काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

काठमाडौँ — काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिबारसम्म सबै काम सकिने बताए । उनले । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यसपटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए ।
उनले भने, ‘टेण्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यसपटक चन्दा बाक्सा पनि राख्दैनौँ । छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ । आरती र भजन कीर्तन गर्नेछौँ ।’
त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिबारसम्म सकिने बताए ।
उनले भने, ‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौँ । अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ । २० प्रतिशत काम शनिबारसम्म सकिन्छ । कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ । आर्थिक मन्दीले अलि कमी हुने आकलन गरेका छौँ । तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ ।’
प्रकाशित : कार्तिक ३०, २०८० १५:२३