तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

रासस

काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ तिलगंगामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट सख्ता घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।

यसैबीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे१ख ३५३१ नंको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित : चैत्र ४, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्

तिलोत्तमा गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम-११ ले जित दर्ता गरेको छ । योसFगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको खेलमा उसले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।

सुदूरपश्चिमका लागि जर्सी नम्बर–११ का फागुराम थारुको २ गोल निर्णायक बन्यो । त्यस्तै, टिमलाई जिताउन जर्सी नम्बर–१९ का स्वम्य हार्दिकले गोल गरेका हुन् । सुदूरपश्चिम खेलको सुरुआतदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको थियो । उसका लागि खेलको ३१ औं मिनेटमा पहिलो फ्रि किकमार्फत फागुराम थारुले गरेको गोलले खेलाडीमा मनोबल बढेको टिम कोच अनिल कठायतले बताए । उनले टिममा जुनियर खेलाडीलाई ल्याएको भए पनि उनीहरुको प्रदर्शन राम्रो भएकाले खेल जितेको बताए ।

दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका स्वम्य हार्दिकले जाली चुमाए । खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गरेका थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप १ गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्‍याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयबापत छुट्याइएको २ मिनेटको थप खेलमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७का फोडे फोफोनाले गोल गरेका हुन् ।

रुपन्देही-११ मा जुनियर तथा स्थानीय खेलाडीलाई अवसर दिँदा खेलमा हार भए पनि पहिलो प्रयासमा राम्रो खेल खेलेको टिम म्यानेजर मुकेश कुँवरले बताए । टिममा सिनियर खेलाडीको कमी हुनु र पहिलो हाफमा विपक्षी टिमबाट भएको गोलले खेलाडीमा त्रास उत्पन्न गर्दा मनोबल खस्केको हुनसक्ने उनले बताए । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ द म्याच घोषित भए ।

आइतबार हिमालयन शेर्पा र थ्री सटारकाबीच खेल हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ/एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×