१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सहकारीको रकम हिनामिना गरेको आरोपमा ६ जना पक्राउ 

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–९ का ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका–८ का ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ घर भई बूढानीलकण्ठ बस्ने ५८ वर्षीय रामकुमार श्रेष्ठ छन् ।

उक्त संस्थाका बचतकर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरेको, संस्थालाई धरासायी बनाई बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरेको, संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको भन्दै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले मङ्गलबार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सीआईबीले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?