धराप बन्दै काठमाडौंका सडक
Highlights
- खराब सडकका कारण धूलोधूवाा र हिलो मात्र नभई दुर्घटनासम्मका समस्या
- एकअर्काको क्षेत्र र दक्षतालाई स्विकारेर काम गर्नुपर्छ, दोष लगाउन पाइएन, संघीय सरकारले स्थानीय निकायसँग मिलेर काम गर्नुपर्छ ।-किशोर थापा, पूर्वसचिव
काठमाडौँ — यही असार १९ को बिहान विकल शाक्य लैनचौरबाट मोटरसाइकलमा बालाजुतर्फ जाँदै थिए । नयाँ बजार पुगेपछि सडकमा बनेको खाल्डोमा खसे । पानीले भरिएको खाल्डोबाट जसोतसो आफू त निस्किए तर मोटरसाइकल निकाल्न उद्धार टोली नै बोलाउनुपर्यो । काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले करिब ३ घण्टा लगाएर ११ फिट गहिरो खाल्डोबाट मोटरसाइकल निकाल्यो ।
संघीय राजधानीभित्रकै सडकको यात्रा कति जोखिमपूर्ण छ भन्ने यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । काठमाडौंका भित्रीदेखि चक्रपथसम्ममा सडकमा प्रशस्त खाल्डाखुल्डी भेटिन्छन् । खानेपानीको पाइप फुटेर बाटोमा पानी बग्ने, कालोपत्र उप्किएर ठूला खाल्डो हुने, ढल बिग्रेर बाटो नै भासिने, बिजुलीको पाइप राख्न कालोपत्र उप्काउने र राम्रोसँग मर्मत नगरी अलपत्र छाड्ने गरेका दृश्य उपत्यकाका सडकमा देखिने गरेका छन् । बर्खाको बेला निकास नपाएर सडकमै पानी जम्ने समस्या पनि छ ।
उपत्यकाबाहिर जाने सवारीसाधनका कारण व्यस्त रहने कंलकीको बस बिसौनीमा कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेको छ । यस्तै अवस्था स्वयम्भू, ठूलो भर्याङ र सानो भर्याङको बस बिसौनीको छ । चक्रपथको दोस्रो खण्ड विस्तारअन्तर्गत कलंकीदेखि धोबीखोला (चाबहिल) सम्मको सडक स्तरोन्नति लामो समयदेखि अलपत्र पर्दा यो खण्डमा यात्रा गर्ने र सर्वसाधारण वर्षामा हिलो र हिउँदमा धूलोको मारमा छन् । वनस्थलीबाट अगाडि बढ्दा चक्रपथ, नारायण गोपाल चोकसम्म ओभरटेक गर्नर् बिग्रेको सडकबाट चाकलले गाडी गुडाउने गरेका छन् ।
पशुपतिदेखि तीनकुनेसम्म नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्न खनेको सडक राम्रोसँग मर्मत गरेको छैन । तारलाई जमिनमुनि राख्न कालोपत्र काटेर निकालेको माटोको व्यवस्थापन हुन नसकेको हो । कति ठाउँमा निकै ठूलो खाल्डो बनाएर त्यतिकै छोडिएको छ, जसमा पानी जमेको छ । कोटेश्वरदेखि कलंकीसम्म चक्रपथ विस्तार भए पनि केही स्थानमा पानीको निकासको समस्या छ । महालक्ष्मी, एकान्तकुना, बल्खु र कलंकीमा वर्षाको पानी जम्ने समस्या छ ।
चक्रपथमा गाडी चलाउँदै आएका हेटौंडाका राजकुमार खड्का कहिले बाटो बन्ला र आरामले चलाउन पाइएला भन्ने आशामा छन् । १५ वर्षदेखि गाडी चलाउँदै आएका उनी भन्छन्, ‘हामीलाई राम्रो बाटोमा कुदाउन मनपर्छ । खाल्डाखुल्डीमा चलाउन समस्या हुन्छ । बेलैमा सडक बने सबैलाई सजिलो हुन्छ तर खै बन्दैन ?’
उपत्यकाको अस्तव्यस्त सडकमा बर्खामा झन् समस्या हुने गरेको छ । तर सरकारी निकाय भने एकअर्कालाई दोष दिएर पन्छिने गरेका छन् । नयाँ बजारमा मोटरसाइकल खाल्डोमा खस्नु २/३ दिनअघि नै पानी निस्किरहेको काठमाडौं महानगरका नगर उपरीक्षक राजुनाथ पाण्डे बताउँछन् । पुरानो मेलम्चीको पाइप फुटेको देखेपछि मर्मतका लागि सम्बन्धित निकायलाई बोलाउँदा पनि नआएको उनको भनाइ छ । ‘महानगरभित्र खानेपानीदेखि लिएर विद्युत् प्राधिकरणको समस्या देखिन्छ खबर गरिरहेका हुन्छौं । तर मर्मतका लागि समयमा आउँदैनन्,’ उनले भने । महानगरपालिका प्रवक्ता नवीन मानन्धर सबैले आफ्नो क्षेत्राधिकार भन्ने तर काम नगर्ने प्रवृत्ति देखिएका बताउँछन् । ‘राम्रो सडकमा हिँड्न पाउनु नागरिकको अधिकार हो,’ उनले भने, ‘त्यसका लागि तीन तहको सरकार बनेको हो । त्यसैले कुनै पनि हालतमा यो फलानोको हो भन्ने तोक्न पाइँदैन ।’ जहाँ जुन समस्या देखिन्छ त्यसलाई तत्काल समाधान गरेपछि मात्र आफ्नो क्षेत्राधिकार खोज्नुपर्ने उनको भनाइ छ ।
सडक डिभिजन काठमाडौं सूचना अधिकारी प्रमोद खतिवडा सबै दोष सडक विभागको मात्र नभएको बताउँछन् । ‘अस्ति भासिएको सडकको जिम्मा सडक विभागको मात्र होइन,’ उनले भने, ‘सडक हाम्रो हो तर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीको पाइप फुटेर खाल्डो परेको हो । सडक विस्तारका क्रममा ढल, खानेपानी, विद्युत्लगायतका धेरै पाइपहरू परेका छन् । कुन बेला कुन चिज बन्यो भनेर समन्वय हुने गरेको देखिँदैन ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड प्रवक्ता प्रकाशकुमार राईले भने नयाँ बजारको घटनामा त्यसको क्षेत्राधिकार हस्तान्तरण नभएको बताए । पूर्वसचिव किशोर थापा स्थानीय तह र अन्य सरकारी निकायबीच समन्वय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको बताउँछन् । पालिका र संघीय निकायबीच समन्वय संस्कारको अभावमा गरिएको कामको नतिजा सधैं नराम्रो आउने गरेको उनको भनाइ छ । समन्वयको संस्कार विकास गर्न एकअर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने उनको सुझाव छ ।
‘एकअर्काको क्षेत्र र दक्षतालाई स्विकारेर काम गर्नुपर्छ । दोष लगाउन पाइएन,’ उनले भने, ‘संघीय सरकारले स्थानीय निकायसँग मिलेर काम गर्नुपर्छ । मिलेर काम गरेकोमा राम्रो परिणाम आएको छ । नमिलेर काम गर्दा नराम्रो परिणाम आएको छ । पछिल्लो न्युरोडको घटना नै हो ।’ यसका साथै दुवै तहले सडक बनाउँदा एउटै मापदण्ड पालना गर्नुपर्ने, राजनीतिमा घोचपेच सामान्य भए पनि काम गर्दा गम्भीर हुनुपर्ने, सहर विकासको काम गर्दा के र कहाँ गर्दै छु भनेर स्पष्ट योजना बनाउनुपर्ने, भद्रगोल काम गर्ने संस्कृति त्याग्नुपर्ने र आफूले गरेको कामको जवाफदेही हुनुपर्ने थापाको सुझाव छ ।
‘समन्वय भनेको सिंहदरबारमा गएर बैठक गर्ने नभई फिल्डमा खानेपानी, बिजुली, सडकको सबै निकायले अनुगमन गरेर प्रत्यक्ष उपस्थितिमा काम गर्ने हो,’ उनले भने, ‘सन् २०१४ मा सार्क समिट हुँदा त्यतिबेला सबैको निकायको समन्वयमा सरसफाइ गरिएको थियो । समन्वयको संस्कार विकास गर्नुपर्यो ।’
प्रकाशित : असार २८, २०८१ १०:२०