प्यूठानमा पौडेललाई थापाको चुनौती- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आमनिर्वाचन २०७९

प्यूठानमा पौडेललाई थापाको चुनौती

शमशेरविक्रम जीसी

प्यूठान — निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा विभिन्न राजनीतिक दलबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको दौडधुप बढेको छ । गाउँदेखि बजारसम्म चुनावी माहोल छ । 

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले सातजना प्रतिस्पर्धामा छन् । कम्युनिस्ट उद्गम थलो मानिने जिल्लामा अहिले मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच देखिएको छ । यहाँ पाँच दलीय गठबन्धनबाट जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार छन् । एमालेबाट पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा उम्मेदवार छन् ।

यतिबेला दुवै उमेदवार आफ्ना विभिन्न एजेण्डासहित गाउँ–गाउँ पुगिरहेका छन् । उनीहरु मतदाता फकाउन व्यस्त छन् । त्यसका लागि उनीहरुले राष्ट्रिय कलाकारदेखि टिकटकमा भाइरल व्यक्तिलाई प्रचारमा हिँडाइरहेका छन् । यहाँ पाँच दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र एकिकृत समाजवादीको साथ छ । यहाँ एमाले उम्मेदवार थापालाई नेपाली कांग्रेस बीपीले समर्थन गरेको छ । मुख्य प्रतिस्पर्धी अहिले आ–आफनो गठबन्धन साथ लिएर प्रचार अभियानमा छन् । उनीहरुले मौन अवधि सुरु हुन केही दिन अघिसम्म घरदैलोलाई प्राथमिकता दिएका छन् ।

पौडेल दोस्रोपटक प्रत्यक्षतर्फ चुनावी दौड्मा छन् । ०७४ को निर्वाचनमा जिल्लाबाट वामठबन्धनको साझा उम्मेदवार थिइन् । त्यसबेला सांसद् निर्वाचित भइन् । त्यतिबेला एमाले र माओवादीले उनलाई समर्थन गरेका थिए । पाँच वर्षपछि पौडेल पुनः यहीँबाट प्रतिस्पर्धामा छन् । यसपटक गठबन्धन उल्टिएको छ । गत निर्वाचनमा मुख्य प्रतिस्पर्धा रहेको दलले अहिले सत्ता गठबन्धनको नेतृत्व गरेको छ । एमाले मुख्य प्रतिस्पर्धीका रुपमा रहेको छ । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले प्यूठान र बाग्लुङ १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ । २०४० सालमा अनेरास्ववियु छैटौंबाट राजनीति थालेकी पौडेल अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी व्यक्ति हुन्् । राजनीतिक आन्दोलनको क्रममा ६ महिना जेल जीवन बिताएकी उनी तेस्रोपटक सासंद चुनिने दाउमा छिन् ।

एमाले नेता थापाले यसपटक पौडेललाई चुनौती दिएका छन् । जिल्लाबाट उम्मेदवार बन्ने भएपछि थापाले लामो समयदेखि आउजाउ बढाएका थिए । त्यसक्रममा सबै दलका नेता, कार्यकर्तादेखि जिल्लाका अगुवा व्यक्तिसित भेटघाट बढाएका थिए । गत निर्वाचनमा एमाले नेतृत्वमा भोट मागेर विजयी बनाएकी पौडेल अहिले थापाको मुख्य प्रतिष्पर्धी हुन् । गठबन्धनमा आवद्ध दलको बलियो साथ रहेकाले आफूले चुनाव जित्ने पौडेलले दाबी गरिन् । ‘प्यूठानमा गठबन्धनबीच तिक्तता छैन्, सतप्रतिशत साथ छ,’ उनले भनिन, ‘अधुरा काम पुरा गर्ने अवसर मिल्ने विश्वास छ ।’

जिल्लामा संगठन बलियो रहेको एमालेले आक्रामक शैलीमा चुनावी प्रचार गरिरहेको छ । स्थानीय तहको मतका आधारमा जिल्लामा पहिलो दल एमाले नै हो । स्थानीय निर्वाचनमा कांग्रेस दोस्रो, माआवादी केन्द्र तेस्रो र राष्ट्रिय जनमोर्चा चौथो दल बनेका थिए । लामो समय पत्रकारितामा सक्रिय एमाले उम्मेदवार थापा २०६४ सालबाट राजनीतिमा सक्रिय बनेका थिए ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र केपी शर्मा ओलीका प्रेस सल्लाहकारको जिम्मेवारी पूरा गरिसकेका थापा अहिले एमालेको पोलिटब्युरो सदस्य र प्यूठान जिल्ला इञ्चार्ज हुन्् । लामो समयदेखि जिल्लामा कायम जनमोर्चाको बिरासत तोड्न थापा कस्सिएका छन् । ‘मैले आफ्ना योजना प्रष्टसाथ सुनाइरहेको छु,’ थापाले भने, ‘मेरो उम्मेदवारीेले मतदाता हौसिएका छन् ।’

५१ बुँदे घोषणापत्रसहित भोट माग्न गाउँघरमा व्यस्त थापा गठबनधन भित्रको विवादको फाइदा उठाउने दाउमा छन् । पार्टी संगठन र स्थानीय तहमा प्राप्त चुनाव जित्ने आधार भएको एमाले जिल्ला अध्यक्ष विजयविराज बिष्टले बताए । ‘स्थानीय तहमा पाएको मत जोगाउने मुख्य उदेश्य हो,’ उनले भने, ‘विपक्षी गठबन्धनभित्र असन्तुष्टि छ, त्यसैले हामी चुनाव जित्छौं ।’ गठबन्धनका असन्तुष्ट मत आकिर्षत गर्ने, नयाँ मतदाता रिझाउने रणनीतिमा रहेको उनले बताए । एक्लाएक्लै चुनाव लड्दा एमाले बलियो भएपनि गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले धेरै मिहिनेत जरुरी रहेको उनले बताए ।

गठबन्धन भित्रको मत सुरक्षित गर्न सके पौडेलको जित सुनिश्चित रहेको कांग्रेस जिल्ला सभापति विष्णुकुमार गीरीले बताए । ‘चुनावमा दौडधुप त भैहाल्छ तर त्यति दुःख गर्नुपर्ने अवस्था छैन्,’ उनले भने, ‘कार्यकर्ता संरक्षण गरे मात्रै पुग्छ ।’

जिल्लामा एमालेभन्दा गठबन्धन १३ हजार मतान्तरले अगाडि देखिएको छ । त्यसैले एमाले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने रणनीतिमा देखिन्छ । संगठन खस्केको जनमोर्चा संघीय उम्मेदवार पाएसँगै तंग्रिने कोशिसमा छ । निराश कार्यकर्ता जागृत बनेको नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञानुराम न्यौपानेले दाबी गरे । पौडेलले पाँच वर्ष संसदमा खेलेको भूमिका चुनाव जित्ने आधार भएको उनले बताए ।

गत स्थानीय तह निर्वाचनमा एमालेले ३९ हजार ८ सय ७७ मतप्राप्त गरेको थियो । ६४ वडामध्ये २१ वडामा उम्मेदवारी दिएको कांग्रेसले २० वटा वडा जित्दा २१ हजार ५ सय ६४ मत पाएको थियो । १० वडा जितेको माओवादीले १७ हजार १ सय ६३ मत र १० वडा जितेको जनमोर्चाले १३ हजार ६ सय १२ मत प्र्राप्त गरेको थियो । स्वतन्त्र उम्मेदवारले २ हजार ८ सय ५० मत, एकीकृत समाजवादीले १ हजार ४ सय १७ मत पाएका थिए ।

प्रकाशित : कार्तिक २९, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक २९, २०७९ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×