सार्वजनिक जग्गा प्रतिष्ठानलाई दिने निर्णयप्रति काठमाडौं महानगरको असहमति

महानगरसँग परामर्श नगरी निर्मल लामा स्मृति प्रतिष्ठानलाई ५ रोपनी ११ आना जग्गा लिजमा दिने निर्णय गरिएपछि स्थानीय पनि आक्रोशित
गोविन्द पोखरेल

काठमाडौँ — सार्वजनिक जग्गा प्रतिष्ठानलाई भाडामा दिने सरकारको निर्णयप्रति काठमाडौं महानगरले असहमति जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित धोबीखोला करिडोरमा रहेको सार्वजनिक जग्गा माओवादी केन्द्रनिकट निर्मल लामा स्मृति प्रतिष्ठानलाई उपयोग गर्न दिने सरकारको निर्णयमा महानगरले असहमति जनाएको हो ।

सरकारले २०७९ असोज ७ र मंसिर २० मा कित्ता नम्बर २५१, २०८, २१०, २४९ र २४७ का सार्वजनिक सरकारी जग्गा सरकारले निर्मल लामा स्मृति प्रतिष्ठानलाई ४० वर्षका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो । तत्कालीन कृषि, भूमि तथा सहकारी विकासमन्त्री शशि श्रेष्ठको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त जग्गा लिजमा दिने निर्णय गरेको वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले बताए । उनले भने, ‘हाम्रो सहमतिबिना सरकारले जग्गा उपयोग गर्न दिने निर्णय गरेको छ । यसमा हाम्रो असहमति छ ।’

धोबीखोला करिडोरको उक्त जग्गा २०२१ सालको नापीमा नदीको बहाव क्षेत्रमा थियो । २०४९ सालमा धोबीखोलाको पहेंलो पुल बन्दा नदीको पूर्वतर्फ सरेर नदी उकास भएको जग्गालाई नापी गरेर सरकारी नाममा दर्ता भएको प्रजापतिले बताए । जग्गा दिने सरकारको निर्णयमा कार्यान्वयन सघाउन माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, देव गुरुङ, शशि श्रेष्ठलगायतले दबाब दिएको प्रजापतिले गुनासो गरे ।

उक्त जग्गामा भूमाफियाले कित्ताकाट गरेर कब्जा गरेपछि स्थानीयले समिति गठन गरेर मुद्दा लडेका थिए । सर्वोच्च अदालतले २०७६ सालमा जग्गा सार्वजनिक भएको निर्णय गरेपछि वडा कार्यालयले संरक्षण गर्दै आएको थियो ।

सार्वजनिक जग्गा भएपछि महानगर र उपत्यका विकास प्राधिकरणको संयुक्त लगानीमा उक्त क्षेत्रमा तारजाली गरेर पार्क निर्माणको काम थालिएको छ । वडाध्यक्ष प्रजापतिले भने, ‘हामीले यो सार्वजनिक जग्गा भूमाफियाको कब्जाबाट मुक्त गरेर ल्याएपछि पार्क निर्माणको तयारी गर्दै थियौं । सरकारले एकलौटी निर्णय गरेछ । हाम्रो असहमति छ ।’

हाल महानगरले उक्त जग्गामा बालबालिकाका लागि भनेर खेल मैदान बनाइरहेको छ । महानगरका मेयर बालेन्द्र शाहका पूर्वाधार सल्लाहकार सुनील लम्सालले यहाँ खुला चौर बनाउने र सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान चलिरहेका बेला जग्गा लिजमा दिने सरकारी निर्णय अमान्य भएको बताए । ‘खुला चौर बनाउने र सार्वजनिक जग्गा संरक्षण गरेर नयाँ संरचना बनाउन नदिने हाम्रो तयारी छ,’ लम्सालले भने, ‘खुला क्षेत्र चाहिन्छ भनेर हामीले मिचिएका संरचना हटाएर खुल्ला ठाउँ बनाउँदै छौं । अहिले आएर जग्गा अरूलाई दिन मिल्छ ? यसमा हाम्रो सहमति हुँदैन ।’

वडाध्यक्ष प्रजापतिले स्थानीयले संरक्षण गरेको उक्त जग्गा लिजमा दिने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताए । स्थानीय सरकार सञ्चालन ऐनअनुसार सार्वजनिक जग्गा लिजमा दिने निर्णय गर्दा स्थानीय तहको सहमति आवश्यक पर्ने प्रजापतिले बताए । ‘हाम्रो सहमति नलिई निर्णय गरेको छ, भूकम्पका बेला खाली जग्गा नहुँदा धेरै समस्या भएको थियो । काठमाडौंमा खुल्ला ठाउँको आवश्यकता धेरै छ । कुनै अमूक दल वा पार्टीको नाममा खुलेका प्रतिष्ठानलाई सार्वजनिक जग्गा उपभोग गर्न दिँदैनौं,’ प्रजापतिले भने ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

यसैबीच महानगरको वडा ५ का स्थानीयले धोबीखोला किनारको सार्वजनिक जग्गा लिजमा नदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । भूमाफियाको कब्जाबाट छुटाएर संरक्षण गरिएको जग्गा प्रतिष्ठानको नाममा उपभोग गर्न दिने सरकारी निर्णय अमान्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

वडावासीको हितविपरीत आफू नजाने बताउँदै वडाध्यक्ष प्रजापतिले सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् । हाल महानगरले उक्त जग्गामा १० लाख खर्चेर माटो सम्याउने काम गरिरहेको छ । वडा ५ मा करिब ५० रोपनी जग्गा सार्वजनिक रहेको उनले बताए । तीमध्ये सानो गौचरणमा २० रोपनी जग्गा रहेको र उक्त स्थानमा खेल मैदान बनाउने तयारी छ ।

प्रकाशित : जेष्ठ ८, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

नीति तथा कार्यक्रम पुनर्लेखन जरुरी छ : राप्रपा अध्यक्ष लिङ्देन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । अहिलेको आर्थिक संकट र समस्यालाई सम्बोधन गर्न नसक्ने भएकाले नीति तथा कार्यक्रम पुनर्लेखनको आवश्यकता रहेको लिङ्देनको भनाइ थियो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा लिङ्देनले पुनर्लेखन हुनुपर्ने बताएका हुन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको उनको भनाइ थियो ।

‘अहिले देशको अवस्था सामान्य होइन । अहिले देशले र दुनियाँले जुन आर्थिक संकट बेहोरिरहेको छ त्यसलाई हाम्रो परम्परागत कार्यशैलीले, परम्परागत सोच र संरचनाले त्यो आर्थिक संकटलाई सामना गर्न सक्दैन । त्यसकारणले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढछौं भन्ने कुरा आउनु पर्दथ्यो,' उनले भने, 'नमिलेका विषयहरू फेरि लेखेर ल्याउनु पर्छ भन्दाखेरी अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन ।'

सरकारले ल्याएको नीति तथा कार्यक्रम सामान्य अवस्थाको जस्तो रहेको लिङ्देनको भनाइ थियो । नीति तथा कार्यक्रमका धेरै कुराहरु प्रस्ट नभएको पनि उनले बताए । 'यसले समस्या पहिचान गर्न सकेको छैन । प्राथमिकता छुट्टयाउन खोजेकै छैन । अथवा, हाम्रा प्राथमिकता के हुन ? त्यसलाई प्रस्ट पार्न सकेको छैन । छलफल गर्नुपर्ने प्रशस्त विषय छन,' उनले भने, 'हामीले ल्यायौं, हामीसँग बहुमत छ । पास गर्छौं । ताली ठटाएर पास गर्छौ । त्यो भन्न पाउनु हुन्छ, पास गर्न पाउनु हुन्छ ।' लिङदेनले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द लेखियो भन्ने आत्मरतिमा नरमाउन आग्रह गरेका थिए ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका थिए । उनले नीति तथा कार्यक्रम काम नलाग्ने भन्दै पुनर्लेखन गर्नुपर्ने भन्दै त्यसो नगरिए संसद्ले फेल गर्नुपर्ने पनि धारणा राखेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०८० १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×