काठमाडौँ — काठमाडौं महानगरपालिका ११ मा रहेको भद्रकाली मन्दिर परिसरको संरचना पुनःनिर्माण सुरु भएको छ । महानगरकी उपप्रमुख सुनिता ढंगोलले बिहीबार मन्दिर परिसरको जग पूजा र शिलान्यास गरी दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु गरिएको हो ।
मन्दिरको जग राख्नुअगाडि लुमधि भद्रकाली गुठीले शास्त्रीय विधिअनुसार पूजा गरेको थियो । शिलान्यासपछि बोल्दै उपप्रमुख डंगोलले, भद्रकाली सबै श्रद्धालुको आस्थाको देवता भएको उल्लेख गर्दै यसको प्राचीनता बचाएपछि सबैले गर्व गर्नलायक स्मारक हुने बताइन् ।
मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुनःनिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ रहेको महानगरले जनाएको छ । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनः निर्माणको जिम्मा पाएको छ ।
निर्माण पक्षसँग गएको जेठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ । परम्परागत नेवारी शैलीमा निर्माण हुने संरचनामा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।
प्रकाशित : असार २७, २०८१ १७:२३