ललितपुरमा सवारी दुर्घटना हुँदा दम्पतीको मृत्यु, छोरी सख्त घाइते

ललितपुर — ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुकी छोरी सख्त घाइते भएकी छिन् ।

ललितपुरको महांकाल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक वाग्मती गाउँपालिका–७ घर भइ महांकाल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी पाँच वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित : चैत्र १४, २०७९ २२:४६