उभ्याइयो बिस्काको लिंगो

भक्तपुर — धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको (बिस्का) बिस्केट जात्राको चौथौं दिनको साँझ भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याइएको छ । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राअन्तर्गत तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतिक आठ वटा डोरी बाँधेर बिहीबार साँझ लिंगो उभ्याइएको हो ।

उभ्याइयो बिस्काको लिंगो

जात्राको चौथो दिन एवं वर्षको अन्तिम दिन चैत्र मसान्तमा भक्तपुर नगरको तालाक्वस्थित ज्याठा गणेशको मन्दिर परिसरमा स्थानीय प्रजापति समुदायले ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो उभ्याउने परम्परा छ । उक्त लिंगो ठड्याएपछि गःहिटीमा रहेको भैलख खलाः जुकेगु अर्थात् भैरवको रथलाई तानेर लयक्व, खलाः हुँदै भेलुखेल पुर्‍याएर बाजागाजासहित ५५ हाते लिंगो उभ्याइने प्रचलन छ । सोही प्रचलन अनुसार सयौंको सहभागितामा बिहीबार साँझ लिंगो ठड्याएको छ । चैत्र मसान्तमा उभ्याएको लिंगो वैशाख १ गते विधिपूर्वक ढाल्ने प्रचलन छ ।

तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले बाँधी उभ्याइन्छ । लिंगोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजा समेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छ भन्ने धार्मिक मान्यता रहेको इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पुजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन बैशाख ५ गते बिहान तालाक्व स्थित उभ्याइएको ज्याठा गणेशको ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालिको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।

नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठरात र नौ दिन सम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ । त्यस्तै, मध्यपुर थिमि नगरपालिका–८ स्थित महालक्ष्मी मन्दिर बोडेमा पनि बिहीबार बिहान लिंगो ठड्याएको छ ।


प्रकाशित : चैत्र ३०, २०७९ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?