बौद्धमा ‘ग्रिन एण्ड क्लिन’ अभियान


काठमाडौँ — विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ र तीनचुलीदेखि पासाङ ल्हामू चोकसम्मको क्षेत्रमा नियमित सरसफाइ गर्ने तथा पर्यटकीय आवागमनमा ट्राफिक सहजीकरण गर्ने लक्ष्यसहित ग्रिन एण्ड क्लिन टिम, नेपाल गठन भएको छ ।

गत जनवरीबाट सुरु भएर यो वर्षभर सरसफाइ अभियान संचालन गर्ने भन्दै थालिएको टिममा व्यवस्थापक पुनम वाइवाकाअनुसार स्थानीय युवा समूहको तत्परता र सिमित स्रोतसाधनको उपयोगले जनचेतनासहितको काम सुरु भइसकेको छ ।
‘दैनिक १२ जनाको स्वीपर टोलीले स्थानीय बौद्धनाथ र आसपासको क्षेत्रमा सरसफाइ गर्न थालिएको छ, यो अभियानमा बौद्धनाथ क्षेत्र विकास समिति र स्थानीय सरोकारको महानगरको वडा नम्बर ६ ले पनि सहयोग गर्ने भएको छ ।’
स्थानीय पासाङ गेल्जेन लामाले जुटाएको आर्थिक सहयोग र संयोजनमा तत्कालको सरसफाइ काम सुचारु रहेको वाइवाले बताए ।
बौद्धनिवासी फिल्ममेकर छिरिङरितार शेर्पा, पूर्व राजदूत रमेशप्रसाद खनाल, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहितको सल्लाहकार समिति पनि जनचेतना अभियानमा अग्रसर रहेको उनले बताइन् । निजी क्षेत्रको बौद्ध सरसफाइ प्रालिले पनि नियमित रुपमा फोहोर संकलन गरी सफाइ अभियानमा साथ दिने प्रतिबद्धता जनाएको छ ।
ग्रिन एण्ड क्लिन टिमको कामबारे जानकारी पाएपछि अनुगमनमा काठमाडौं महानगरका मेयर बालेन शाह पनि बौद्धक्षेत्र पुगेका थिए । उनले सरसफाइ अभियानमा सहायता पुर्याउन महानगरले स्रोतसाधन जुटाउन मद्दत गर्ने बताए । मेयर शाहले यो क्षेत्रमा बनेका अनाधिकृत टहरा हटाउन र खुला तथा व्यवस्थित पैदल मार्ग संचालनमा सहयोगको प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित : फाल्गुन २९, २०७९ १८:२७