नक्कली नोट कारोबारी दुई पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नोट कारोबारी दुई पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — जाली नोटको कारोबारको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नेपाली खोटा (जाली/नक्कली) मुद्रा चलनचल्तीमा ल्याउन लागेको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका–८ घर भई काठमाडौं मालकबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका–७ घर भई सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् ।

उनीहरुलाई बुधबार साँझ कालोपुलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए । उनीहरुको साथबाट प्रहरीले खोटा (नक्कली) जस्तो देखिने १ हजार रुपैयाँ दरको नेपाली नोट ६३६ थान (६ लाख ३६ हजार रुपैयाँ) र नोटको साईजमा काटेको कागजको बण्डल ९ थान बरामद गरेको छ ।

उनीहरुलाई मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको एसपी राठौरले जानकारी दिए ।


प्रकाशित : चैत्र २, २०७९ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्

सभामुख घिमिरे स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघको १४६औँ महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । 

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मिडिया कक्षमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'महासभाको उद्घाटनको अर्को दिन मैले नेपालका तर्फबाट सम्बोधन गर्ने क्रममा हाम्रो देशको संसद्को भूमिका, संघीय संसद्को दोस्रो निर्वाचनपछि गर्ने काम र संविधानलगायतका बारेमा आफ्ना कुरा राखेँ ।'

फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा आयोजना भएको उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज : फाइटिङ इनटलरेन्स’ विषयमा जनरल डिबेटमा संघीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिएको थियो ।

महासभामा सभामुख घिमिरेले अस्ट्रेलिया र अजरबैजानका सभामुखसँग शिष्टाचार भेट गरेका थिए । उनले बहराइनमा रहेका नेपाली कामदारसँग पनि भेटघाट गरेका थिए ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, संघीय संसद्का महासचिव भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे थिए ।

महासभाको १४७औँ सभा अफ्रिकाको अंगोलाको लुवाण्डामा सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रकाशित : चैत्र २, २०७९ २१:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×