१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

'विद्युत् प्राधिकरणले गर्दा' सडक निर्माणमा ढिलाइ

अशोक दर्नाल

काठमाडौ — कछुवा गतिमा निर्माण भइरहेको उपत्यकाको सडक निर्माणलाई जमिनमुनि तार राख्ने विद्युत् प्राधिकरणको कामले अवरोध गरेको छ । विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउन बनिरहेको सडक खन्न र भत्काउन थालेपछि लैनचौर, लाजिम्पाट, बालाजु, महाराजगन्ज हुँदै चपलीसम्मको निर्माण कार्यमा अवरोध पुगेको छ ।


लैनचौर-लाजिम्पाट सडक विस्तार भएको डेढ वर्ष बित्दासमेत ४५ प्रतिशत पनि काम सकिएको छैन । आयोजनाले फराकिलो पारी ग्राभेल गरिरहेको सडकमा विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने भन्दै भत्काउन सुरु गरेको हो । प्राधिकरणले सडक निर्माणपूर्व नै ती स्थानमा भूमिगत तार बिछ्याइसक्नुपर्ने थियो । तर, दुई वर्ष अघिदेखिको आग्रहलाई 'अटेर गर्दै' प्राधिकरणले अहिले कालोपत्रे गर्न तयार सडक खनेर अवरोध सिर्जना गरेको आयोजना प्रमुख श्याम खरेलले बताए । 'सडकको छेउ खन्न थालेपछि, निर्माणमा ढिला भइहाल्छ नि ?' उनले भने, 'पहिला तात्नु भएन, अब दिन-रात गर्दा हामीलाई असर पुग्यो ।'
प्राधिकरणले अहिले लैनचौर-महाराजगन्ज- गल्फुटार-बूढानीलकण्ठ खण्डको सडकमा भूमिगत तार बिछ्याउन र केही स्थ्ाानमा पोल गाड्न भन्दै सडक खन्न थालेको छ । आयोजनाका अनुसार प्राधिकरणले ६० दिनभित्र सक्ने सहमतिमा भूमिगत तार बिछ्याउन थालेको हो । लैनचौर-लाजिम्पाट सडक खण्डमा केबुल बिछ्याउने काम बल्ल पानीपोखरीसम्म पुगेको छ । पहिलो चरणमा कालो पाइपमा तार छिराउने मात्रै काम भएको छ । बाँकी तार पूरै तानिसकेपछि सबै लाइन चेक गरी जडान गरिनुपर्छ । प्राधिकरणले उक्त सडक खण्डमा ११ केभी अन्डरग्राउन्ड केबुल बिछ्याउन लागेको छ ।
प्राधिकरणले भने समयमै बजेट नआएकाले भूमिगत तार बिछ्याउन ढिला भएको जनाएको छ । प्राधिकरणको योजना तथा प्रविधि सेवा विभागका अनुसार भूमिगत तार बिछ्याउन एसियाली विकास बैंक (एडीबी) ले समयमै बजेट उपलब्ध नगराएकोले हो । 'हामी त पहिला नै उक्त स्थानमा, तार बिछ्याउन चाहन्थ्यौं, विभागका एक कर्मचारीले भने, 'तर के गर्नु समयमा बजेट आएन, काम ढिला हुन गयो ।' प्राधिकरणका चपली सबस्टेसनका प्रोजेक्ट म्यानेजर रोशन अग्रवालले सडक विभागकै ढिलाइका कारण तार बिछ्याउन ढिलो भएको बताए । 'चुनाव, बन्द, हडताल आदि कारणले पनि ढिलो भयो, अब ६० दिनभित्रै काम सक्छौं,' उनले भने ।
(प्रशिक्षार्थी)




 

प्रकाशित : पुस १६, २०७० ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?