२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दुई हजार डस्टबिन राख्दै काठमाडौं महानगरपालिका

रासस

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टा-छुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर संकलन बिन (डस्टबिन) राख्ने भएको छ । महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो ।

दुई हजार डस्टबिन राख्दै काठमाडौं महानगरपालिका

'उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टा-छुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो,' वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने । उनका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग तथा आवश्यकताअनुसार वितरण गर्ने तयारी छ ।

स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्टा-छुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । महानगरपालिकाका सबै स्थानमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रुपमा अहिले वडा नं २७ र त्यसपछि अन्य वडामा उक्त बिन राख्ने काम गरिने प्रमुख श्रेष्ठले बताए ।

यसका लागि घरदैलो कार्यक्रममार्फत् उत्पादकलाई फोहर वर्गीकरण विधिमा सचेत गराउने काम पनि महानगरले गरिरहेको छ । वर्गीकरण गरिएको फोहर छुट्टा-छुट्टै व्यवस्थापन गर्न रङ सङ्केतसहितको सवारीसाधन तयारी अवस्थामा राखिएको पनि उनले बताए ।

घरघरमा फोहर वर्गीकरण गरेजस्तै सार्वजनिकस्थलमा उत्पादन हुने फोहरलाई पनि कुहिने र नकुहिने गरी छुट्टा-छुट्टै भाँडामा संकलन गरी दीगोरुपमा फोहर व्यवस्थापन गर्न लागिएको हो । यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो सेट सानो आकारको रहेको जनाइएको छ ।

सोमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिने छ । यसमा राखिने स्ट्यान्डको मूल्य रु पाँच हजार एक सय ५० र डस्टबिन प्रतिगोटा मूल्य रु दुई हजार नौ सय ५० पर्नेछ ।

मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ । एक सय २५ लिटर क्षमताका दुई वटा बिन राखिने छन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य रु पाँच हजार चार सय ५० र बिनको मूल्य रु तीन हजार आठ सय ९० हो । राखिएका सबै बिनको संरक्षणको जिम्मा सम्बन्धित वडाले लिने बताइएको छ ।

प्रकाशित : फाल्गुन ५, २०८० १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?