काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका ९ स्थित कागेश्वरी–चक्रपथ–इन्द्रायणी सडकको पासिखेल खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
साउन ११ गते राति परेको अविरल वर्षापछिको पहिरोले उक्त सडक खण्ड ५० मिटर तल भासिएर यातायात ठप्प बनेको छ । सडक अवरोध भएसँगै १३ दिनदेखि उक्त खण्ड भएर सवारीसाधन ओहोरदोहोर गर्न पाएका छैनन् । चाबहिल–साँखु सडकमा यो सडक बन्द रहेकोबारे सूचना नै टाँसिएको स्थानीयले बताए ।
उक्त सडक खण्ड हुँदै सवारी साधन शंखरापुर नगरपालिकाको सानागाउँ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिकस्थल कागेश्वरी धाम, गागलफेदी र सातघट्टे गाउँ जान्छन् । यो सडक खण्ड बन्द भएप्छि वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, संस्कृति पर्यटन तथा सहकारीमन्त्री बिमल ठकुरी तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, काठमाडौं क्षेत्र २ का प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम, संविधानसभा सदस्य रामेश्वर फुँयाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीको उपस्थितिमा पहिरो खुलाउनेबारे पहल भएको थियो ।
अवरुद्ध सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन वाग्मती प्रदेश सरकारले तत्कालै आवश्यक पहलकदमी लिने भौतिकमन्त्री मास्केले प्रतिबद्धता जनाए । अहिले पहिरो गएको खण्डमा त्रिपालले छोपिएको छ ।
प्रकाशित : श्रावण २४, २०८१ १७:१६