पशुपतिनाथको भेटीमा आँखा

यो आर्थिक वर्ष १४ करोड ७१ लाख ६७ हजार रुपैयाँ उठेको कोषको आम्दानी विवरणमा उल्लेख छ
दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथ मन्दिर परिसरमा राखिएको भेटी राख्ने घ्याम्पो केही दिनअघि चोरी भयो । दिउँसो दुई बजेर ३० मिनेटमा बाक्लो सुरक्षाकर्मीको बीचबाटै घ्याम्पो चोरिएको थियो । हराएको झन्डै दुई घण्टापछि फेरि घ्याम्पो ल्याएर त्यहीं राखियो । सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशुपति क्षेत्र विकास कोषका सुरक्षागार्डले समेत चोरीको यो घटना थाहा पाएनन् । गत माघ १४ गते भएको यो घटनाको छानबिन गर्न समिति नै बन्यो । कोषका सदस्य देवी बरालको संयोजकत्वमा बनेको छानबिन समितिले प्रतिवेदनसमेत बुझाइसकेको छ ।

समितिले प्रतिवेदन बुझाए पनि घटनामा को संलग्न थियो भनेर किटान गरेको छैन । समितिले सीसीटीभीको तार काटेर चोरी गरेको जनाएको छ । समितिले यस्ता चोरीका घटना पटकपटक भएको औंल्याएको छ । ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं,’ संयोजक बरालले भने, ‘अब कारबाही गर्ने निकायले केही गर्ला ।’ चोरीका घटना पटकपटक भए पनि कारबाही नगरेको कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले गुनासो गरे । वैद्यले आफू कोषाध्यक्ष भएकाले बेलामा भने चोरीमा संलग्नलाई कारबाही भएको स्मरण गरे । २०६८ सालमा बुढानीलकण्ठको घ्याम्पो चोरी भएको थियो । ‘सीसीटीभी फुटेज रुद्रगाडेश्वरतिरबाट आएको देखियो । खोज्दै जाँदा पशुपति छेउकै घाट वैद्यकोमा काम गर्ने कामदार भएको पत्ता लाग्यो,’ वैद्यले भने, ‘उनी जेल गए ।’

मन्दिर परिसरमै नेपाल प्रहरीको पहरा गण छ । त्यसको अगुवाइ प्रहरी निरीक्षकले गर्छन् । प्रहरी निरीक्षकको अगुवाइमा अर्को सशस्त्रको सुरक्षा पनि छ । ‘कोषकै सुरक्षाकर्मीसमेत रहेको बाक्लो घेराबाट यसरी चोरी हुनु भनेको सेटिङबाट चोरी भएको प्रस्ट छ,’ वैद्यले भने । कोषबाट मन्दिर हेर्ने कर्मचारीलाई निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाउनुपर्नेमा तिनैलाई समितिमा राखिएको छ । समितिका सदस्यमा सांस्कृतिक महाशाखाका प्रमुख, नेपाल प्रहरी पहरा गढ प्रमुख र सशस्त्रका प्रमुखलाई राखिएका थिए । ‘जो ड्युटीमा बस्दा चोरी भएको छ, उसलाई नै छानबिन समितिमा राख्दा कसरी निष्पक्ष हुन्छ ?’ वैद्यले प्रश्न गरे ।

मन्दिरमा भेटी राख्नका लागि ठाउँठाउँमा घ्याम्पो र दानपत्र बाकस राखिएका छन् । मन्दिर परिसरभित्र पशुपतिनाथको मूल मन्दिर, बासुकीनाथ, हनुमान नारायण, बुढानीलकण्ठ, नवग्रह, प्रांगणको चाँदी घ्याम्पो लगायतबाट बेग्लाबेग्लै भेटी राख्ने व्यवस्था गरिएको छ । यी बेग्लै ठाउँको गणना अलगअलग गरिन्छ । त्यसमध्ये पछिल्लो समय प्रांगणमा रहेको चाँदीको दानपत्र चोरी भएको थियो । कोषको तथ्यांकअनुसार यो दानपत्रमा वर्षमा सरदर २ लाख रकम जम्मा हुन्छ । ‌त्यसबाहेक सुन, चाँदीलगायतका गहना पनि चढाइएको हुन्छ ।

भक्तले चढाएका भेटी दुरुपयोग हुँदै आएको गुनासो छ । परम्परागत रूपमा भट्ट र भण्डारीले बाँडफाँट गरेर लिने गरेका थिए । भेटी व्यवस्थित गर्न २०६८ सालमा ‘श्री पशुपतिनाथ मन्दिर तथा पूजा व्यवस्थापन नियमावली’ पारित भयो । नियमावलीले पुजारीको तलब तोक्यो । भण्डारी, बिसेट, नाइके लगायतलाई कर्मचारी जस्तै गरी तलब दिने व्यवस्था गर्‍यो । भट्ट भण्डारीको काम, कर्तव्य र अधिकार तोक्यो भने लिँदै आएको भेटी विकास कोष मातहात ल्यायो । भेटी बैंक दाखिला हुने व्यवस्था गर्‍यो । ‘देशको विकासमा भेटी जोड्न नियमावली ल्याएका थियौं,’ पूर्वकोषाध्यक्ष वैद्यले भने, ‘तर, भेटी चुहावट रोकिएन ।’

नियमावली लागू भएपछि आम्दानी बढेको छ । कोषको तथ्यांकअनुसार भेटीबाट वार्षिक १४ करोड जति आम्दानी हुने गरेको छ । नियमावली लागू हुनुअघि वार्षिक १ लाख मात्र आम्दानी हुन्थ्यो । ‘भारतको तिरुपति बाबाको जस्तै आम्दानी बढाएर पशुपतिनाथले देशकै ढुकुटी बढाउने सोच हो,’ उनले भने । भक्तले नगद र धातु अर्पण गर्ने गर्छन् । २०७५ सालमा भेटीबाट संकलन भएको १ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ कोषमा जम्मा भएको थियो । पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको पुस्तक ‘पाशुपत क्षेत्रका सम्पदा, संस्कृति र सम्पति प्रतिवेदन’ मा उल्लेख भएअनुसार दैनिक २५ देखि ३० लाख रुपैयाँसम्म भेटी उठ्छ । यस हिसाबले मासिक करिब ९ करोड रुपैयाँ जम्मा हुनुपर्ने हो । तर वर्षमा बढीमा १७ करोड रुपैयाँ मात्र उठेको तथ्यांक छ ।

यो आर्थिक वर्ष १४ करोड ७१ लाख ६७ हजार रुपैयाँ उठेको कोषको आम्दानी विवरणमा उल्लेख छ । वैद्यका अनुसार शिवरात्रिको दिन २० लाख भक्त आए भनेर कार्यकारी निर्देशकले सार्वजनिक कार्यक्रममा बोलेका थिए । त्यसअनुसार प्रत्येक भक्तले १ रुपैयाँ चढाए २० लाख हुनुपर्थ्यो । शिवरात्रिको आम्दानीमा १२ लाख मात्र देखाइएको छ ।

कोभिड महामारीले पटकपटक पशुपतिनाथ मन्दिर बन्द भयो । आर्थिक वर्ष २०७७/७८ मा ३ करोड २१ लाख ८६ हजार रुपैयाँ उठेको थियो । यो वर्ष भने १४ करोड ७१ लख ६७ हजार रुपैयाँ उठेको छ । मन्दिर बन्द भएको अघिल्लो वर्ष ११ करोड ९९ लाख २९ हजार रुपैयाँ संकलन भएको थियो । ‘भेटी बढी राखेको छ,’ कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले भने, ‘भेटी राम्रोसँग व्यवस्थापन गर्ने हो भने अझ बढ्छ ।’

पशुपतिनाथमा चढाइएका नगद र जिन्सीमध्ये अहिले नगदको मात्र व्यवस्थापन भएको छ । सुनचादी जवाहरतलगायतका गहनाका भने व्यवस्थापन गरिएको छैन । नगद त्यही दिन गनेर बैंकमा राखिन्छ । जिन्सी भने पोको पारेर राखिएको छ । ठूला रकम गनिए पनि साना रकम भने बोरामा पोको पारेर राखिएको छ । कोषका एक पदाधिकारीका अनुसार ६ बोरा पैसा कुहिएको अवस्था छ । पाँच सय/हजारका नोट गनिए पनि साना रकम भने बोरामा पोको पारेर राखिएको छ ।

पशुपतिनाथमा चढेका नगद र जिन्सी पशुपतिनाथको ढुकुटीमा व्यवस्थापन गर्नुपर्ने परम्परा छ । सुनचाँदी मन्दिर माथि रहेको मुख्य ढुकुटीमा दाखिला गरिन्छ भने मूल्यवान, कपडा, भाँडावर्तन जस्ता सामान भने बम्बई ढुकुटीमा दाखिला गर्ने परम्परा थियो । तर कोषले बम्बई ढुकुटी भत्काइसकेको छ । नियमावली लागू हुनुअघि सरकारले दैनिक दिने भेटी वर्षभरि संकलन गरिन्थ्यो । त्यसबाट सुन किनेर यही ढुकुटीमा दाखिला गरिन्थ्यो । भक्तजनले चढाएका भेटी, जिन्सी र नैवेद भने भट्ट र भण्डारीले लिने गर्थे । पालोवाला भण्डारीले हरेक महिना नगद र जिन्सीको हिसाब बुझाउनुपर्ने परम्परा थियो । लेखक कुलचन्द्र कोइरालाको पुस्तक आराध्यदेव श्रीपशुपतिनाथमा उल्लेख भएअनुसार विसं १९९० मा मूल भट्ट दामोदर भट्टका पालामा नगद साविकअनुसार बाँडेर खानू र जिन्सी ढुकुटीमा दाखिला गर्नु भनेर लेखिएको सनदपत्र भेटिएको छ । कुन समयको कसरी बाँड्ने भनेर पनि सनदपत्रमा उल्लेख गरिएको छ । बिहानदेखि भट्ट मन्दिरमा प्रवेश नगरुन्जेलको भेटी भण्डारीले पाउने उल्लेख छ । तर बिहानै चढाइएको भए पनि जलहरीमा चढाइएको भने भट्टले नै पाउने उल्लेख छ ।

पशुपतिमा श्रीअयुतचण्डी महायज्ञ

पशुपतिनाथ परिसरमा विराट् श्रीअयुतचण्डी महायज्ञ एवं श्रीमहागणपति महायज्ञ सुरु भएको छ । त्यसनिम्ति गत फागुन २७ गते पशुपतिनाथ वनकाली क्षेत्रमा भूमिपूजन एवं संकल्प सुरु भएको आइतबार जारी विज्ञप्ति उल्लेख छ । आगामी वैशाख १० बाट २५ गतेसम्म महायज्ञको मूल कार्यक्रम हुनेछ । ‘अनन्त श्री महामण्डलेश्वर स्वामी श्री प्रखरजी महाराजजीको सान्निध्यतामा र मारबाडी सेवा समिति नेपालको तत्त्वावधानमा नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो,’ महायज्ञ आयोजक समितिले विज्ञप्तिमा भनेको छ ।

प्रकाशित : चैत्र १३, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

दृष्टिविहीनको मेसिन किन्ने रहर

केदार शिवाकोटी

दोलखा — उमेरले ३३ वर्ष लागेका कृष्ण माझी र उनी बहिनी पार्वती जन्मजात दृष्टिविहीन हुन् । छामेर अनुमानकै भरमा उनी धमाधम माछा मार्ने लहरे पासो/जाल बुन्छन् । उनीहरूको दिनचर्या छिमेकीका लागि माछा मार्ने पासो बुनेर बित्छ ।

दिनभरि पासो बनाइदिएबापत डेढ दुई सय ज्याला पनि लिन्छन् । ४० धुरी बस्ती रहेको कालिञ्चोक गाउँपालिका–८ मलेपुका माझी समुदाय अधिकांशको रोजगारी तामाकोशी नदीमा माछा मार्नु हो । तर, अचेल माथिल्लो क्षेत्रमा भएका जलविद्युत् आयोजनाको बाँधस्थलबाट छोडिने पानीले तामाकोशीको बहाव घटबढ भइरहन्छ । जसका कारण कोशीमा माछा मार्न डराइडराइ जाने गरेको माझीहरू बताउँछन् । विगतमा धेरैको माछा मार्ने पासो बनाउने काम दिने गरेको कृष्णले बताए ।

‘तामाकोशीमा जतिबेला पनि बाढी आउने भयो भन्छन्,’ उनले भने, ‘माछा मार्न जानेहरू पनि जान छाडेकाले कहिलेकाहीं कसैले काम दिए मात्र गर्छौं ।’ दाजुबहिनी दुवै जनाले सिन्के धुप बनाउने सीप सिकेका छन् । तर व्यवहारमा भने उनीहरूले धुप बनाउन पाएका छैनन् । ‘दृष्टीविहीनका लागि भनेर दिएको सीप त सिक्यौं,’ उनले भने, ‘तर धुप बनाउने मेसिन किन्न नसकेका त्यत्तिकै बसेका छौं ।’

परिवारमा आमा, बुवा र एक भाइ गरी पाँच जना छन् । घरको आर्थिक अवस्थाका कमजोर छ । कृष्ण र पार्वती जन्मजातै दृष्टीविहीन हुन् । दृष्टीविहीन भएकोमा खासै गुनासो छैन । तर आफूले सिकेको सीपले जीवन धान्ने उनीहरूको इच्छा भने पूरा हुन नसकेकोमा खिन्न छन् । माछाको पासो बुनेको रकम जोहो गरेर भए पनि धुप बनाउने मेसिन किन्ने धोको पालेको बताए । तर सोचेजस्तो छैन ।

‘आँखा देख्दैनौं भगवानले यस्तै बनाए,’ गरिखानका निम्ति मेसिन जुटाउन नसकेको उल्लेख गर्दै पार्वतीले भनिन्, ‘कतैबाट धुप बनाउने मेसिन किन्न सहयोग पाए धुप बेचेर भए पनि ऋण तिर्थ्यौं ।’ बस्तीमा कोही नयाँ मान्छे आएमा आफूहरूले सिकेको सबै सीपको बेलिबिस्तार लगाउँछन् ।

माझी बस्तीमा विकासका पूर्वाधार छैनन् । सडक सञ्जाल माथिल्लो क्षेत्रबाट जोडिएपछि यो बस्ती अभेव बनेको छ । मेलुपका माछा भनेपछि जिल्लाभर नै चर्चित भएको ६९ वर्षीय ढालबहादुर माझी बताउँछन् । ‘मलेपुका माझीको मुख्य आम्दानीको स्रोत भनेको माछा मारेर बेच्ने थियो,’ उनले भने, ‘कोशीमा खुलेका क्रसर र जलविद्युत्ले माछा मार्ने संकटमा पर्‍यो ।’

प्रकाशित : चैत्र १३, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×