२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुस्ताङमा मतगणना सुरु

कुनै अवरोध नभए आजै राति १ बजेसम्म सबै परिणाम आइसक्ने
विनोद त्रिपाठी

मुस्ताङ — यही मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभा चुनावको मतगणना मुस्ताङको सदरमुकाम जोमसोममा बिहीबार ५ बजेदेखि सुरु भएको छ । मतगणनामा दलहरुका प्रतिनिधि राखेर कर्मचारीहरु गणना कार्यमा खटिएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुस्ताङमा मतगणना सुरु

गणनाको लागि मतपेटिका राखिएको स्थान र मतपेटिकाहरु रुजु गर्ने काम भइरहेको छ । जिल्ला समन्वय समितिको कार्यालयमा राखिएका मतपेटिका सबै चेक चलिरहेको र चार समूह बनाएर गणना कार्य सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको दुई दुई स्थान तोकेर मतगणना चलिरहेको छ । दुबैसभाको गणना सकिएपछि समानुपातिकको गणना हुने अधिकृत त्रिपाठीले बताए । एउटामात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका ५ जना गरी ८ जना उम्मेदवार उठेका थिए ।
 
जिल्लाभरिका ३७ वटा मतदान केन्द्रका १ सय ११ वटा मतपेटिका एकसाथ गणना चलिरहेको छ । गणना हुने अघिल्लो दिनदेखि मतदाता र कार्यकर्ताको गणनास्थलमा भीड लागेको छ । भोट गनेको थाहा पाउन उपल्लो मुस्ताङका विकट छोन्हुप, छोसेर, लोमान्थाङ, सुर्खाङ, घमी, चराङ, मुक्तिक्षेत्र र झुसाङ क्षेत्र वरपरबाट दलहरुका कार्यकर्ता सदरमुकाम जोमसोम आएका छन् ।

११ दिनसम्म मतपेटिका राखिएको स्थानमा पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेनाले पहरा दिएर बसेका थिए । चौथो घेरामा दलहरुका प्रतिनिधिहरु रातभरि चिसोमा मतपेटिका कुरेका थिए । मुस्ताङमा ९ हजार ४ सय २७ मतदातामध्ये ६ हजार ७ सय ७३ जनाले भोट दिएका थिए । यो कुल मतदाताको मतमध्ये ७१ दशमलव ८४ प्रतिशत भोट हो ।

प्रतिनिधिसभाका लागि कांग्रेसबाट रोमी गौचन थकाली, वाम घटकबाट प्रेमप्रसाद तुलाचन, प्रदेशसभाका लागि कांग्रेसका मिक्युर गुरुङ, छिरिङ दावा गुरुङ, एमालेका इन्द्रधारा विष्ट र महेन्द्र थकाली, राप्रपा (प्रजातान्त्रिक)का प्रवीण शेरचन चुनावी मैदानमा छन् । कुनै अवरोध भएन भने राति १ बजेसम्म सबै मतपरिणाम आइसक्ने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुस्ताङ समन्वय समिति कार्यालयमा राखिएका मतपेटिकाहरु । तस्बिर : विनोद त्रिपाठी/कान्तिपुर । 
 

प्रकाशित : मंसिर २१, २०७४ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?