कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

उपमेयर नेतृत्वको समितिले काठमाडौं महानगरका होस्टल अनुगमन गर्ने

श्रावण २३, २०८१
उपमेयर नेतृत्वको समितिले काठमाडौं महानगरका होस्टल अनुगमन गर्ने

Highlights

  • ४० हजार विद्यार्थी होस्टलमा बस्ने गरेको तर त्यहाँ अवाञ्छित क्रियाकलाप पनि हुने गरेको गुनासो आएपछि संवेदनशील अनुगमन आवश्यक रहेको महानगरको स्पष्टोक्ति

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका छात्रावास अर्थात् होस्टल व्यवस्थित बनाउन अनुगमन गर्ने भएको छ । महानगरको अनुगमन समितिले स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाभित्र रहेर होस्टल सञ्चालन गराउन अनुगमन गर्ने जनाएको छ । महानगरभित्र सञ्चालित होस्टलमा व्यवस्थापकीय समस्या देखिएपछि अनुगमन तयारी थालिएको हो ।

छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको गुनासो संवेदनशील रहेकाले अनुगमन आवश्यक रहेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् । महानगरको अनुगमन समितिकी संयोजक रहेकी उपप्रमुख डंगोलले सोमबार होस्टल अनुगमन गर्ने विषयमा बसेको पहिलो बैठकमा समूह विभाजन गरी अनुगमन गर्न सकिने जनाइन् ।

‘होस्टलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै होस्टलमा बस्ने छात्रछात्रा तथा अन्य को होस्टलमा बसेका हुन्, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ,’ उपप्रमुख डंगोल भन्छिन्, ‘४० हजार विद्यार्थी होस्टलमा बसेको व्यवसायीले भनिरहनुभएको छ । यति ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य छ ।’ बैठकमा होस्टल व्यवसायी संघ नेपाल र नेपाल होस्टल एसोसिएसनले हरेक वर्ष महानगरभित्र ४० हजार विद्यार्थी होस्टलमा बस्दै आएको तथ्यांक उपलब्ध गराएका छन् ।

महानगरले होस्टललाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको हित गराउन ‘छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, ०८०’ तयार पारेको छ । उक्त मापदण्डभित्र रहेर होस्टल सञ्चालन नियमन गर्न महानगरले अनुगमन गर्ने तयारी गरेको हो । स्थानीयले होस्टलले विकृति फैलाएको भन्दै बन्द गर्नुपर्ने गुनासो लिएर आएपछि अनुगमन आवश्यक देखिएको महानगर १० वडाका सदस्य सतीश तण्डुकार बताउँछन् ।

‘वडामा होस्टलले विकृति फैलाएकाले बन्द गर्नुपर्‍यो भन्दै स्थानीयको उजुरी छ । अब यो समस्यामा कसरी अगाडि बढ्ने भनेर अनुगमन गर्न लागेका हौं,’ तण्डुकारले भने, ‘गुनासो आएपछि बुझ्दा १० वडामा २/३ सय फिटको दूरीमा गर्ल्स र ब्याइज होस्टल सञ्चालन गरिएको पाइयो । वार्डेनले राम्रोसँग ध्यान नदिने, राति ८ बजेसम्म होस्टलमा नआई बाहिर घुम्ने, एउटै साँघुरो कोठामा १०/१२ जना बस्ने र सरसफाइको समस्या रहेको पायौं ।’ तीन तलाको घरमा ५० देखि ६० जना विद्यार्थी बस्दा ढल र पानीको समस्या हुने गरेको पाइएकाले महानगरलाई अनुगमन तीव्र पार्न भनेर अनुरोध गरेको उनको भनाइ छ ।

अनुगमनका लागि सूचक तयार भएपछि होस्टलको अनुगमन सुरु गरिने महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जनाए । ‘अहिले अनुगमन भएको छैन । अनुगमनका लागि सूचकहरू तयार गर्दै छौं,’ उनले भने, ‘अनुगमनका लागि तोकिएका सूचकहरूमा खानामा पोषण तत्त्व के/कस्तो चाहिन्छ, कति मात्रा राख्ने भनेर महानगरले तयारी गरिरहेको छ । त्यसपछि विज्ञसहितको टिमले अनुगमन गर्नेछ । यसमा वडाका प्रतिनिधि पनि रहनेछन् ।’ महानगरसँग कति होस्टल व्यवसाय सञ्चालनमा छन् र कति विद्यार्थी बसिरहेका छन् भन्ने तथ्यांक छैन । यसका लागि अनलाइनमार्फत सूचना माग गरिरहेको शर्माले सुनाए ।

‘वडामा दर्ता गरेर होस्टल सञ्चालन भएका छन् । अब नियमन गर्ने विषयमा अभिलेकीकरण गर्ने प्रक्रियाका लागि सुरुवात भएको छ,’ अर्याल भन्छन्, ‘उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । होस्टल अनुगमनका लागि अर्को उपसमिति बनाउँछौं । यसैअनुसार अनुगमन अगाडि बढ्छ ।’

महानगरले सुरु गर्न लागेको होस्टल अनुगमनप्रति सकारात्मक रहेको होस्टल व्यवसायी संघ नेपालका अध्यक्ष सुनिल भेटवालले जनाए । ‘होस्टलमा देखिएको व्यवस्थापकीय समस्यालाई लिएर महानगरले छलफल गरेको हो । यसलाई सकारात्मक रूपमा लिएका छौं,’ भेटवालले भने, ‘म पनि संघका तर्फबाट समितिको सदस्यमा छु । वडामा गुनासो गएपछि अनुगमन गरिनुपर्छ भनेपछि हामीले पनि सहयोग गरेका छौं ।’

काठमाडौं महानगरभित्र एक हजार संख्यामा होस्टल सञ्चालनमा रहेको भेटवालले बताए । परीक्षा आउने बेला र दसैंतिहारको बिदापछि होस्टलमा विद्यार्थीको चाप बढ्छ । उक्त समय होस्टलको सिजन रहेकाले ४० हजारमा १० हजा विद्यार्थी थप उनको भनाइ छ ।

महानगरका होस्टलभित्र बराबरीको संख्यामा छात्र र छात्रा बसिरहेको होस्टल व्यवसायी संघ नेपाल, काठमाडौंका अध्यक्ष हिक्मतबहादुर थापाले सुनाए । ‘विद्यार्थी भर्ना लिँदा हामीले परिचय खुल्ने र अभिभावकको सम्पर्क नम्बर लिन होस्टल सञ्चालकलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘संघको विधान र आचारसंहिता छ । सुरक्षाका लागि सीसी क्यामेरा र सेक्युरिटी गार्ड अनिवार्य राख्न भनेका छौं ।’ संघको आचारसंहिता पालना नगरे सदस्य बन्न नपाइने उनको भनाइ छ ।

अनुगमन समितिको संयोजकमा महानगरकी उपप्रमुख, एक जना सदस्य सचिव र छ सदस्य गरी नौ जनाको समिति गठन हुनुपर्ने व्यवस्था मापदण्डमा छ । मापदण्डबमोजिम महानगरभित्र होस्टल सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास, निर्माण सम्पन्न प्रमाण पत्र कागजातसहित दर्ता प्रक्रियामा जानुपर्नेछ । आफ्नै घरमा आफैंले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्नेछ ।

प्रकाशित : श्रावण २३, २०८१ ०६:०४
x
×