सूर्यविनायक-धुलिखेल ६ लेन विस्तार सुरु

लिला श्रेष्ठ

काठमाडौँ — अरनिको राजमार्ग सडकखण्डअन्तर्गत भक्तपुर सूर्यविनायकदेखि काभ्रेपलाञ्चोक धुलिखेलसम्मको १५.८ किलोमिटर सडक विस्तारको काम सुरु भएको छ । ‘सूर्यविनायक–धुलिखेल, धुलिखेल– सिन्धुली–बर्दिबास सडक आयोजना’ का अनुसार सूर्यविनायकदेखि धुलिखेलसम्म दुई खण्डमा विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको छ ।


सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै सम्झौता भएको छ । जसअन्तर्गत, पहिलो खण्डमा साँगादेखि धुलिखेलसम्मको ८.३ किलोमिटर सडक विस्तारको जिम्मा लामा कन्स्ट्रसन कम्पनीले पाएको छ । उक्त सडक खण्डको विस्तारका लागि २०२२ डिसेम्बर १३ मा सम्झौता भएको हो । सडक विस्तार ३ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजनाकी सूचना अधिकारी इन्जिनियर राधिका प्रजापतिले बताइन् । साँगा–धुलिखेलसम्मको सडक ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ लागत छ ।

त्यस्तै, सूर्यविनायक–धुलिखेल सडक विस्तारको दोस्रो खण्डअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक विस्तारको जिम्मा आशिषकुमार श्रेष्ठ, बन्दन भगवती जेभीले पाएको छ । उक्त सडकखण्ड सडक विस्तारका लागि सन् २०२३ जनवरी ८ मा सम्झौता भएको हो भने सम्झौता भएको मितिले ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । सूर्यविनवायक–साँगासम्मको सडक विस्तारका लागि भ्याटसहित ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको आयोजनाले जनाएको छ ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत कोटेश्वर–सूर्यविनायक सडकखण्ड ६ लेन सडक विस्तार भएपछि पूर्वी भेगतर्फको सवारी चाप बढ्दो छ । सूर्यविनायक ६ लेन सकिनेबित्तिकै जाम सुरु हुन्छ । सोही सवारी जामको समस्या समाधानका लागि आयोजनाले सडक विस्तारको काम थालेको हो । सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ ।

यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा केही परिवर्तन हुँदा थप पुल निर्माण गर्न आवश्यक पर्ने भएकाले बजेट बढ्ने देखिएको छ । आयोजना प्रमुख रवीन्द्र दासका अनुसार सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत संकलन सुरु गरिएको र सडकको बीचबाट दायाँबायाँ २५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार वटा नगरलाई सहयोगका लागि पत्राचार गरिएको छ ।

सूर्यविनायक–धुलिखेल सडकखण्डमध्ये बनेपा नगरपालिकाको साँगादेखि बनेपा बजारनजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात्, २२.८६ मिटर कायम हुनेछ । सूर्यविनायक–साँगा सडकखण्डभित्र पर्ने मापदण्डभित्रको संरचना सूर्यविनायक नगरपालिका–८ का वाग्मती प्रदेशसभा सदस्य किरण थापाको नेतृत्वमा ट्र्याक खुलाएको छ । उक्त सडक खण्डमा ४ लेन मुख्य सडक र दुई लेन फुटपाथसहितको सर्भिस ट्र्याक निर्माणको लक्ष्य आयोजनाको छ ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

विकृतिविरुद्ध लड्ने किशोरीहरू

डीबी बुढा

जुम्ला — माघमा हिमा–३ मोफ्लाका किशोरीले बालविवाह रोके । बिहेको तयारीमा लागेको परिवारले विवाह रोकेको भन्दै उनीहरूलाई जलाइदिने धम्की दिए । तर त्यो धम्कीले किशोरीहरू डगमगाएनन् ।

बरु झनै स्पात भएर लागिरहे । अहिले बालविवाह गरेका जोडीलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाउने तयारी थालेका छन् ।

‘विवाह गर्न हुन्न भन्ने होइन,’ किशोरी जेनिशा रोकायाले भनिन्, ‘उमेर पुगेपछि विवाह गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यो माग सम्बोधनका लागि गाउँमा हामीहरू जुटेका छौं ।’ गाउँमा विवाह हुन लागेका बालकको उमेर १८ वर्ष थियो, किशोरी १४ वर्षकी थिइन् । २० वर्षपारि सहजै रूपमा विवाह गर्न पाइन्छ । तर उमेर नपुगी कोही कसैले विवाह गर्न र गराउन पाउँदैन । ‘बालविवाह, छुई प्रथा जस्ता हानिकारक अभ्यास रोक्न हामी सक्रिय छौं,’ जेनिशाले भनिन्, ‘परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ भन्ने चेतना दिलाउन चाहन्छौं । त्यही भएर जोखिम मोलेर भएर पनि बालविवाह रोकिरहेका छौं, महिनावारी भएका महिलालाई घरको सुरक्षित कोठामा बस्न भनिरहेका छौं ।’

यी किशोरी दिउँसो विद्यालय शिक्षा आर्जन गर्ने र बिहान, बेलुका समाजको विकृतिहरूको सूक्ष्म अध्ययन गरिरहेका छन् । पहिले सामाजिक विषयमा सवाल उठाउँदा नपत्याउने भद्रभलादमी उनीहरूको कामप्रति साथ दिन थालेका छन् । गाउँमा देखिएका बेथिति रोक्न किशोरी सक्रिय भएपछि स्थानीयहरू पनि उनीहरूप्रति निकै भरोसा राख्न थालेका छन् । उनीहरू गाउँमा भइरहने बालविवाह, छाउपडी प्रथा, बहुविवाह, जारी प्रथा, मदिरा सेवन तथा बेचबिखनदेखि लागूऔषध दुर्व्यसनी जस्ता क्रियाकलाप रोक्न एकजुट भएर अघि बढ्न थालेका छन् । अर्की किशोरी नवीना रोकायाले अन्धविश्वासले थिलथिलो बनेको समाजलाई सुधार्न लागेको बताइन् । ‘सानै उमेरमा विवाह गर्दा पुरुषले अर्की श्रीमती लिएर भाग्ने, एक महिलाले अर्को महिलालाई दमन गर्ने, छाउपडी हुँदा गोठमै सुताउनेदेखि पोषिलो खानेकुरा नदिने जस्ता काम अहिले पनि भइराखेका छन्,’ उनले भनिन्, ‘यी समस्या निर्मूल गर्न काँधमा काँध र हातमा हात मिलाएर अघि बढेका छौं ।’

छुई हुँदा गोठमा बस्दा महिलाहरू स्वास्थ्य समस्यामा परेका छन् । ‘हरेक हिसाबले हाम्रो समाज र समाजमा बस्ने दिदीबहिनी सुरक्षित हुन् भन्ने हाम्रो चिन्ता हो,’ उनले भनिन्, ‘मुख्यतः छुई भएको समयमा घरमा बसाल्दा देवता लाग्छ भन्ने भ्रम चिर्नुछ । हामी परिवर्तन भएर अरूलाई देखाउनुछ ।’ २० वर्षपछि आफ्नो खुट्टामा उभिएर बुबाआमा पाल्ने हिम्मत राख्ने किशोरीहरू समाजमा छन् । ‘कम उमेरमा विवाह गर्दा परिवारको माया पाइँदैन,’ सिर्जना रोकायाले भनिन्, ‘हामी आफू पनि बिग्रँदैनौं । अरूलाई पनि बिग्रन दिँदैनौं ।’

किशोरीहरू यसका लागि पटक पटक अन्तरपुस्ता संवाद गर्छन् । उनीहरू बाजेबज्यै, बाआमा र छोरी, नातिनीहरूको पुस्ता एकै ठाउँमा भेला गराएर हानिकारक अभ्यासका विषयमा छलफल चलाउँदै आएका छन् । उनीहरू किशोरी कक्षा सञ्चालन गरेर बालविवाह, बहुविवाह, छाउपडी प्रथा, हिंसाजन्य घटनाका बारेमा अध्ययनसमेत गर्छन् । गैरसरकारी संस्थाले पनि सामाजिक कुरीतिका विषयमा कक्षा सञ्चालन गरेका छन् । उनीहरूले कानुनी सजायबारे पनि सचेत गराउँदै आएका छन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×