२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सुरक्षामा महिला म्यादी

भरतपुर — प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रको सुरक्षामा महिला म्यादी प्रहरी पनि खटाइने भएको छ । अघिल्लो चुनावमा अब्बल बनेर काम गरेकाले त्यही अनुसार सुरक्षाको जिम्मा दिन लागिएको हो । जिल्ला प्रहरीले निर्वाचन सुरक्षाका लागि ५ सय २ महिला म्यादीमा भर्ना गरेको छ ।

सुरक्षामा महिला म्यादी

यो संख्या स्थानीय तहको भन्दा बढी हो । जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा २/२ जनाका दरले म्यादी महिला प्रहरी खटाइने छ । ‘अघिल्लो चुनावमा उनीहरूले अब्बल बनेर काम देखाए,’ उनले भने, ‘अहिले पनि राम्ररी सुरक्षा दिन सक्षम छन् ।’ स्थानीय तहमा यहाँ ४ सय महिला म्यादी प्रहरी भर्ना गरिएको थियो । अहिले संख्या बढेको छ । आसन्न निर्वाचनका लागि स्थानीय तहमा भर्ना भएकालाई प्राथमिकता दिइएको छ । निर्वाचन सुरक्षाका लागि १ हजार ८ सय ९५ प्रहरी र १ हजार ७ सय १० जना म्यादी प्रहरी परिचालन गरिने छ । जिल्लामा १ सय ६१ मतदानस्थल कायम गरिएको छ । त्यस्तै ४ सय ८ मतदान केन्द्र तोकिएको छ । एसपी थापाका अनुसार तीमध्ये ५२ वटा अति संवेदनशील र १ सय ९ वटा 

संवेदनशील छन् । 

महिला म्यादीलाई उम्मेदवारको मनोनयपत्र दर्ताअघिदेखि विभिन्न स्थानमा खटाइएको छ । चोक ड्युटी, पट्रोल र विभिन्न स्थानमा गरिने सर्चमा समेत खटिने गरेको एसपी थापाले बताए । ‘स्थानीय तहको निर्वाचनमा पनि खटेकै हांै,’ महिला म्यादी प्रहरी भवानी कुमारीले भनिन्, ‘अवसर पाए जस्तोसुकै चुनौतीको सामना गर्न तयार छांै । पुरुषसरह काम गर्न सक्छांै भन्ने उदाहरण हो यो ।’ ड्युटीमा खटिँदा खुसी लाग्ने उनले बताइन् । जिल्लामा प्रतिनिधिसभाका लागि ३ वटा क्षेत्र कामय गरिएको छ । त्यस्तै प्रदेशसभाका लागि ६ क्षेत्र तोकिएको छ । दुवै सभाका लागि ९८ उम्मेदवार चुनावी मैदानमा छन् । मतदान स्थलबाहिर नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको सुरक्षा घेरा रहनेछ । जिल्लामा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल, बहालवाल दुई मन्त्री र पूर्वसंसादहरू चुनावी मैदानमा रहेकाले सुरक्षा चुनौती बढेको छ । 

‘कर्डन सर्च सुरु’

जिल्लाभित्रका विभिन्न शंकास्पद स्थानमा प्रहरीले ‘कर्डन सर्च’ अप्रेसन चलाएको छ । निर्वाचन विरोधी गतिविधि हुन नदिन सुरक्षाकर्मीले यस्तो अभियान थालेको हो । त्यसका लागि प्रहरीले स्पेसल टोली परिचालन गरेको जनायो । सर्चकै क्रममा नेकपा (बिप्लव) समूहका नेता तथा कार्यकर्ता पक्राउ परेको एसपी थापाले बताए । 

चुनावका बेला सीमा पारिबाट हुने कुनै पनि खालको आपराधिक गतिविधि हुन नदिन भारतीय सुरक्षा अधिकारीसित बैठक गरी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ,’ एसपी थापाले भने, ‘दुबै देशका सुरक्षाकर्मी मिलेर सर्च बोर्डर कन्ट्रोल गर्न लागेका छांै ।’ जिल्लाका विभिन्न स्थानमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्न खोज्ने नेकपा (बिप्लव) का १६ जना नेता कार्यकर्ता पक्राउ गरिएको उनले जनाए ।

प्रकाशित : मंसिर ९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?