महानगरले भाडामा लियो काठमाडौं प्लाजा, अब एकै ठाउँबाट सेवा प्रवाह गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले महानगरका सबै सेवालाई एकै ठाउँमा केन्द्रीत गर्ने गरी कार्यालय व्यवस्थापन गर्न काठमाडौं प्लाजा भाडामा लिएको छ । महानगरपालिका र नेपाल ट्रस्टबीच दस वर्षका लागि बहाल सम्झौता भएको छ । नेपाल ट्रस्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब महानगरपालिकाले काठमाडौं प्लाजाबाटै सबै सेवा प्रवाह गर्ने भएको छ । महानगरले ट्रस्टलाई मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरी भाडामा लिएको हो । सात तलाको भवनमा एक लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा जम्मा १ लाख १९ हजार वर्गफिट क्षेत्र महानगरले प्रयोग गर्नेछ । यो सम्झौता १० बर्षका लागि हो भने पाँचपछि १० प्रतिशतले बहालवृद्धि हुनेछ ।

भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ । सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित विग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ भने झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले वहाल रकमबाट कटाउनेछ । यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ । बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन ।

२०७२ को भुकम्पअघि महानगरपालिका कार्यालय रहेको बागदरबार भत्किएपछि महानगरले एकीकृत सेवालाई व्यवस्थापन गर्न सकेको छैन । हाल महानगरपालिकाका प्रमुख, उपप्रमुखको कार्यकक्षसहित विभिन्न विभागहरू छरिएर रहेका छन् । जसकारण सेवाग्राहीलाई एउटै सेवा लिनकालागि समेत चारतिर पुग्नुपर्ने अवस्था छ ।

भूकम्पको कम्पनले भवन जीणर् भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो । त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक-फरक ठाउँमा राखिएका छन् ।

अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन् । यस कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई रहेका छन् ।

त्यस्तै, साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन बिज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाई छन् ।

टेकुमा उद्यान तथा हरियाली प्रबर्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् ।

सहकारी विभाग विजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ भने जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाईलगायत कार्यालय छन् ।

हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अब छरिएर रहेका महानगरपालिकाका कार्यालयहरूलाई एकै ठाउँमा व्यवस्थित गरिने बताए ।

उनले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभागलाई तत्काल स्थानान्तरण गर्न निर्देशन दिएका छन् । ‘अब क्रमशः हाम्रा कार्यालयहरू यहाँ स्थानान्तरण गर्छौ, सेवा अवरोध नहुने गरी स्थानान्तरण गर्ने काम सुरू भइसकेको छ,’ उनले भने ।

प्रकाशित : चैत्र ९, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेटर प्रतिशलाई झिमरुक गाउँपालिकाले दियो एक लाख नगद र सम्मान

शमशेरविक्रम जीसी

प्यूठान — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य प्रतिश जिसीलाई गृह जिल्ला प्यूठानमा सम्मान गरिएको छ । बिहीबार प्यूठानको झिमरुक गाउँपालिकाले नगदसहित जिसीलाई सम्मान गरेको हो ।

विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलमा छनोट भएको अवसरमा जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

प्यूठान जिल्लाबाट पहिलो पटक राष्ट्रिय टिमका सदस्य बनेका जिसीलाई थप प्रगतिको कामनासहित गाउँपालिकाले सम्मान गरेको हो ।


यसैबीच, नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य प्रतिश जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नगद ५० हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेका छन् । साथै पोख्रेल फाउन्डेसनले समेत जिसीको खेलको सम्मान गर्दै ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७९ ११:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×