पत्रकारिता शिक्षामा सुधारको खाँचो- उपत्यका - कान्तिपुर समाचार

पत्रकारिता शिक्षामा सुधारको खाँचो

कान्तिपुर संवाददाता

काठमाडौँ — मिडिया सम्बद्ध विज्ञहरूले बदलिँदो परिस्थितिमा पत्रकारिता शिक्षामा सुधारको खाँचो औँल्याएका छन् । मदन भण्डारी मेमोरियल कलेज, पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

परम्परागत पत्रकारिताका सिद्धान्त र नीतिशास्त्रसँगै पत्रकारिताका विद्यार्थीहरूलाई समयानुकूल व्यवहारिक सीप प्रदान गर्नुपर्ने पनि उनीहरूको राय थियो । ‘ट्वेन्टी फर्स्ट सेन्चुरी मिडिया एजुकेसनः कनेक्टिङ क्लासरुम विथ् न्युजरुम’ शीर्षकमा भएको कार्यक्रमा मुख्य वक्ता एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितले नेपाली समाजलाई दिशानिर्देश गर्न पत्रकारहरूले फ्रन्टलाइनरको भूमिका खेलिरहेको बताए ।

पत्रकारहरूले पेशाकर्मीका रुपमा मात्र नभएर नागरिकका रुपमा समेत समाजमा भइरहेका गतिविधि खोज्ने, छाम्ने र पाठकसम्म पुर्‍याउने काम गरिरहेको तर वृहत्तर समाजबाट यसको उचित प्रशंसा नभएको बताए । दीक्षितले भने, 'पत्रकारिता पढाउने भनेको समाज पढाउने हो । तसर्थ, पत्रकारिता पढ्न चाहनेलाई लिबरल आर्ट्स पढाउनुपर्छ ।'

यस्तै पत्रकारिताका विद्यार्थीलाई इतिहास, भूगोल, अर्थशास्त्र र राजनीतिशास्त्र अनिवार्य पढाउनुपर्ने उनको तर्क थियो । यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता विभाग प्रमुख श्रीराम पौडेलले पत्रकारले गर्ने सामान्य कार्य अब प्रविधिले गर्न थालेको भन्दै सोअनुसार शिक्षण र सिकाइमा सुधार ल्याउनु पर्ने बताएका थिए ।

'सूचना र प्रविधिमा ठूलो परिवर्तन आइसक्यो तर त्यसलाई बुझ्ने र अबलम्बन गर्ने गरी संरचना बनाउन हामीले सकेका छैनौँ,' पौडेलले भने, 'पाठ्यक्रम विकासदेखि शिक्षण–सिकाइसम्ममा सुधार गर्नुपर्ने आवश्यकता छ ।'

यसैबीच, सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले विश्वविद्यालय तथा कलेजले विद्यार्थीलाई गहन बुझाइ र सीप दिन सक्नुपर्ने सुझाव दिएका थिए । साथै कक्षा कोठालाई समाचार कक्षका रुपमा परिवर्तन गर्नुपर्ने पनि उनको तर्क थियो । यस्तो विधिबाट उत्पादन भएका विद्यार्थीहरूले पत्रकारितामा योगदान दिनसक्ने ढकालको भनाइ थियो ।

मदन भण्डारी मेमोरियल कलेज पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख तथा पत्रकार रघु मैनाली, मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेल लगायत व्यक्तिले पनि अन्तरक्रियामा विचार व्यक्त गरेका थिए ।

प्रकाशित : माघ १९, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

२१ सयभन्दा तल ओर्लियो सेयर बजार, सबै उपसमूह घटे 

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक २०९४ अंकमा झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से २२.१२ अंकले घटेको हो । १९ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने ३ को स्थिर रहृयो । कुल २ अर्ब ९ करोडको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ३३ करोड बढी हो । बजारका सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ५, विकास बैंक ६५, फाइनान्स २८, होटल ५१, जलविद्युत् ५४, जीवन बीमा २३६, उत्पादन १२, माइक्रोफाइनान्स ४२, निर्जीवन बीमा १३३, अन्य १० र ब्यापार उपसमूह २८ अंक घटे । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशत धेरै घट्यो । कारोबार रकमका आधारमा स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया बैंक, आईएमई जनरल इन्स्योरेन्स, अपी पावर र चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।



प्रकाशित : माघ १९, २०७९ १५:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×