बझाङको तलकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी


काठमाडौँ — बझाङको तलकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । साथै ७ मध्ये ६ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एउटा वडामा मात्रै कांग्रेस उम्मेदवारले जितेका छन्।



गाउँपालिका अध्यक्षमा एमालेका कलकबहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अध्यक्ष रोकायाले २ हजार ७ सय ५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायणकुमार धामीले २ हजार २ सय २९ मत ल्याए । अध्यक्षका अर्का प्रत्यासी राप्रपाका ललितप्रसाद जोशीले ३५ मत मात्र पाए ।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६ सय २१ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी जयकुमारी ऐडीले २ हजार ३ सय ९२ मत प्राप्त गरेकी छिन् । उपाध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् । वडा नम्बर १ मा एमालेका रामचन्द्र रावल, २ र ३ मा एमालेकै जनक बोहरा, रुपेश रोकाया विजयी भएका छन् भने ४ मा कांग्रेसका गोरखबहादुर जेठाराले जितेका छन् । यस्तै वडा नम्बर ५ मा दिपेन्द्र मल्ल, ६ मा बिर्जन जेठारा र ७ मा लक्ष्मण बिष्टले जित हात पारेका छन् ।