रमा आइतबार बेलुका पाँच बजेदेखि व्यापार गर्न पाइने कार्यकारी अधिकृत अर्यालले बताए । सोमबार दुई बजेदेखि वाग्मती नदी किनारका विभिन्न स्थान र धोबी खोलाको बिजुलीबजार क्षेत्रमा पसल राख्न दिइने जानकारी उनले दिए ।
यस्ता व्यापारीलाई निश्चित समयका लागि महानगरको खालि जग्गा भाडामा दिने तयारी भइरहेको जानकारी कार्यकारी अर्यालले दिए । 'बसुन्धरा क्षेत्र पनि तोक्न सकिन्छ, अध्ययन भइरहेको छ,' उनले भने । उक्त क्षेत्रमा पानी बत्ती  लगायतका आधारभूत संरचनासमेत निर्माण गरिने उनले बताए । 'स्थायी संरचनाचाहिँ निर्माण गर्न दिंदैनौं,' उनले भने ।
पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले पनि फुटपाथ व्यापारीलाई सडकबाट हटाएको थियो । उक्त समय पनि व्यापारी आन्दोलनमा उत्रेपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन समिति गठन गरिएको थियो । समितिले खुलामञ्च, तीनकुने, कलंकी र बालाजु क्षेत्रमा फुटपाथ व्यापार गर्न दिएको थियो ।

प्रकाशित : चैत्र ३०, २०७० ००:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?