कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै परिवारजन धर्नामा

बाँकेबाट काठमाडौं आई १४ जनाको समूहद्वारा शुक्रबारदेखि माइतीघरमा विरोध प्रदर्शन 

काठमाडौँ — निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बाँकेबाट काठमाडौं आइपुगेका परिवारजन र अधिकारकर्मीले माइतीघरमा दबाब आन्दोलन थालेका छन् । ०६६ सालदेखि बेपत्ता नेपालगन्ज उपमहानगर–१७ परस्पुरकी निर्मलाको न्यायको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा दबाब आन्दोलन थालेका हुन् ।

निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै परिवारजन धर्नामा

उनीहरूले एक सातासम्म बाँके जिल्ला प्रशासन कार्यालय परिसरमा आन्दोलन गरेका थिए । सुनुवाइ नभएपछि उनीहरू काठमाडौं आएका हुन् । बाँकेबाट १२ महिला र २ पुरुष गरी १४ जनाको टोली न्याय माग्न भन्दै काठमाडौं आएको हो ।

शुक्रबार कलंकी आइपुगेका उनीहरू त्यहाँबाट शान्तिपूर्ण र्‍याली गर्दै साँझदेखि नै माइतीघरमा धर्ना बसेका छन् । र्‍याली सिंहदरबारतर्फ जान लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले अभियानकर्मी रुवि खानसहित प्रदर्शनकारीलाई लछारपछार गर्दै पक्राउ गरेको थियो । खानसहित ९ जनालाई प्रहरी वृत्त सिंहदरबारले शुक्रबार दिउँसो पक्राउ गरेको थियो । उनीहरूलाई राति छोडिएको छ । निर्मलाका श्रीमान् महालु कुर्मीको ०६२ सालतिरै मृत्यु भइसकेको थियो । दुई छोराहरू पनि ०६६ कात्तिकमा १५ दिनको अन्तरमा बिते । यसपछि एक्लिएकी निर्मलालाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपिएको थियो । यो आरोपमा आठ जनाविरुद्ध पीडित परिवारले ०७७ चैत २० मा प्रहरीमा किटानी जाहेरी दिएका थिए । अभियुक्तमध्ये पूर्वसभासद बादशाह कुर्मीले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई बयान दिएर हाजिरी जमानतमा छुटेका थिए ।

साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वले भेटेपछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषी पक्राउ गर्न प्रतिवेदनमा सुझाव दिइएको थियो । ०७८ मंसिरमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जना आरोपीलाई प्रहरीले पक्राउ गरेर २१ दिन हिरासतमा राखेर हाजिरी जमानीमा छाडेको थियो । पूर्वसभासद कुर्मी र आरोपित ८० वर्षीय कुवर बब्बन सिंहलाई भने अदालतले उमेर हदम्यादका कारण साधारण तारिखमा छाडेको थियो ।

प्रहरीको प्रतिवेदनले औंल्याएअनुसार मुद्दालाई अदालतको न्यायिक प्रक्रियामा लैजानुको साटो आरोपितलाई जमानतमा छुटाएर पीडित परिवारलाई डर, त्रास, धाकधम्की र असुरक्षा बढेको भन्दै न्यायको माग गर्न उनीहरू फेरि काठमाडौं आइपुगेको आन्दोलनको नेतृत्व गरिरहेकी रुवि खानले बताइन् । उनकै नेतृत्वमा यसअघि शृङ्खलाबद्ध आन्दोलन हुँदै आएको छ । उनीहरूले निर्मला कुर्मीको मुद्दा अदालतमा पुर्‍याउनुपर्ने, रझेनाकी सुमदरानी थारूको बलात्कार गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, निर्दोष एकल महिलालाई फसाएर सजायको भागीदार बनाउने प्रहरीहरूलाई कारबाही हुनुपर्ने र सरकारले आन्दोलनकारीहरूको सुरक्षा र उनीहरूका परिवार तथा आफन्तको सुरक्षा गर्नुपर्ने माग राखेका छन् ।

‘प्रहरीद्वारा मानवअधिकार उल्लंघन बन्द गर’, ‘मानवअधिकारको सम्मान गर’, ‘जेल भरौं’, ‘निर्दोष एकल महिलालाई फसाउन पाइँदैन,’ लगायतका प्लेकार्ड बोकेर उनीहरूले माइतीघरमा विरोध जनाउँदै आएका छन् । धर्नारत उनीहरूलाई नागरिक अभियन्ताहरू, कानुन व्यवसायीहरू तथा सरोकारवालाहरू आएर भेट्ने, धर्नामा ऐक्यबद्धता जनाउने गरेर साथ दिइरहेका छन् । खानले शुक्रबारदेखि नै आमरण अनशन घोषणा गरेको र माग पूरा नभएसम्म आफूहरू धर्नामा बस्ने बताइन् ।

प्रकाशित : जेष्ठ २६, २०८१ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?