कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विदेशी कूटनीतिज्ञ र पर्यवेक्षक खुसी

काठमाडौं — प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष अनुगमन गरेका कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन शान्त र भयरहित ढंगले सम्पन्न भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

उनीहरूले मतदाताको उत्साहको प्रशंसासमेत गर्दै निर्वाचन प्रक्रिया राम्रो, मतदानस्थल मतदातामैत्री एवं व्यवस्थित रहेको बताएका छन् । काठमाडौंमा रहेका मित्रराष्ट्रका कूटनीतिज्ञहरूले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, धनुषा, महोत्तरी, बारा, पर्सालगायत जिल्ला अनुगमन गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । ती ठाउँमा परराष्ट्र मन्त्रालयले सहयोगी अधिकृत उपलब्ध गराएको थियो । 

कतिपय स्थानमा उनीहरूले अनौपचारिक रूपमा पनि अनुगमन गरेको परराष्ट्रले जनाएको छ । काठमाडौंमा रहेका १३ दूतावासका १ सय २९ कूटनीतिज्ञहरू अनुगमनमा थिए । दातृ मुलुक जापानले संसदीय उपविदेशमन्त्री नै नेपाल पठाएर निर्वाचन अवलोकन गरेको थियो । यसअलावा भारत, चीन, अमेरिका, फ्रान्स, स्विजरल्यान्ड, बेलायत, जर्मनी, नर्वे, अस्ट्रेलिया, बंगलादेश, थाइल्यान्ड र इजरायलका पनि नियोग प्रमुख तथा कूटनीतिज्ञहरू अवलोकनमा गएका थिए । जापानी उपविदेशमन्त्री इवाओ होरीले प्रश्नावली नै बनाएर जिज्ञासा राखेको परराष्ट्रका उपसचिव डमरुल्लभ पौडेलले बताए । उनले सुरक्षा, कर्मचारीको प्रशिक्षण, कतिबेलादेखि मतदान आरम्भ र कतिबेला बन्दलगायत विषयमा चासो राखेका थिए । उनले आफू फर्किनुअघि मतगणना प्रक्रियासमेत अवलोकन गर्ने बताए । उनी शुक्रबार राष्ट्रिय सभागृहमा मतगणनाको अवस्था हेरेर त्यतैबाट विमानस्थल पुग्नेछन् । जापानी उपविदेशमन्त्री काठमाडौं, ललितपुर र भक्तपुरका ६ वटा मतदान केन्द्र घुमेका थिए ।

अन्य कूटनीतिज्ञले पनि राजनीतिक दलका सहयोग र सुधार गर्नुपर्ने विषयमा जिज्ञासा राखेको उपसचिव पौडेलले बताए । कसलाई मत दिएको भन्नेबारे भने उनीहरूलाई सोध्न निषेध गरिएको थियो । युरोपेली महासंघ (ईयू) का तर्फबाट अनुगमन गर्न नेपाल आएकी जेलन्या जेभ्कोले आफ्नो पर्यवेक्षणको प्रारम्भिक मूल्यांकन शनिबार सार्वजनिक गर्ने बताइन् ।

निर्वाचन आयोगकी अधिकृत नम्रता चुडालका अनुसार ईयूबाट एक सय १२ पर्यवेक्षक रहेका छन् । त्यस्तै, कार्टर सेन्टरबाट ६३ र एसियन नेटवर्क फर फ्री इलेक्सन, थाइल्यान्डबाट ५ तथा भारत र इटालीका एक/एक स्वतन्त्र अवलोकनकर्ता गरी जम्मा १ सय ८३ अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गरेका छन् । परराष्ट्रको अनुमतिमा इटालीका र भारतका एक/एक नागरिकलाई अनुगमनको स्वीकृति निर्वाचन आयोगले दिएको हो । राष्ट्रिय स्तरमा भने ५३ संस्थालाई अनुगमनको अनुमति दिइएको भए पनि ४७ संस्थाका ८ हजार ५ सय २८ ले प्रवेश पास लिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले १ हजार ४ सय ३४ जनालाई लामो अवधिको पर्यवेक्षण अनुमति दिएकाले उनीहरूले मतगणनाको अन्तिम समयसम्म अनुगमन गर्नेछन् । 

प्रकाशित : मंसिर २२, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?