१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खैरो हेरोइन कारोबारी दुई भारतीयसहित छ पक्राउ

काठमाडौँ — काठमाडौं उपत्यकामा लागूऔषध खैरो हेरोइनको अवैध कारोबारको गिरोह दुई भारतीयसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल दार्जलिङ सोनापिन्टीका २२ वर्षीय शिवघोष, २६ वर्षीया श्यामली सोरेन, झापा विर्तामोड नगरपालिका–६ का २७ वर्षीय किरण कन्दङ्वा, विर्तामोड–४ का २८ वर्षीय विजय लिम्बू, विनोद लिम्बू र मेची नगरपालिका–८ का माधव मेचे छन् । 

खैरो हेरोइन कारोबारी दुई भारतीयसहित छ पक्राउ

लागूऔषध नियन्त्रण ब्युरोले उपत्यकामा लागूऔषध खैरो हेरोइनको अवैध कारोबार भक्षरहेको सूचनाको आधारमा ‘स्टेप इन अप्रेसन’अभियान नै संचालन गरी खैरो हेरोइनको नेटवर्क पहिल्याउने क्रममा किरण कन्दङ्वालाई गत मंगलबार (जेठ ९) मा काठमाडौं महानगर–६ बौद्ध टुसालस्थित एक होटलबाट २० ग्राम खैरो हेरोइन, डिजिटल तराजु १ थान र ७ लाख ४० हजार रुपैयाँ नगदसहित पक्राउ गर्‍यो । ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीकाअनुसार कन्दङ्वा पक्राउ परेपछि अनुसन्धानकै क्रममा बिहीबार काठमाडौं–९ शम्भूमार्गबाट विजय लिम्बूलाई ९४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । सोही दिन माधव मेचेलाई प्रहरीले झापा चन्द्रगढीबाट, शुक्रबार झापा भद्रपुरबाट १९४ ग्राम ५४० मिलिग्राम खैरो हेरोइनसहित दार्जिलिङ सोनापिन्टीका शिवघोष र श्यामली सोरेनलाई पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाएको एसपी जोशीले जनाए ।

खुला सीमाको दुरुपयोग गर्दै भारतीयले अवैध लागूऔषध खैरो हेरोइन झापासम्म ल्याइपुर्‍याउने र नेपालीलाई प्रयोग गरी राजधानीलगायत क्षेत्रमा कारोबार गर्ने गरेको पाइएको ब्युरो प्रमुख एसएसपी गोविन्द थपलिया बताउँछन् । पक्राउ परेका छ जना कुनै पनि व्यक्ति सेवनकर्ता नभई कारोबारी मात्र भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं र झापा जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । उनीहरुका साथबाट प्रहरीले खैरो हेरोइन ३१२ ग्राम, ५४० मिलिग्राम बरामद गरेको छ । ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

त्यसैगरी, ब्युरोले ३ किलो ६०० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थानतर्फको गेट भई थाई एयरवेजको उडानमार्फत थाईल्यान्ड जान लागेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का ४२ वर्षीय तेम्बा शेर्पालाई चरेससहित पक्राउ गरेको हो । शेर्पाको शरीर तथा हाते झोला जाँचको क्रममा विमानस्थल सुरक्षागार्ड र ब्युरोको संयुक्त टोलीले चरेससहित पक्राउ गरेको जनाएको छ ।

लागूपदार्थ सेवन कारबाही अभियानमा १२७ जना नियन्त्रण

लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने १२७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । लागूऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टिएचसिकिटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको थियो । अभियानका क्रममा शुक्रबारसम्म १२७ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १४, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?