काठमाडौंमा छठ पर्वको तयारी पूरा

काठमाडौँ — छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ पर्व मनाउने घाटहरुमा छठ पर्वको तयारी पूरा भएको छ ।

आइतबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ ।
व्रतालुलेआइतबार रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । छठ पर्वको मुख्य दिनमा आइतबार काठमाडौंको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ । छठका लागि काठमाडौंको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । काठमाडौं कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौंको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताए । उनलेअहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको जानकारी दिए ।
‘तयारी सबै पूरा भइसकेको छ । जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ । स्वास्थ्य शिविर, सुरक्षा प्रबन्ध सबै रहेको छ’ सिंहले भने ।