४२ फिटको ढुंगामा बुद्धमूर्ति बनाइने- उपत्यका - कान्तिपुर समाचार

४२ फिटको ढुंगामा बुद्धमूर्ति बनाइने

योजना पूरा भए नेपालको सबैभन्दा अग्लो तथा एउटै ढुंगाबाट बनेको पहिलो बुद्धमूर्ति हुने दाबी
सुशीला तामा‌ङ

काठमाडौँ — नागार्जुन नगरपालिकामा ४२ फिट लामो एउटै ढुंगाबाट मैत्रेय बुद्ध निर्माण गरिने भएको छ । वडा ७ को गोदामथोकस्थित गुरुङ डाँडाको करिब ४ रोपनी क्षेत्रफलभित्र मूर्ति स्थापना गर्ने गुरुयोजना छ । योजनाअनुसार काम सम्पन्न भए नेपालको सबैभन्दा अग्लो तथा एउटै पत्थरबाट बनेको पहिलो बुद्धमूर्ति हुने नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका अध्यक्ष तथा दृष्टिविहीन वैज्ञानिक रमेशप्रसाद दाहालले बताए ।

झाँक्रीबास सामुदायिक वनमा रहेको चार कुना मिलाएर काटिएको ४२ फिट लम्बाइ, ४४ इन्च चौडाइ र ३० इन्च मोटाइ रहेको ढुंगाको वजन ९० टन रहेको अनुमान गरिएको छ । गोदामथोककै स्थानीय दाहालले अनुसन्धान गर्ने क्रममा बुद्धमूर्ति बनाउने अवधारणा बनाएका थिए । त्यहीअनुसार स्थानीय, वडा तथा नगरपालिकाले सहमति जनाएपछि झन्डै डेढ वर्षअघि नै कार्ययोजना अगाडि बढेको उनले बताए । ‘पत्थरबाट मैत्रेय बुद्धमूर्ति निर्माणको जिम्मेवारी नाल्जोर्मा आर्ट्सका प्रोपाइटर तथा मूर्तिकार रवि शाक्यलाई दिइएको छ,’ उनले भने, ‘ढुंगा तल खोँचमा रहेकाले माथि ल्याउन मात्र ४०/५० लाख रुपैयाँ लाग्ने अनुमान छ । स्थानीय, वडा र नगरपालिका सकारात्मक देखिए पनि आर्थिक स्रोत जुटाउन कठिनै भएको छ ।’

मूर्ति निर्माण र स्थापना कार्यका लागि मात्र शाक्यसँग १ करोड ५७ लाख १७ हजार रुपैयाँ लागतमा सम्झौता गरिएको दाहालले बताए । मूर्ति वरिपरि पानीको फोहोरासहितको पोखरी, बगैंचा, पुस्तकालय, साहित्यकार तथा कलाकारका लागि ध्यान केन्द्रको डिजाइन तयार गरिने परियोजना दाहालको छ । मूर्ति स्थापना गर्ने डाँडामा प्रशस्त हावा चल्ने भएकाले पानी पम्प गर्न चाहिने उपकरण जडान गर्ने योजनासमेत प्रस्तावनामा समावेश छ । प्रथम चरणमा ढुंगालाई डाँडामा पुर्‍याउनकै लागि आर्थिक स्रोत जुटाउनु पहिलो प्राथमिकता रहेको दाहालले सुनाए । यसकै निम्ति अहिले उनी सैनिक मुख्यालयदेखि पर्यटन तथा रक्षा मन्त्रालयमा दौडधुपमा छन् ।


बुद्ध जन्मेको देशमा मूर्ति निर्माण कार्य राष्ट्रिय गौरवका रूपमा मात्र नभई नागार्जनु क्षेत्रकै लागि ऐतिहासिक रहेकाले स्थानीय परियोजनाप्रति निकै हर्षित छन् । ‘बुद्ध निर्माणपछि गोदामथोकको ऐतिहासिक स्थलका रूपमा ख्याति बढ्नाले पर्यटन वृद्धिले हाम्रो पनि जीवनस्तर माथि उठ्न सक्छ । हामी त खुसी छौं,’ स्थानीय उमेश पौडेलले भने । उनका अनुसार उक्त ढुंगालाई हालको आकारमा ल्याउन राणाकालीन समयमा दरबारबाट घोडामा मानिसहरू आवातजावत गर्थे । पछि उनीहरूले ढुंगालाई त्यतिकै अवस्थामा छोडे । त्यसपछि वर्षौंसम्म ढुंगाको झन्डै आधाजस्तो भाग माटो र झारपातले पुरिएको थियो । गोथामथोक मल्लकालीन समयमा मूर्ति, मन्दिर र दरबार निर्माणका लागि ढुंगा उत्खनन गर्ने स्थलका रूपमा चिनिने यहाँका बुढापाका बताउँछन् ।


आर्थिक स्रोत जुटे १० महिनामा मूर्ति निर्माण र २० महिनामा सम्पूर्ण कार्य योजना पूरा गर्ने दाहालको लक्ष्य छ । ठूलो लागतको योजना भएकाले वडा र नगरपालिकाले समेत तत्काल आर्थिक स्रोत जुटाउन नसकेको वडा नम्बर–७ का अध्यक्ष शैलेन्द्र लामाले बताए । ‘नगरपालिकाबाट मूर्ति निर्माणमा ५ लाख रुपैयाँ सहयोगका लागि प्रतिबद्धता जाहेर गरेको छ ।’ उनले भने ।

प्रकाशित : माघ २०, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय आवश्यकता हेरेर योजना बनाउन आग्रह

कान्तिपुर संवाददाता

गोरखा — स्थानीय आवश्यकतालाई मध्यनजर गरेर योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न जनप्रतिनिधिले संघ र प्रदेश सरकारलाई आग्रह गरेका छन् । बिहीबारको जिल्लासभामा जन प्रतिनिधिले स्थानीय तहको अपनत्व नहुने, स्रोतसाधन खेर जाने र दोहोरो, तेहोरोपना हुने जोखिम बढेको बताए ।

संघ र प्रदेश सरकारबाट सञ्चालन हुने योजना तथा कार्यक्रम स्थानीय तहको, प्रादेशिक र राष्ट्रिय आवश्यकताको सामञ्जस्यता हुने गरी सञ्चालन गर्दा परिणाममुखी र दिगोपना कायम हुने सभामा सहभागीले जोड दिए ।

संघ र प्रदेश सरकारका योजना तथा कार्यक्रम राष्ट्रिय योजना आयोगको मापदण्डबमोजिम १० लाख रुपैयाँभन्दा बढीको बनाउन पनि जिल्लासभाबाट निर्णय गराएर माग गरिएको छ । टुक्रे र खुद्रा योजनाले दिगो विकास सम्भव नभएको उनीहरूको ठहर छ । स्थानीय तहले पालिकास्तरीय गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्दा दिगो र सन्तुलित विकास हुने जनाएको छ । स्थानीय तहले गुरुयोजना निर्माण नगरी सडक विस्तार एवं निर्माण गर्दा वातावरणमा प्रतिकूल असर परेको विषयमा पनि छलफल भएको थियो । विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको सडक विस्तार एवं निर्माण गर्दा दिगोपना, नतिजामुखी एवं वातावरणमा सकारात्मक प्रभाव पर्ने गरेर गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्न सभामार्फत जोड गरिएको छ ।

विकास निर्माणसम्बन्धी गरिने कार्यमा गुणस्तरले ठूलो महत्त्व राख्ने भएकाले जिल्लास्तरीय गुणस्तर परीक्षण प्रयोगशाला निर्माणको आवश्यकता महसुस भएको पनि सहभागीले बताए । उक्त प्रयोगशाला निर्माणका लागि नेपाल सरकार र प्रदेश सरकारसँग सभाबाट निर्णय गराएर अनुरोध पनि भएको जिल्ला समन्वय अधिकारीका स्वकीय सचिव राजन आले मगरले बताए ।

त्यस्तै न्यायिक समितिको पदाधिकारी एवं सदस्य तथा जनशक्तिको क्षमता अभिवृद्धिमा पनि सभाले जोड गरेको छ । जिल्लासभा उद्घाटनमा राष्ट्रिय सभा सदस्य भुवन सुनारले जनताको दैनिकी वडा र पालिकासँग जोडिएकाले धेरै बजेट तल्लो तहमै विनियोजन हुनुपर्ने बताए ।

प्रकाशित : माघ २०, २०७९ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×