अशक्तलाई घरमै नागरिकता

काठमाडौँ — शारीरिक रुपमा अशक्त भई हिFडडुल गर्न नसक्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।

अशक्तलाई घरमै नागरिकता

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले सोमबार काठमाडौं महानगरपालिका–७, चावहिल (गौरीघाट)स्थित घरमै पुगेर २० वर्षीया स्वेता ढकाललाई नागरिकता प्रदान गरेका हुन् । स्वेता जन्मजात शारीरिक अशक्त हुन् । उनलाई एक ठाउँबाट अर्को ठाउमा सार्न पनि अरुको भर पर्नुपर्ने बाध्यता छ । उनी बोल्नपनि सक्दिनन् ।

प्रजिअ उपाध्यायले प्रशासनबाट प्रदान गरिने सार्वजनिक सेवा नागरिक मैत्री बनाउने उद्देश्यसहित शारीरिक रुपमा अशक्त ढकाललाई घरमै गएर प्रशासनले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको बताए ।

‘नागरिकमैत्री प्रशासन सेवालाई प्रभावकारी रुपमा अघि बढाइएको र सोही अनुसार कार्यालयसम्म आउन नसक्ने व्यक्तिको पहिचान गरेर घरमै पुगी प्रमाणपत्र दिएका हौं,’ प्रजिअ उपाध्यायले कान्तिपुरसँग भने, ‘शारीरिक अशक्त भएकै कारण नागरिकले नागरिकता र त्यसबाट प्राप्त हुने अन्य सरकारी/सार्बजनिक सेवाबाट कोहीपनि बञ्चित हुन नपरोस । यस्ता समस्या भएकै कारण नागरिकता पाउनु भएको छैन भने प्रशासनमा खबर गर्न अनुरोध गर्दछौं ।’

स्वेताका बुवा ध्रुव ढकालले छोरीको अवस्थाबारे केही समय अघि नै प्रशासनमा जानकारी गराइएको र अहिले घरमै आएर प्रजिअबाट नागरिकता पाएको बताए । ध्रुवले निव‍ेदन दिएपछि प्रजिअ उपाध्यायले ‘कार्यालय समयको चाप नपरेका दिन’ उपयुक्त बेला आउने जानकारी दिएका थिए । ध्रुव विद्युत प्राधिकरणबाट अवकास पाएका कर्मचारी हुन् । ध्रुवका अनुसार स्वेता जन्मनु अघि आमालाई बेथा लागेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । सुरुमा चिकित्सकले ‘नर्मल डेलिभरी’ हुन्छ भनेर पर्खाएका थिए । तर, केही बेरपछि आमा बेहोस भइन् । पेटमा बच्चा पनि चलमलाउन रोकियो ।

त्यसपछि चिकित्सकले तत्कालै अपरेसन गर्नुपर्ने बताए । ‘इमर्जेन्सी’ अपरेसन गरेर नवजात शिशु निकालियो । ध्रुवकी छोरी जन्मिइन् । तर, चलमलाइनन् । आमाको पनि होस आएन । ढकालकाअनुसार समयमै डेलिभरी नहुँदा आमा र बच्चाको स्वास्थ्य बिग्रिएको खुल्यो । पछि आमा क्रमशः निको हुँदै गएपनि बच्चाको अवस्था ठीक भएन । पछि स्वास्थ्य जाँच गराउदा मात्रै समयमै बच्चा नजन्मिएका कारण मानसिक र शारीरिक अवस्था बिग्रिएको खुल्यो । अहिले स्वेता २० वर्षकी भइन् । एकठाउबाट अर्को ठाउमा सार्न पनि अरुको टेको चाहिन्छ । खाना खुवाउन, शौच गर्न पनि सक्दिनन् ।

‘सुरुमा त आमा र बच्चा दुवै बाँच्दैनन् जस्तो लागेको थियो । चिकित्सकले बताएअनुसार समयमै डेलिभरी नहुँदा दुबैको स्वास्थ्य बिग्रिएको थियो । पछि आमा अवस्था ठीक भयो । छोरी पूर्ण रुपमा अशक्त भई । अआगी रहिछे,’ स्वेताका बुवा ध्रुवले भने, ‘न बोल्न सक्छे, न हिँडडुल गर्न । खान, शौच गराउन, सरसफाई सबै हामी नै गराउछौं । के भइरहेको छ भन्ने उसलाई केही पनि चेत छैन ।’

प्रकाशित : जेष्ठ १५, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?