थेच्वमा कथिन दान उत्सव

ललितपुर — थेच्वमा बौद्ध परम्पराअनुसार गरिने पवित्र ‘कथिन दान’ उत्सव मनाइएको छ । यो उत्सव विशेषगरी लुम्बिनीलगायत बौद्ध विहारहरुमा मनाइन्छ ।

गोदावरी नगरपालिका–१२ मा शनिबार बाजागाजासहित शोभायात्रा गरी उत्सव मनाइएको हो । उत्सव चार वर्षदेखि मनाउँदै आएको छ । प्रत्येक वर्ष असार पूर्णिमादेखि असोज पूर्णिमा तीन महिना भिक्षुहरु बर्खाबास बस्ने परम्परा छ । यसरी वर्षाबास बसेका भिक्षुहरुका लागि कठिन दान गर्ने गरिन्छ ।
पाटनका दाता भाइलाल महर्जनको सहयोगमा आयोजित कथिन उत्सवमा थेच्वस्थित वनोद्यान बुद्ध विहारमा बर्खाबास बसेका भिक्षु सुमन भन्तेलाई बौद्ध परम्पराअनुसार चिवर दान, अष्ट परिस्कार दान गरेका थिए । भिक्षुले लगाउने पहेँलो वस्त (चिवर) र भिक्षापात्रलाई चिवर दान भनिन्छ ।
अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीन महिने वर्षाबास बस्ने भिक्षुलाई चिवर र भिक्षा पात्र प्रदान गरिन्छ । वनोद्यान बुद्ध विहारका अध्यक्ष कृष्ण गोपाल डंगोलका अनुसार यो परम्परा बुद्धकालीन समयदेखि चल्दै आएको हो । ‘त्यतिबेला बर्खाको समयमा किसानको खेतबारी नष्ट नहोस्, किराफट्याङग्रा नमरोस् भनेर बर्खाको समयमा भिक्षुहरु कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने गर्दछ,’ उनले भने । वनोद्यान बुद्ध विहारमा २१ फिट अग्लो बुद्धमूर्ति पनि निर्माण भइरहेको छ । विहारका अनुसार मूर्ति निर्माण सम्पन्न गर्न एक करोड २५ लाख रुपैयाँ आवश्यक छ । ‘तर, रकम अभावका कारण समयमा निर्माण सम्पन्न गर्न सकेको छैन,’ अध्यक्ष महर्जनले भने ।