विश्व शौचालय दिवस : नेपालमा ३ लाख परिवारसँग छैन शौचालय

काठमाडौं — नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी आइतबार विश्व शौचालय दिवस मनाइँदैछ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो ।
बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ । मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसंघले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो ।
राष्ट्रसंघकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाब गर्छन् । खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो ।
नेपालमा शौचालय प्रयोग गर्नेहरुको संख्या
२०७८ को जनगणनाअनुसार नेपालमा शौचालय नहुनेको संख्या नेपालमा ४.५ प्रतिशत अर्थात ३ लाख १ हजार ४९० रहेको छ ।
शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार संख्या ६ लाख ५३ हजार ७१० रहेको छ । फ्लस (सेफ्टिक ट्यांकी) भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ । अर्थात यो संख्या ३६ लाख ६७ हजार ७८० हो । त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको संख्या २० लाख ५ हजार ४८० रहेको छ । यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ । त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ । यो संख्या ३२ हजार ३८१ हो ।
प्रकाशित : मंसिर ३, २०८० १३:१९