शवगृह विस्तार गर्न पाटन अस्पताललाई ललितपुर महानगरको सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा शवगृह विस्तार गर्नका लागि आर्थिक सहयोग गरेको छ । महानगरले शवगृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख सहयोग गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालका मेडिकल निर्देशक प्रा.डा. रवि शाक्यलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा शवगृह विस्तार गर्ने सम्बन्धमा ललितपुर महानगर र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । महानगर प्रमुख महर्जनले महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । कोरोनाको बेलामा महानगरको सहयोगबाट पाटन अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट धेरैजना लाभान्वित भएको बताए । पाटन अस्पतालको आवश्यकता पहिचान गरेर शवगृह विस्तारको लागि सहयोग गरेको उनको भनाई थियो ।

पाटन अस्पतालका मेडिकल निर्देशक प्रा.डा. रवि शाक्यले पाटन अस्पतालमा रहेको ४ वटा मात्रै शव राख्न मिल्ने शवगृहमा २० वटाभन्दा धेरै शव राख्नु परेको बाध्यता सुनाए । उनले भने, ‘अस्पतालकै, बाहिरबाट केही दिन राखिदिनुस न भन्दै आउने अनुरोध र बेबारिसे लाशले गर्दा अहिलेको शवगृह भरिभराउ भइरहेको छ, शव खप्टेर राख्नु पर्ने बाध्यता छ ।’

शवगृह विस्तारपछि यो समस्याको अन्त्य हुने उनले बताए । लाश खप्टेर राख्दा नमज्जा लागेको सुनाउँदै उनले भने, ‘त्यसरी लाश राख्नु वैज्ञानिक पनि होइन । ’ ललितपुर महानगरले अभिभावकको भूमिका निर्वाह गरेकोमा धन्यवाद दिदैं उनले खुशी व्यक्त गरे ।

उपप्रमखु मंजली शाक्य बज्राचार्यले ललितपुर महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताइन् । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।

यसैगरी महानगरले त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रलाई पनि आर्थिक सहयोग गरेको छ ।

ललितपुर महानगरले रक्त अनुसन्धान केन्द्र संचालन तथा रक्त सेवा प्रवाहका लागि सहयोग पुगोस् भन्दै केन्द्रलाई ५० लाख सहयोग गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीलाई चेक हस्तान्तरण गरे ।

यसका साथै कार्यक्रममा ललितपुर महानगर र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रबीच समझदारी पत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । केन्द्रका अध्यक्ष रुद्रहरि ज्ञवालीले महानगरबाट प्राप्त सहयोग प्रविधि विस्तारमा प्रयोग गरिने बताए ।


प्रकाशित : जेष्ठ ५, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

चीन बन्यो विश्वमै सबैभन्दा धेरै कार निर्यात गर्ने देश

३ महिनामै १० लाखभन्दा बढी कार निर्यात
कान्तिपुर संवाददाता

काठमाडौँ — चीनले आफू विश्वकै सबैभन्दा बढी कार निर्यातकर्ता भएको दाबी गरेको छ । यस वर्षको पहिलो त्रैमासिकमा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यातक देश बनेको हो । गत हप्ता सार्वजनिक एक तथ्यांकअनुसार चीनले पहिलो तीन महिनामा १० लाख ७ हजार कार निर्यात गरेको हो । 

सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको छ । जापानले भने यस आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार निर्यात गरेको छ । यो संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।

विद्युतीय कारको लोकप्रियता र रुसमा कारको माग बढेको चीनको निर्यात बढेको बीबीसीले जनाएको छ । गत वर्ष मात्र चीन जर्मनीलाई उछिन्दै कार निर्यातमा विश्वको दोस्रो स्थानमा बएको थियो । भन्सार प्रशासनको तथ्यांकअनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेको थियो । जर्मनीले भने २६ लाख गाडी निर्यात गरेको थियो ।

पछिल्लो समय विश्वभर विद्युतीय कारको माग बढिरहेको छ जसको प्रत्यक्ष फाइदा चिनियाँ बजारलाई पुगेको छ । टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठूलो 'न्यु एनर्जी भेहिकल कार' निर्यातक हो । टेस्लाको सांघाईमा ठूलो विद्युतीय कार प्लान्ट रहेको छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात हुँदै आएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×