१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नक्कली रक्सी छ्यापछ्याप्ती !

काठमाडौँ — काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली रक्सी (मदिरा) उत्पादन गरी कालोबजारी भइरहेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नक्कली रक्सी उत्पादन गरी बेचेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

नक्कली रक्सी छ्यापछ्याप्ती !

पक्राउ पर्नेहरुमा दोलखा कालिञ्चोक गाउँपालिका–३ घरभई ललितपुरको कुपन्डोल बस्ने २७ वर्षीय निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका–९ घरभई काठमाडौं टोखा बस्ने २६ वर्षीया धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–२ घरभई ललितपुर टिकाथली बस्ने २६ वर्षीय गणेशबहादुर रानामगर छन् ।

उपत्यकामा स्वदेशी र विदेशी ब्रान्डका नक्कली तथा गुणस्तरहिन रक्सी उत्पादन गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयले ‘अप्रेशन लिमा–२’ सञ्चालन गरी प्रहरी खटाएको कार्यालय प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए । पक्राउ परेका उप्रेतीले कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेयर स्टोर’ सञ्चालन गर्दै आएका थिए । उक्त स्टोरमा शुक्रबार प्रहरीले छापा मारेर नक्कली रक्सी ‘खुकुरी रम’ बरामद गरेको छ ।

त्यसैगरी, अनुसन्धानकै क्रमममा प्रहरीले शनिबार ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ‘एस.टी लिक्वेयर स्टोर’ मा छापा हान्यो । उक्त स्टोर धर्मीले सञ्चालन गर्दै आएकी थिइन् । उनको लिक्वेयर स्टोरबाट प्रहरीले नक्कली खुकुरी रम, रूस्लान भोड्का रक्सी बरामद गरेको जनाएको छ ।

एसएसपी डा. केसीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित टहरा भाडामा लिइ विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली, मनोज खत्री, गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठ समेतले नक्कली रक्सी बनाएर कालोबजारी गर्ने गरेको खुलेको छ । भगवान बस्नेतलगायत ५ जना विरुद्ध २०७९ भदौ ८ मा नक्कली मदिरा उत्पादन तथा बिक्री वितरण गरेबापत ‘कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन’ अन्तर्गत कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उक्त कसुरमा बस्नेत असोज ४ गते एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए भने, अन्य चार जना ४०/४० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । उनीहरुले नै पुनः नक्कली रक्सी उत्पादन तथा बिक्रीवितरण थालेको पाइएको छ ।

नक्कली रक्सी उत्पादन गर्ने टहराबाट प्रहरीले गणेशबहादुरलाई पक्राउ गरेको हो । नक्कली रक्सी उत्पादनमा अन्यको समेत संलग्नता रहेको पाइएको र थप अनुसन्धान भईरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । ‘एकचोटिमा १० देखि १२ कार्टुनसम्म नक्कली रक्सी बनाएर बजारमा पठाइहाल्ने गरेको देखिन्छ,’ कोइरालाले भने, ‘एकै स्थानमा बसेर उत्पादन पनि नगर्ने देखियो । प्रहरीले पत्ता लगाएर कारबाहीमा परिएला भनेर स्थान पटक–पटक परिवर्तन समेत गरेको पाइएको छ ।’

उनीहरूले स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली रक्सीलाई बोतलमा केही मात्रा सक्कली रक्सी हालेर थप रसायन, रंग लगायत हालेर प्याकेजिङ गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यसरी प्याकेजिङ गर्नका लागि उनीहरूले बोलत होटल, रेष्टुरेन्टहरूबाट उठाउने गरेको पाइएको छ । ‘उपत्यकाको होटल, रेष्टुरेन्ट, क्लबहरूमा ठूलो मात्रामा रक्सीको व्यापार हुन्छ, त्यहाँबाट बोलतहरू उठाउने पनि छुट्टै व्यक्तिहरू छन्,’ एसपी कोइरालाले भने, ‘होटल, रेष्टुरेन्टको समन्वयमा प्रयोगमा आईसकेको रक्सीको बोटलको स्टिकरहरू पुनः प्रयोग गर्न मिल्ने गरी निकालेर नक्कली रक्सीको बोतलमा टाँसेर बिक्री गरेको पाइएको छ ।’

पुरानो बोतलको प्रयोग गर्दा आन्तरिक राजश्व विभागको स्टिकरहरू पनि पुरानै प्रयोग गरेको देखिन्छ । प्रहरीले गत भदौमा पनि नक्कली रक्सी बरामद गरेको थियो । उक्त नक्कली रक्सी पार्टी प्यालेस, लिक्वयर स्टोरलगायतमा प्रचलित बजार दरभाउ भन्दा कम मूल्यमा बेचबिखन गर्ने गरेको पाइएको छ । नक्कली रक्सी बिक्रीमा रक्सी पसल सञ्चालकको समेत मिलेमतो देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ६ वटा गोल्डेन ओक, ४८ वटा ८८४८ भोड्का, ४२० वटा मुग्लाङ, ३० वटा २०२० एप्पल, ९२ वटा खुकुरी रम र १३२ बोतल रूस्लान भोड्का बरामद गरेको छ । त्यसैगरी, प्रहरीले नक्कली मदिरा प्रयोग गर्न राखिएको स्वदेशी तथा विदेशी ब्राण्डका ९७२ वटा खाली बोतलहरू, नक्कली मदिरा बनाउन प्रयोग हुने विभिन्न रसायनिक पदार्थ, कच्चा पदार्थ तथा उपकरणहरु बरामद गरेको छ ।

उनीहरुविरुद्ध प्रहरी परिसर ललितपुरमार्फत जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कालाबजारी कसुर अन्तर्गत थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरेको छ । त्यस्तै, आन्तरिक राजश्व विभागको स्टीकर प्रयोगबारे अनुसन्धानका लागि विभागलाई पत्राचार गरेको समेत एसपी कोइरालाले बताए ।

प्रकाशित : माघ १६, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?