थिमिका बालराम श्रेष्ठले छेडाए जिब्रो

भक्तपुर — मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठले जिब्रो छेडाएका छन् । इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो उनले जिब्रो छेडाएका हुन् । श्रेष्ठले येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गरेका छन् ।

श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुदै पशुपति परिक्रमा गरि पुन: थिमि पुगेका थिए । ।
मध्यपुर थिमिकै बोडेमा बिस्केट जात्राको अवसरमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । थिमिमा नेपाल संवत् अनुसार इन्द्रजात्राको भोलिपल्ट मनाइन्छ । किम्बदन्ती अनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याकले थिमिका मानिसलाई धेरै दुःख दिने गर्थे । उक्त पिशाच पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको सम्झनामा जिब्रो छेड्ने परम्परा बसेको स्थानीय बताउँछन् ।
जात्राको ४ दिन अघिदेखि विभिन्न परिकार बनाएर नगरका मानिसलाई जिब्रो छेडाउने व्यक्तिले नै भोज खुवाउनुप पर्छ । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्नुपर्ने र ८ दिन अघिदेखि एकछाक मात्र खाएर बस्नुपर्ने, पशुपंक्षी छुन नहुने, जिब्रो छेडाउने एक दिन अघिदेखि श्रीमतीको अनुहार हेर्न नहुने स्थानीय बताउँछन् । जिब्रो छेड्ने दिन थिमि लाय्कुका पःमाहरू गई हनुमानढोका लाय्कु (दरबार) बाट राजाको चिनो (खड्क) लिएर आएपछि मात्र जिब्रो छेडाउने चलन छ ।
तेलमा डुबाइराखेको करिब १ फिट लामो फलामको सियो देवगणको पूजा एवं प्रार्थना गरी भाद्र शुक्ल पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाएपछि मानन्धर थरका व्यक्तिहरूले बालेको याःमता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडेको व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्विप बोकेर नगरपरिक्रमा गर्ने चलन छ ।
तस्बिरहरू : रासस
