कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मतदाता शिक्षा ‘कमजोर’

मतदाता मात्र होइन, सिकाउनेलाई नै थाहा छैन

जनकपुर — ‘चाची, आहा सब भोट गिराब त जाइछिय नै,’ जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदाता शिक्षा दिइरहेकी थिइन् । साथमा थिइन्, अर्की स्वयंसेविका प्रमिला महतो । स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेका थिए ।

मतदाता शिक्षा ‘कमजोर’

दुई स्वयंसेविकाले मतदातालाई तीनवटा मतपत्रमा चार ठाउँमा ‘भोट गिराउने’ बारे बताए । रातो रङको मतपत्र रातै बाकस, हरियो हरियोमै र कालो कालो रङको बाकसमै खसाउने तरिका सिकाए । ती दुवै स्वयंसेविकालाई हामीले ती मत्रपत्रको भिन्नताबारे सोध्यौं । उनीहरूले नधकाई भने, ‘थाहा छैन ।’

कात्तिक २५ बाट मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले एक दिन स्वयंसेवक तालिम दिएको थियो । ‘निर्वाचनको तालिम दुई दिन दिनुपर्ने, एक दिनमै सके । झोलासोला, पेपर, पैसाउइसा सबै बाँडेर समय खेर गयो । १० देखि ५ बजेसम्म केही सिक्नै पाइएन,’ राजर्षिजनक उच्च माविकी बालविकास शिक्षिका नायकले भनिन्, ‘५०–६० जनालाई तालिम दिएको थियो । धेरै कुरा राम्ररी सुनिएन । मनमा लागेको कुरा सोध्न पनि पाइएन ।’

सिकेको कुरो सिकाउन पनि उनीहरूलाई सहज थिएन । पुरुष मतदाता महिलासँग सिक्नै चाहिरहेका थिएनन् । ‘हामीलाई थाहा छ, सिकाउनुपर्दैन भनेर उहाँहरू पन्छिनुहुन्छ, महिला मात्र भेला हुनुहुन्छ,’ नायकले सुनाइन्, ‘कतिले त पार्टीबाट आएको, जाऊ भन्दै गाली गर्छ । होइन, काका म यहीं गाउँको हो । फलानाको बुहारी हो, फलानाको श्रीमती भनेर सम्झाउँछौं । तिमीहरूले ढेउवा (पैसा) खाइरहेका छौ, म किन भोट खसाउने, के दिन्छौ पनि भन्छ ।’

जिल्ला निर्वाचन कार्यालय, धनुषाकी प्रमुख पुष्पाकुमारी झाले पनि तालिम छोटो भएकाले स्वयंसेवकहरूको सिकाइ प्रभावकारी नभएको स्विकारिन् । ‘हो, वास्तवमा दुई दिन तालिम दिनुपथ्र्यो । एक दिनले पुगेन,’ उनले भनिन्, ‘फेरि जति बेला तालिम दिइयो, दुइटा मतपत्रको निर्णय भएको थियो । पछि तीनवटा बनाइयो । त्यसले पनि स्वयंसेवकहरूलाई

अप्ठ्यारो पार्‍यो ।’ तर पनि विभिन्न माध्यमबाट मतदातालाई जागरुक बनाउन निर्वाचन आयोग लागिपरेको उनले जानकारी दिइन् ।

मतदाता शिक्षाको अवस्था अवलोकन गर्न नमुनाका रूपमा हामी जनकपुर उपमहानगरपालिका–३ स्थित चमारटोल गयौं । त्यहाँ करिब ६० जना जम्मा भए । सबैलाई पालैपालो सोध्दा जम्मा एक जनाले मतपत्र र मतदान गर्ने तरिकाबारे करिब–करिब सही बताउन सके । उनले पनि एउटा बिगारे, कालो मतपत्र प्रदेशको प्रत्यक्ष उम्मेदवारका लागि भन्नुपर्नेमा ‘समावेशीका लागि’ भने । उनी रहेछन्, चमारटोलका अगुवा जयनाथ महरा ।

‘यहाँका सबै पढ्ने अवसर नपाएका छन् । भोट माग्न मात्र आउँछन्, सिकाउन कोही आउँदैन । कसरी थाहा पाउनु ?’ उनले भने, ‘धेरैको भोट बिग्रिने र उल्टो पर्ने सम्भावना छ ।’ त्यही टोलकी जसियादेवी रविदासलाई ‘कतिवटा मतपत्र हुन्छन्, थाहा छ ?’ भनेर सोध्दा ‘थाहा छैन’ भनिन् । ‘केओ सिखैने रहितै तब ने बुझितिऐ, अपने केना क बुझबै ? (कसैले सिकाए पो बुझ्ने, आफैं कसरी बुझ्ने ?)’ उनले भनिन्, ‘न कोही पढाउन आएको छ, न कतै बोलाएर देखाएको छ ।’ कलसियादेवी महरा, खोलिया महरा– कसैले पनि न मतपत्रको संख्याबारे बताउन सके न रङको अर्थ ।

त्यहीं भेला भएकी स्थानीय लक्ष्मीदेवी दाहाललाई अहिलेसम्म दिएका मतमध्ये यसपालि अप्ठ्यारो पर्लाजस्तो लागिरहेको छ । ‘कतिवटा कागत हुन्छन्, कतिवटा छाप लगाउने, कुनमा लगाउँदा के हुन्छ, केही थाहा छैन,’ ६७ वर्षीया दाहालले भनिन्, ‘पढेलेखेको छैन । हेरेर बुझिन्न । पहिलेको सजिलो थियो, एउटा गिराइदिए पुग्थ्यो । यसपालि कसलाई दिन खोजेको कता पर्ला, दिएको नदिएको एकै होलाजस्तो छ ।’ लौरो टेकेर आएकी उनलाई अर्को पनि चिन्ता थियो, ‘हामीजत्तिका त लौरो टेकेर भोट खसाल्न जाम्ला, अझ नसक्नेले कसरी जान्छन् ?’ मतदानको दिन सवारीसाधन बन्द हुन्छन्, अशक्तलाई मतदान केन्द्रसम्म कसरी लैजाने भन्नेमा पनि धेरैलाई द्विविधा छ ।

राजनीतिक दलका नेता–कार्यकर्ता पनि आफ्नो चिह्नमा मत दिन भन्छन् तर कुन मतपत्रको अर्थ के हो भनेर खुलाउँदैनन् । धेरैलाई प्रत्यक्ष र समानुपातिकको भिन्नता थाहा छैन । केन्द्र र प्रदेशको फरक पनि उनीहरू छुट्याउन सक्दैनन् । सबै मत एउटै दललाई दिन चाहनेबाहेक मतदाताको मत उल्टो पर्ने सम्भावना बढी छ ।

प्रदेश नयाँ संरचना हो । यो के हो, यसले के गर्छ– धेरैलाई थाहा छैन । ‘ठूलो (प्रतिनिधिसभा सदस्य) चाहिँ सरकारमा जाने होला, सानो (प्रदेशसभा सदस्य) चाहिँ उसलाई सहयोग गर्ने होला,’ कृष्ण रविदासले भने, ‘त्यही भएर फोटोमा पनि ठूला–साना छन् नि ।’

मतपत्रको संख्याबारे सोध्दा चमारटोलकै मन्तोरियादेवी तक्मिनीले ४ वटा भनिन् । साथमै रहेका रवीन्द्र महराले कुरा काटे, ‘होइन, ३ वटा । लालवाला (रातो) मा दुइटा हुन्छन्, त्यो निचा (सानो अर्थात् उनको बुझाइमा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको) हो । हरियो र कालो उँचा ।’ अरूलाई सिकाउन अग्रसर भइरहेका उनले बुझेको पनि उल्टो पर्‍यो । निर्वाचन आयोगले यसपालिको चुनावमा तीनवटा मतपत्र व्यवस्था गरेको छ । रातो समानुपातिकका लागि हो, जसमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका सदस्य छान्न राजनीतिक दललाई मत दिनुपर्नेछ । हरियो प्रतिनिधिसभा र कालो प्रदेशसभाका प्रत्यक्ष (जसलाई आयोगले पहिलो हुने प्रणाली भनेको छ) उम्मेदवारका लागि मतदान गर्न हो । प्रत्यक्षमा स्वतन्त्र व्यक्ति पनि उठेका हुन सक्छन् भने समानुपातिकमा दलहरू मात्र हुन्छन् । प्रत्यक्षका केन्द्र र प्रदेश दुवैका मतपत्रमा सम्बन्धित क्षेत्रमा उठेका उम्मदेवारका मात्र चिह्न हुन्छन् । निर्वाचन क्षेत्रपिच्छे फरक मतपत्र छापिएका छन् ।

हामीले यसबारे छर्लङ्ग पारेपछि प्रकाश रविदासले भने, ‘ए, त्यस्तो पो रहेछ ? कसैले भनेको भए पो थाहा पाउनु ?’ कक्षा ७ सम्म पढेका उनी मिस्त्री काम गर्छन् । पहिलोपल्ट मतदान गर्न लागेका उनलाई कहिले त्यो दिन आउँछ भन्ने उत्साह र खुलदुली दुवै छ । ‘तर, झन्डै उल्टोतिर भोट हालेछु,’ उनले भने ।

जिल्ला निर्वाचन प्रमुख झाले हरेक मतदान केन्द्रमा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको जानकारी इिइन् । उनका अनुसार जिल्लाका ५ सय ४८ मतदान केन्द्रमा त्यति नै स्वयंसेवक परिचालित छन् । एक जनाले बढीमा हजार मतदातालाई साक्षर गर्नुपर्ने दायित्व दिइएको छ ।

‘स्वयंसेवकले तीन किसिमले शिक्षा दिइरहेका छन्– घरदैलो गरेर, समूहमा अन्तक्र्रिया गराएर र मतदाता परिचयपत्र लिन आउँदा परामर्श दिएर,’ उनले भनिन्, ‘सडक नाटक देखाएर, पर्चा पम्प्लेट वितरण गरेर र मिडियाबाट सूचना प्रवाह गरेर पनि हामीले मतदाता शिक्षा प्रदान गरिरहेका छौं ।’

एउटालाई दिन चाहेको मत अर्कालाई पर्ने सम्भावना केही भए पनि बदर अत्यन्त कम हुने उनले दाबी गरिन् । ‘सबैले भर्खरै मत हालेका छन् । ७ ठाउँमा दिएका छन्,’ उनले भनिन्, ‘यो त त्यसभन्दा निकै सजिलो छ । स्थानीय तहकै उदाहरण दिने हो भने पहिलो र दोस्रो चरणभन्दा तेस्रो चरणमा बदर कम भएको थियो । यो पनि सिक्दै जाने कुरा हो । म ढुक्क छु, बदर अत्यन्त कम हुनेछ ।’

जनकपुर उपमहानगरपालिका २१ कुर्थाटोलका महिलालाई मतदान गराउने तरिका सिकाउँदै निर्वाचन आयोगबाट खटिएकी स्वयंसेविका जानकीकुमारी नायक । प्रतिनिधिसभा र प्रदेशसभाको फरक बुझ्न नपाएकी उनले प्रस्टैसँग भनिन्, ‘छोटो तालिम दिएर पठाउनुभयो, भोट गिराउन सिकाउँछौं । अरू धेरै थाहा छैन ।’

प्रकाशित : मंसिर १९, २०७४ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?