काठमाडौँ — काठमाडौंको कालोपुलमा डेरा गरी बस्ने ओखलढुंगाका २० वर्षीय एक युवकको शव भेटिएको छ । लिखु गाउँपालिका-९ का प्रेम महत दर्जीको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनी कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा डेरा गरी बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी हत्या गरेको र झुण्ड्याइएको अवस्थामा उनको शव भेटिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार बिहान साढे १० बजे उनको शव फेला परेको थियो । प्रेमको हत्यामा संलग्न भएको आशंकामा उनकै श्रीमतीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा मृतक महतकी श्रीमती ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा सार्की र सोही ठाउँका २७ वर्षीय मदन रम्तेल छन् ।
प्रेमको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
प्रकाशित : श्रावण २०, २०८१ १९:१८