कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कमलादीमा भ्वाङ परेको सडक आसपास जोखिम कायमै

श्रावण २६, २०८१
कमलादीमा भ्वाङ परेको सडक आसपास जोखिम कायमै

Highlights

  • सडक डिभिजन, काठमाडौंले आरसीसी फलामे डन्डी राखेर बक्स कल्भर्ट बनाउने 
  • अहिले खाल्डोको गहिराइ करिब ५ मिटर र चौडाइ ४ मिटर छ, अझ पानी पर्दै गए क्षेत्र बढ्दै जाने र सडक पनि बगाएर लैजान सक्छ : गणेश बोहरासबइन्जिनियर, सडक डिभिजन, काठमाडौं

काठमाडौँ — काठमाडौंको कमलादीमा बनेको भ्वाङका कारण सडक आसपासमा अझै जोखिम देखिएको छ । दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेपछि बिहीबारदेखि सडक अवरुद्ध पारिएको छ । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । 

टुकुचा खोलाको कल्भर्ट जीर्ण भई खाल्डो बनेको सडक डिभिजन, काठमाडौंका सबइन्जिनियर गणेश बोहराले जानकारी दिए । लगातार पानी परे भ्वाङ अझ बढ्न सक्ने उनको भनाइ छ । ‘खोलाको कल्भर्ट पुरानो इँटाको थियो । पानीले गर्दा इँटा जीर्ण बन्दै गयो । बिस्तारै सडकको गिट्टी, बालुवालगायत सामग्री बगाउँदा इँटा

‘ड्यामेज’ भएको देखिन्छ,’ उनले भने, ‘अहिले खाल्डोको गहिराइ करिब ५ मिटर छ । त्यसको चौडाइ ४ मिटर छ । अझ पानी पर्दै गए क्षेत्र बढ्दै जाने र सडक पनि बगाएर लैजान सक्छ ।’

टुकुचा खोलाको कल्भर्ट बनाउँदा प्रयोग गरिएको इँटा कति वर्ष पुरानो हो भन्ने स्पष्ट जानकारी सडक डिभिजनलाई छैन । ‘सुन्नमा सय वर्ष पुरानो भन्ने आएको छ । हामीलाई पनि कति वर्ष पुरानो इँटाले बनेको कल्भर्ट हो भन्ने स्पष्ट छैन,’ बोहराले भने । अब आरसीसी फलामे डन्डी राखेर बक्स कल्भर्ट बनाउने सडक डिभिजनको योजना छ । ठूला खोलामाथि पुल बनाउने गरिए पनि टुकुचा सानो भएकाले बक्स कल्भर्ट बनाउने योजना बनाइएको उनको भनाइ छ । नजिकै काठमाडौं महानगरपालिकाको कार्यालय पनि छ । महानगरले भने आफ्नो क्षेत्रभित्र पर्ने टुकुचा खोलामाथि पुल बनाएर पानी बग्न दिएको छ ।

कमलादी हुँदै बग्ने टुकुचा खोलामाथिको सडकको कालोपत्र बगेर बिहीबार साँझ ठूलो भ्वाङ परेको थियो । भ्वाङ तलबाट भने टुकुचा बगिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ‘हामीलाई खबर आएपछि बाटो डाइभर्सन गर्ने क्रममा एक जना प्रहरी निरीक्षक घाइते हुनुभयो,’ उनले भने, ‘खाल्डोको तलबाट भने अहिले पनि खोला बगिरहेको छ । महेन्द्र सालिकबाट काठमाडौं महानगरपालिका काठमाडौं प्लाजा सडक बन्द छ ।’

सडक डिभिजनको स्वामित्वमा रहेको उक्त सडकको निर्माण पनि डिभिजनले नै गर्ने भएको हो । आइतबार कागजी प्रक्रिया पूरा गरेर सोमबारबाट बाटो बनाउने काम थालिने सडक डिभिजन, काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले जनाए ।

भ्वाङ परेको बाटो बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग मौखिक मात्र कुरा भइरहेकाले आइतबार भने रकम निकासीका लागि कागजी प्रक्रिया पूरा गरिने उनले बताए । ‘नयाँ बन्ने बाटोको नक्सा तयार गरेका छौं । लागत हिसाब गरी आइतबारसम्म पैसा निकासा गरेर सोमबार बिहानैदेखि बनाउँछौं,’ जोशीले भने, ‘सरकारी काममा प्रक्रियागत कुराहरू मिलाउनुपर्छ । उक्त बाटो सडक डिभिजन, काठमाडौं मातहत नै पर्छ । त्यसैले बनाउने जिम्मेवारी पनि हाम्रै हो ।’

सर्वसाधारणलाई असुविधा हुने भएकाले सडक छिटो पुनर्निर्माण गरिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको भनाइ छ । महानगरका प्रमुख बालेन्द्र शाहले भने टुकुचा खोलामाथि बनेको बाटो भत्किएपछि सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । ‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचामाथि रहेका छन् । काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुला गर्न टुकुचा खोल्ने काम सुरु गरेका थियौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘अदालती कारणले केही रोकिनु परेको थियो ।

अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्तिविशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौं । सरकारले चाँडोभन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ । यसपश्चात् खोला खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउनेछ ।’ खोलामाथि बाटो र घर नभई आवश्यकताअनुसार पुल बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित : श्रावण २६, २०८१ ०६:१४
x
×