कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

वामदेव हारको कारण खोज्न समिति

गुलरिया — एमाले उपाध्यक्ष वामदेव गौतम आफ्नै क्षेत्रमा थोरै मतान्तरले पराजित हुनुको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

वामदेव हारको कारण खोज्न समिति

एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको हो । समितिमा क्षेत्र १ माओवादी केन्द्रका नेता भवनकुमार थारू पनि छन् । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने संयोजक ज्ञवालीले बताए । ‘वामपन्थी गढ मानिएको क्षेत्रमा गौतमको पराजयलाई पार्टीले गम्भीर रुपमा लिएको छ,’ उनले भने, ‘यसमा दोषी ठहरिए पार्टीका उच्च तहमा रहेका कुनै पनि नेतृत्वलाई साधारण सदस्य नहरने गरी निष्कासित गरिनेछ ।’ कांग्रेस सभापति एवं सिँचाइमन्त्री सञ्जयकुमार गौतमसित ७ सय ५३ मतान्तरले गौतम पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए । एमालेका गौतमले ४४ हजार ७६ मत प्राप्त गरे ।
एमाले उपाध्यक्ष गौतम ३० हजारभन्दा बढी मतले विजयी हुनेमा ढुक्क थिए । कांग्रेसको बढी मत भएको सदरमुकाम गुलरियामा उनी डेरा लिएर चुनावको अधिकांश समय बिताएका थिए । बढैयाताल गाउँपालिका, बाँसगढी र बारबर्दिया नगरपालिका एमाले र माओवादी गढ मानिएकाले धेरै मत आउनेमा उनी ढुक्क थिए । बारबर्दियाबाट राम्रो मत पाए पनि आफ्नो पकड क्षेत्रमै भने थोरै मत पाएका थिए । उनी चुनाव जित्नेमा ढुक्क थिए तर सञ्जयसित पराजित हुनुपर्‍यो ।
पकड क्षेत्रमा पनि राम्रो मत नआउनु पार्टीभित्र अन्तर्घात भएको मतदाताको बुझाइ छ । प्रदेशसभामा केही शीर्ष नेताले टिकट नपाएपछि उनीप्रति अन्तर्घातको खेल सुरु भएको स्रोतको भनाइ छ । पत्नी तुलसालाई समानुपातिक उम्मेदवार बनाउनु, चुनाव जितेपछि जिल्ला नफर्कनु, माथिल्लो पदमा बस्दा शिक्षित युवा बेरोजगारलाई बेवास्ता गर्नु, बर्सेनि आउने बाढीको समय मतदातामाझ नआउनुले पनि वामदेव हारेको मतदाता बताउँछन् ।
स्थानीय तह चुनावमा क्षेत्र १ स्थित बारबर्दियाका ३ वडा छाडेर एमालेले ३१ हजार २ सय ६०, माओवादी केन्द्रको २४ हजार ४ सय ५२ मत जोडदा ५५ हजार ७ सय १२ मत प्राप्त गरेको थियो । कांग्रेसको २३ हजार ५ सय ३०, फोरम लोकतान्त्रिकको ४ हजार २ सय ५० र राप्रपाको १ हजार ३३ मत जोड्दा २८ हजार ८ सय १३ मत हुन जान्छ । यति ठूलो अन्तरमा वाम गठबन्धनको मत हुँदा पनि वामदेवको पराजयलाई पार्टीभित्रका केही शीर्ष नेतृत्व जिम्मेवार भएको आशंका गरिएको छ ।

प्रकाशित : पुस २, २०७४ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?