११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन

रासस

काठमाडौँ — दिवंगत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ ।

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा आइतबार बेलुकी दिवंगत पितृका नाममा बत्ती बालिएको छ । मंसिर २५ गते सोमबार बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन् । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।

यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको वाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुंगा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ ।

प्रकाशित : मंसिर २४, २०८० २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?