एसईईका पूरक परीक्षार्थीलाई निःशुल्क पढाउँदै काठमाडौं महानगर
Highlights
- एसईई ग्रेडवृद्धि परीक्षा तयारीको शैक्षिक क्याम्पमा सहभागी सबै विद्यार्थीलाई पास गराएर शतप्रतिशत नतिजा ल्याउने काठमाडौं महानगरपालिकाको लक्ष्य
- फरक–फरक विषयमा ६७ वटा कक्षा, शिक्षकलाई दैनिक ५ सय र पढ्ने विद्यार्थीलाई खाजा
काठमाडौँ — सप्तरीकी नेहा यादव गत असारमा सार्वजनिक एसईईको नतिजामा नन्ग्रेडिङमा परे पनि निराश छैनन् । किनकि काठमाडौं महानगरले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा पढिरहेकी छन्, धेरै मिहिनेत गरेर पढेपछि ग्रेडवृद्धि परीक्षामा पास हुनेमा उनी ढुक्क छिन् ।
गणितमा एनजी अर्थात् नन्ग्रेड भएकी नेहाले बाहिर छुट्टै कोचिङ, ट्युसन खर्च तिरेर पढ्न महँगो पर्ने बताइन् । महानगरले एसईईको पूरक परीक्षा तयारी योजनामा स्रोत केन्द्रअन्तर्गत रहेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा निःशुल्क शैक्षिक क्याम्पमा उनले कक्षा लिइरहेकी छन् । विश्व निकेतनमै कक्षा लिइरहेका रूपेश राई र पुकार राई महानगरले सञ्चालन गरेको यो क्याम्पले धेरै सहयोग गरेको बताउँछन् ।
गुह्येश्वरी बालशिक्षा माविका १० कक्षाका विद्यार्थी रूपेश एक विषयमा फेल हुँदा सुरुमा नरमाइलो माने पनि परिवारको मायाले अझ लगनका साथ तयारी गरिरहेको बताए । ‘एनजी आउनु भन्दैमा बिग्रिएको भन्ने होइन । हामीलाई फेरि दोस्रो पटक अवसर मिलेको छ,’ उनले भने, ‘प्राक्टिस कम भएर गणित विषयमा एनजी आयो ।’
काठमाडौं महानगरले गत असार २३ गतेदेखि स्रोत केन्द्रमार्फत एसईईमा नन्ग्रेड आएका सामुदायिक विद्यालयका विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरिरहेको छ ।
महानगरभित्रबाट ५८ वटा सामुदायिक विद्यालयबाट ३ हजार ९ सय ६१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका मध्ये ८ सय ७३ जना विद्यार्थीले ग्रेडवृद्धि परीक्षाको तयारी गरिरहेका छन् । देशभरका ५२ प्रतिशत विद्यार्थी नन्ग्रेडिङमा परेपछि शिक्षा मन्त्रालयले यस पटक सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । साउन २३ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुँदै छ ।
महानगरभित्रका सामुदायिक विद्यालयबाट एसईईमा शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको महानगरको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झा बताउँछन् । उनका अनुसार महानगरले अहिले सञ्चालन गरिरहेको कक्षा कोचिङ सेन्टर नभई खुला वातावरणमा सिक्ने शैक्षिक क्याम्प हो । ‘विद्यार्थी र शिक्षकले खुला वातावरणमा सिक्न तथा सिकाउनका लागि कोचिङ सेन्टर नभई शैक्षिक क्याम्पका रूपमा कक्षा सञ्चालन गरिरहेका छौं,’ उनले स्रोत केन्द्र क्याम्पबारे जानकारी दिँदै भने, ‘यो क्याम्प सकारात्मक वातावरणमा विद्यार्थी र शिक्षकबीच सिक्ने र सिकाउने माध्यम हो ।’ महानगरले २०८० को एसईई नतिजामा ७८ प्रतिशत नतिजा ल्याए पनि बाँकी २२ प्रतिशत लक्ष्य हासिल गर्न विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरिरहेको उनको भनाइ छ ।
महानगरले तीन वर्षयता एसईईमा सहभागी विद्यार्थीको अवस्थाबारे अध्ययन पनि गर्दै आइरहेको छ । ‘हाम्रो अध्ययनले धेरै अनुत्तीर्ण हुने विद्यार्थीको पारिवारिक पृष्ठभूमि केलाउँदा परिवारको आर्थिक अवस्था कमजोर हुने, अभिभावकले आफ्ना छोराछोरीलाई सिकाउन नसक्ने, कक्षामा कमजोर प्रस्तुति रहने पाइयो,’ आयोगका सदस्य झाले भने, ‘यसमा अझै अध्ययन गर्दै छौं । यसलाई कसरी कम गर्दै लान सकिन्छ भनेर अहिले यो क्याम्प सुरु गर्यौं । विद्यार्थीको आर्थिक अवस्थालाई सहयोग गर्न र सकारात्मक वातावरणमा सिक्ने व्यवस्था गर्न यस किसिमको अवधारणामा आधारित पहिलो क्याम्प सुरु गर्यौं । अब निरन्तर हुन्छ ।’
हाल एसईईको पूरक परीक्षाको तयारी कक्षाका लागि महानगरले ११ वटा स्रोत केन्द्रमार्फत सय जना विभिन्न विषयका शिक्षक राखेर शैक्षिक क्याम्प सुरु गरेको हो । महानगरले यी क्याम्पमार्फत फरक–फरक विषयका बिहानदेखि दिउँसोसम्म ६७ वटा कक्षा सञ्चालन गरिरहेको छ । स्रोत केन्द्रमार्फत खटिरहेका शिक्षकलाई महानगरले दैनिक पाँच सय रुपैयाँ दिने प्रस्ताव गरेको छ भने विद्यार्थीका लागि खाना र खाजाको समेत व्यवस्था गरेको छ । मेयर बालेन शाहका सहयोगी सस्मित पोखरेलले सामुदायिक विद्यालयबाट एसईईमा एनजी ल्याएका सबै विद्यार्थीलाई सहभागी गराउने लक्ष्य रहेको सुनाए । ‘यो क्याम्पमा सामुदायिक विद्यालयका एनजी ल्याएका सबै विद्यार्थीलाई समावेश गराएका छौं । केही विद्यार्थीले कक्षा लिएका छैनन् तर सबैलाई सहभागी गराउने लक्ष्य हो,’ उनले भने, ‘हामीले स्रोत केन्द्रमा बुझ्दा कुनैमा ५० प्रतिशत र कुनैमा ९० प्रतिशतसम्म विद्यार्थी सहभागी भइरहेका छन् ।’
एसईईमा नन्ग्रेड आएका विद्यार्थीलाई हौसला प्रदान गर्दै पठनपाठन गराइराखेको गणित विषयका शिक्षक चक्रबहादुर विष्टले बताए । महानगरको स्रोत केन्द्र क्याम्पअन्तर्गत विश्व निकेतनमा एसईई पूरक परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई उनले पढाइरहेका छन् । महानगरले विश्व निकेतन, परोपकार आदर्श, पद्मकन्या, विद्याश्रम, शान्ति विद्यागृह र जुद्धोदय माविलगायत २३ वटा सामुदायिक विद्यालयमार्फत एसईई ग्रेडवृद्धि परीक्षाका लागि कक्षा सञ्चालन गरिरहेको छ ।
त्यस्तै कक्षामा एसईईको पूरक परीक्षाको तयारीमा जुटेकी विद्यार्थी हुन् १६ वर्षीया शर्मिला परियार । शर्मिलाले डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविमा कक्षा लिइरहेकी छन् । ‘पहिलो एसईई परीक्षा दिँदा आत्तिएर राम्रोसँग दिन सकिनँ । एसर्ईईमा तीन विषय अंग्रेजी, विज्ञान र भूगोलमा एनजी आयो,’ शर्मिलाले भनिन्, ‘सुरुमा आत्तिएँ । परिवारको सहयोग र हौसलाले फेरि परीक्षा दिन तयार भएँ ।’ क्याम्पमा गएर परीक्षाको तयारी गरेको उनले सुनाइन् ।
तस्बिरहरू : तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
प्रकाशित : श्रावण ५, २०८१ ०५:२८