पाटन : खुला बौद्ध संग्रहालय- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन : खुला बौद्ध संग्रहालय

पाटनमा उपत्यकाका तीन सहर मध्ये सर्वाधिक विहार छन्, काठमाडौंमा १२१ र भक्तपुरमा २५ छन्, जबकि पाटनमा मात्रै १७१ छन्
हिमेश

काठमाडौँ — दुई वर्षजति अगाडि पाटन सहरमा सम्यक् पर्व मनाइएको थियो र यसले धेरैको ध्यान खिचेको थियो । प्रत्येक पाँच वर्षमा मनाइन्छ, यो पर्व । यो पर्व काठमाडौंमा पनि मनाइन्छ अनि भक्तपुरमा पनि । तर बढी चर्चा पाटनको सम्यक् पर्वकै हुन्छ, किनभने यो ठीक समयको अन्तरको ठीक अवसरमा हुने गर्छ ।

वंशावलीअनुसार यो पर्व पाटनमा मनाउन थालेको सात सय वर्ष भयो र यसको सिधा–सिधा सम्बन्ध पाटनको प्रसिद्ध हिरण्यवर्ण महाविहारसँग छ ।

यो पर्व खासमा दान र दिपंकर बुद्धसँग सम्बन्धित छ । यो पर्वको सबैभन्दा ठूलो विशेषता भन्नु नै विशाल दिपंकर बुद्धका प्रतिमा नागबहालयमा ल्याएर प्रदर्शन गर्नु हो । दिपंकर बुद्धको श्रद्धास्वरूप दान गर्नु नै सम्यक् पर्व हो । मानव बुद्धका रूपमा २८ जनाको नाम लिने परम्परा छ, त्यसमध्ये गौतम बुद्ध पछिल्ला भए । दिपंकर भने यो क्रमका चौथा बुद्ध भए । यो तथ्यले पनि सम्यक् पर्वको ऐतिहासिक अनुमान गर्न सकिन्छ र सँगै जीवन्त बौद्ध सहरका रूपमा पाटनको चर्चा पनि ।

बौद्ध दृष्टिकोणमा पाटन सहरको धाराप्रवाह बयान गर्न सक्नेमा पर्छन्, बुद्धिराज वज्राचार्य । उनी खुबै गर्व मानेर पाटनबारे चर्चा गर्ने गर्छन् । उनी मात्र होइन, उनको समयका पाटनमा बौद्ध धर्मावलम्बीदेखि लिएर अबका नयाँ पुस्तालाई पनि श्रेय दिन कन्जुस्याइँ गर्नु हुन्न, यो सहरलाई बौद्ध परम्पराअनुसार एउटा खुला संग्रहालयका रूपमा कायम राख्न । यही कारणले त हो, कोही पनि विदेशी अनुसन्धानकर्ताको पहिलो नजर यही सहरमा पर्नु, यदि बौद्ध दृष्टिकोणले अनुसन्धान गर्नुछ भने ।

फेरि उही हिरण्यवर्ण महाविहारकै चर्चा गर्ने हो भने त्यहाँ ६ देखि १२ वर्षको कलिलो उमेरका पुजारी राख्ने चलन पनि छ । त्यसलाई ‘बापाचा’ भनिन्छ । यसरी यति किशोर उमेरका लागि किन पुजारी बनाइयो भनेर त्यस सम्बन्ध निकै पुरानो कथा र परम्परा पाइन्छ । यसबारे समय–समयमा चर्चा पनि भइरहन्छ । तर एउटा तथ्य के निश्चित छ भने पाटनको यो जीवन्त बौद्ध परम्परालाई बुद्धिराजले जस्तै अगाडि बढाउने भनेका तिनै अहिलेका कलिला पुजारी त हुन् । विश्वास गर्न सकिन्छ, तिनले नै यो परम्परालाई कायम पनि राख्ने छन् ।

अशोकसँग जोडिएको सहर

बौद्ध धर्मको प्रचारप्रसारमा सबैभन्दा बढी भूमिका खेल्ने व्यक्ति हुन्, सम्राट अशोक । बौद्ध ग्रन्थअनुसार उनको राज्याभिषेक बुद्ध महारिनिर्वाणको २ सय १८ वर्षपछि भएको थियो । उनी आफ्नो राज्याभिषेकको २० औं वर्षमा बुद्ध जन्मभूमि लुम्बिनी पुगेका थिए । उनकै पहलमा तेस्रो बौद्ध संगायना भएको थियो । यो ९ महिनासम्म चलेको थियो । बौद्ध धर्मको इतिहासमा संगायना परम्पराको ठूलो महत्त्व छ । संगायना अर्थात् सम्मेलन ।

तेस्रो बौद्ध संगायनाको समाप्तिमा अशोकले यो धर्मको प्रचारप्रसारका लागि आफ्ना दूत चारैतर्फ पठाए । नेपालमा बौद्ध धर्मको प्रचारमा पनि अशोकको ठूलो महत्त्व छ । उनले संगायनाको समाप्तिमा हिमालय प्रदेशतिर मज्झिम स्थविरको नेतृत्वमा धर्म प्रचारका लागि दूत पठाएका थिए । त्यसमध्ये एक दूत काठमाडौं उपत्यका पनि पुगेका थिए र सम्भवतः उनको नाम काश्यप मानिन्छ । जे होस्, अशोकको समयमै काठमाडौं उपत्यकाका बौद्ध धर्मले प्रवेश पायो अथवा पाइसकेको थियो ।

अधिकांश बौद्धमार्गी पाटनवासीलाई अझै के विश्वास छ भने यो सहरको स्थापना गर्ने अरू कोही होइनन्, यिनै सम्राट अशोक हुन् । अझ विश्वास त के पनि छ भने अशोक आफैं काठमाडौं उपत्यका आएर पाटन सहर स्थापना गरे । अनि यसै क्रममा चार थुर पनि निर्माण गरे । यी थुर अशोक स्तूपको नामले प्रसिद्ध छन् । धेरै जस्तो नेपाली इतिहासकार यो विश्वासलाई पुष्टि गर्न ऐतिहासिक प्रमाण नभएको जिकिर गर्छन् । अनि ती थुरलाई अशोकले निर्माण गर्न लगाएको पनि मान्दैनन् ।

पुराना इतिहासकार भुवनलाल प्रधानले लेखे जस्तै बुद्धको समयमै काठमाडौं उपत्यकाका बासिन्दा उनले प्रतिपादन गरेको धर्मसँग परिचित भइसकेका थिए । अशोकका दूतले नै यहाँ बौद्ध धर्मको प्रचारप्रसार गरे । यहाँका जनता काश्यपको सम्पर्कमा आउनु स्वाभाविक पनि हो । अझ विश्वास त के पनि छ भने बुद्धका निजी सहायक भिक्षु आनन्द आफ्ना आफन्तलाई भेट्न काठमाडौं उपत्यकामा आएका थिए । उनका ती नातेदार पाटनतिरकै थिए ।

बुद्धकै समयमा उनको राज्यमा नरसंहार भएको थियो । उनका अधिकांश नातेदार विडुडभद्वारा मारिएका थिए । उनी कोशलका राजा प्रसेनजितका छोरा हुन् । उनको नरसंहारबाट बचेकाहरू कोही कता लागे, कोही कता । त्यसमध्ये केही त काठमाडौं उपत्यका पनि पुगे । तिनै नातेदारलाई भेट्न आनन्द यहाँसम्म आइपुगे । फेरि त्यति बेला उतैका व्यापारीहरूको पनि काठमाडौं उपत्यका आउने–जाने क्रम सुरु भइसकेको थियो, त्यसैले पाटन बुद्धकै समयमा बौद्ध धर्मसँग परिचित रहेको मानिन्छ ।

मल्ल समय आइपुग्दा यहाँका तीन राज्यमध्ये पाटनमा राजाले बौद्ध धर्मलाई बढी संरक्षण दिएको पनि पाइन्छ । त्यसमध्ये श्री निवास मल्ल, सिद्धिनरसिंह मल्ल, योगनरेन्द्र मल्ल तीन प्रसिद्ध राजा हुन्, जसले बौद्ध धर्मलाई जीवन्त राख्न राजकीय संरक्षण प्रदान गरे । अहिले आएर बौद्ध धर्मसम्बन्धी जानकारी लिन बुद्धिराज जति भरपर्दा स्रोत हुन्, कुनै समय यस्तै परम्परा आशाराम शाक्य, हेमराज शाक्य, सधर्मराज वज्राचार्य र रत्नबहादुर वज्राचार्यले चलाएका थिए ।

समृद्ध विहार परम्परा

पाटनमा बौद्ध परम्परा समृद्ध रहनु पछाडि त्यहाँको समृद्ध विहार परम्परा प्रमुख हो । बौद्ध धर्ममा अध्ययनको सबैभन्दा ठूलो स्थान विहारलाई मानिन्छ । खासमा बौद्ध धर्म भनेको त्यसअनुसार गरिने आचरण मात्र होइन, अध्ययन पनि हो । बौद्ध धर्ममा अध्ययनलाई अत्यावश्यक मानिन्छ र यो परम्परा अहिले होइन, बुद्धकै पालामा सुरु भइसकेको थियो । यही परम्पराले अन्ततः विश्वविद्यालयको सोच विकास भएको समेत मानिन्छ । त्यसैले त बौद्ध शिक्षणको इतिहासलाई विहारको इतिहासकै रूपमा चित्रण गरिन्छ ।


काठमाडौं उपत्यकाका तीन सहरमध्ये सबैभन्दा बढी विहार पाटनमै छन् । काठमाडौंमा १ सय २१ र भक्तपुरमा २५ विहार छन्, जबकि पाटनमा १ सय ७१ विहार छन् । ‘पाटन सहरमा बौद्ध परम्परा जीवन्त र बलियो रहनु पछाडि यहाँको समृद्ध विहार परम्परा मुख्य हो,’ ललितपुरकै लोट्स रिसर्च सेन्टरका सुरेन्द्र वज्राचार्य मान्छन् । ती विहारमा पहिले जत्तिको त होइन तर अझै पनि अध्ययन र अध्यापनको क्रम रोकिएको छैन, यो सुखद पक्ष हो ।

पाटनमा जति विहार छन्, त्यसमध्ये लगभग सबै व्यवस्थित ढंगले चलिरहेका छन् । यी विहारमा प्रत्येक वर्ष केही न केही कार्यक्रम भइरहेका हुन्छन् । जस्तो, वसुन्धारा पूजा, नामसंगति पर्व । प्रत्येक दिन नियमित धार्मिक क्रियाकलाप पनि उत्तिकै हुने गर्छन् । ‘जति पनि कार्यक्रम हुन्छ, यी चुस्त र दुरुस्त छन्,’ वज्राचार्य भन्छन् । पाटनका विहारमा १० आजुको परम्परा छ । त्यो भनेको उमेरको आधारमा शीर्ष १० को समूह । आजु परम्परामा उत्तिकै गर्व पनि पाइन्छ ।

यिनै आजुले नै धार्मिक क्रियाकलाप चलाइरहेको हुन्छ । उनीहरूलाई सहयोग गर्न युवा र क्रियाशीलको अर्को समूह पनि रहेको हुन्छ । जति पनि विहार छन्, तिनीहरूको काम हेर्न र बुझ्न अलगै छाता संगठन पनि रहेको छ । अचेल यही छाता संगठन बौद्ध विहार संघको प्रमुख हुनु पनि पाटनमा निकै प्रतिष्ठा र गौरवको उपलब्धि मानिन्छ । यही कारणले विहार र त्यसको वरिपरि रहनेको बौद्ध धर्मप्रति बलियो आस्था पनि रहने गरेको छ ।

यही कारणले गर्दा उपत्यकामा जति पनि बौद्ध धर्मसम्बन्धी कार्यक्रम हुन्छन्, ती अधिकांश पाटनमै हुने पनि गरेका छन् । काठमाडौंका बौद्ध धर्मावलम्बी पनि कार्यक्रमका लागि पाटन जाने गरेका छन् । फेरि पाटनमा काठमाडौंको तुलनामा बौद्ध धर्म जीवन्त रहनु पछाडिको एउटा ठोस कारण विहारको वरिपरि र नजिक रहेका घरजग्गा, त्यसको स्वामित्व रहेका बौद्धमार्गीले सकेसम्म नबेच्नु र बेच्नैपर्ने कारण आएमा बौद्ध धर्ममा आस्था भएकालाई मात्र बेच्नु पनि रहेको छ ।


बौद्ध धर्म अध्ययनको परम्परागत केन्द्र

प्राचीन समयदेखि नै नेपाल बौद्ध शिक्षाको एउटा प्रमुख केन्द्र रहेको पाइन्छ, विशेषतः काठमाडौं उपत्यका, त्यसमाथि पनि पाटन । जगदीशचन्द्र रेग्मीले लेखेका छन्– ‘पाटन बौद्ध धर्मको अध्ययनका लागि सुरुदेखि प्रमुख केन्द्र थियो र यसको ऐतिहासिक प्रमाण पनि छ ।’ उनले त्यसका लागि गुइत विहारको अभिलेखलाई बलियो प्रमाण मानेका छन् । त्यसमा नेपाल संवत् ३५० को समय उल्लेख छ । त्यस अभिलेखमा पाटनलाई बौद्ध धर्मका लागि प्रसिद्ध केन्द्र रहेको स्पष्ट भनिएको छ ।

भारतमा विदेशीको आक्रमणपछि त्यहाँ जति विश्वविद्यालय थिए, ती सबै ध्वस्त भए । त्यसक्रममा बचेका धेरै बौद्ध विद्वान् काठमाडौं उपत्यका आए, धेरै पाटनमै बसे । नालन्दा विश्वविद्यालयका अन्तिम गुरु वनरत्न पाटनमै आएर बसेका थिए । पछि गएर विशेषतः तिब्बतीका लागि बौद्ध धर्मको अध्ययनका लागि बेजोड स्थल भएको थियो, पाटन । कग्युपा सम्प्रदायका गुरु मार्पाले पाटनको गुणकरण महाविहारमा अध्ययन गरेका थिए ।

इस्वीको १२ औं शताब्दीको वरिपरि तथागत वज्र र कुलदत्तले पनि हिरण्यवर्ण महाविहारमा रहेर अध्ययन र अध्यापन गराए । कुलदत्तले लेखेको क्रिया संग्रह ग्रन्थकै आधारमा काठमाडौं उपत्यकामा परम्परागत बौद्ध पूजा गरिन्छ । अझ त्यस ग्रन्थकै आधारमा काठमाडौं उपत्यकामा जति पनि विहार छन्, ती सबैको निर्माण भएका हुन् । लुम्बिनीमा हालै निर्माण भएको परम्परागत नेपाली बौद्ध विहार पनि त्यही क्रिया संग्रह ग्रन्थको आधारमा हो ।

आधुनिक समयमा ब्रायन हडसनले अमृतानन्दको सहयोगले नेपालको इतिहास अध्ययन गरे भने गुणानन्दको सहयोगमा ड्यानिएल राइटले यो काम गरे । अमृतानन्द र गुणानन्द दुवै पाटनकै हुन् । यसैबाट पहिलोपल्ट बाहिरी विश्वले काठमाडौं उपत्यका बौद्ध धर्मको विशिष्ट स्वरूपका लागि प्रसिद्ध छ भनेर थाहा भएको हो । त्यसपछि त नेपाल आएर बौद्ध धर्मको अध्ययन गर्ने क्रम सुरु भयो र यसका लागि पाटन नै धेरै अनुसन्धानकर्ताको पहिलो रोजाइ रह्यो ।

त्यसैले नेपालबारे अध्ययन गर्ने ग्रेगोरी सारकीदेखि डेविड ग्लेनर सबैले अध्ययन र अनुसन्धानका लागि पाटनलाई नै रोजेका छन् । बुद्धिराज भन्छन्, ‘पाटन वास्तवमै खुला संग्रहालय हो, यहाँ बौद्ध धर्मसम्बन्धी अध्ययन र अध्यापनका लागि प्रचुर सम्भावना छ ।’ उनी अझ के पनि भन्छन् भने पाटनमा परम्परादेखि चलिआएको बौद्ध धर्मबारे अझै धेरै अध्ययन र अनुसन्धान बाँकी नै छ । ठीक यही बेला, जति छन्, त्यो परम्पराको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ ।


प्रकाशित : माघ १४, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

हतारमा छिन् फुन्जो

सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला, बिनाअक्सिनज चोयु हिमालको सफल आरोहण
हिमेश

काठमाडौँ — नाममा के छ र ? होइन, सबथोक हुन्छ । फुन्जो झङभु लामा नामैले सबथोक भन्छ । तिब्बती भाषाको यो नामको अर्थ हुन्छ, सबै पुगेको राम्रो । नाम मात्र होइन, यी ३१ वर्षीया युवतीले काम पनि त धेरै गरेकी छन्, त्यो पनि पुग्ने गरेर राम्रोसँगै । उनको सबैभन्दा ठूलो परिचय हुन्छ, सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गर्ने महिला । गज्जब छैन र यो ? जम्माजम्मी ३९ घण्टा ६ मिनेटमै फुन्जोले सन् २०१८ मा सफल आरोहण गरेकी थिइन् ।

दिन थियो, मे महिनाको १७ तारिख । उनले यो सबै विवरण आफ्नै हातमा ‘ट्याटु’ पनि गरेकी छन् र त्यसलाई खुबै गर्वले देखाउन पनि गर्छिन् । अझ त्यही ट्याटुलाई सुमसुम्याउँदै उनी भन्छिन्, ‘सबथोक मिलेको भए, त्यो समय अझ धेरै कम हुन्थ्यो ।’ त्यति भन्दा उनको अनुहार धपक्क बल्ने गर्छ । यो सबै किन सम्भव भएको थियो भन्दा फुन्जोको हिउँसँग नजिकको साइनो छ । उनी हिउँमै हुर्किन् र बढिन् । अनि हिउँकै लागि केही न केही गर्ने इच्छा राख्छिन् ।

हिउँमै रमाउने भनेपछि उनमा अदम्य साहस पनि त चाहियो नै । यो उनमा पर्याप्त छ पनि । त्यसैले आफ्नो नामको भावअनुसार हिउँसँग जोडिएर सबै पुग्ने गरेर राम्रो काम गर्न चाहन्छिन् । उनी आफ्नो हिउँसँग जोडिएको परिचयलाई अझ गाढा पार्न चाहन्छिन् । त्यसै क्रममा उनले हालै एउटा ठूलै जिम्मेवारी पनि पाएकी छन् र यो हो, स्विट्जरल्यान्डका लागि नेपालको पर्यटन सद्भावना दूत । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले यो जिम्मेवारी सुम्पेको हो ।

यो काममा पनि उनी उत्तिकै खुसी छिन् । भन्छिन्, ‘मेरो काम भनेको स्विसहरूलाई नेपालमा भ्रमण गर्नका लागि प्रेरित गर्ने, सल्लाह दिने र सहज बनाउने हो । मलाई यो काम निकै जिम्मेवारीपूर्ण जस्तो लाग्छ । त्यसैले मलाई धेरै काम पनि गर्नु छ ।’ उनी आफैं यसअघि स्विट्जरल्यान्ड पनि गइसकेकी छन् । त्यतिबेला उनी शीतकालीन खेलको प्रशिक्षणका लागि गएकी थिइन् । भनेपछि उनी खेलाडी पनि हुन्, त्यो पनि हिउँसँग जोडिएको ।

त्यसो त नेपालमा हिउँसँग जोडिएका खेल निकै कम हुन्छन् । कम मात्र होइन, यसबारे खासै चर्चा पनि हुन्न । तर नेपालको एउटा विशिष्ट परिचय हिमालको देशकै रूपमा छ । कम चर्चाबीच नेपालमा शीतकालीन खेलका राष्ट्रिय प्रतियोगिता पनि हुने गर्छ । फुन्जो त्यसकी पनि च्याम्पियन हुन्, अझ त्यो पनि पहिलो पहिलो । सन् २०१५ मा पहिलो पल्ट स्की च्याम्पियनसिप भएको थियो, लाङटाङको केन्जिङ भ्यालीमा । त्यहाँ उनी अल्पाइनमा च्याम्पियन भइन् ।

त्यसपछि यही प्रतियोगिता सन् २०१८ मा मुस्ताङमा भएको थियो र त्यसमा पनि उनी अल्पाइनमा च्याम्पियन भइन् । यो स्पर्धामा खेलाडी माथिल्लो भागबाट तल झर्ने गर्छ, स्की गर्दै । फुन्जो भन्छिन्, ‘मलाई नेपालमा पनि हिउँमा खेलिने खेल केही न केही सम्भव छ भनेर प्रचार गर्नु छ । स्विट्जरल्यान्डमै गएर मैले यो खेलबाट जान्ने र सिक्ने अवसर पाएका थिएँ । अनि नेपाल आएर च्याम्पियन पनि भएँ । मलाई हिउँका खेलबारे पनि धेरैलाई बुझाउनु छ ।’

फुन्जो राम्री पनि छिन्, हिस्सी परेकी । सायद भाग्यमानी पनि छिन् । त्यसैले त उनी एउटा वृत्तचित्रमा नायिका भएर पनि आउँदै छिन् । यस वृत्तचित्रबारे पटक्कै हल्ला नभएको स्थिति छ । निर्माण हुने क्रममा रहेको वृत्तचित्रमा के कस्तो हुन्छ, त्यसबारे पनि उनलाई थाहा छैन । तर एउटा तथ्य निश्चित छ, यसमा उनको प्रमुख भूमिका छ । खास कुरा के भन्दा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पल्ट सगरमाथा सफलतापूर्वक चढेको ७० वर्ष हुँदै छ ।

सन् १९५३ को मे २९ मानवीय इतिहासकै एउटा ठूलो उपलब्धिका रूपमा उनीहरू दुई जना सबैभन्दा पहिले सगरमाथाको चुचुरोमा पुगेका थिए । हिलारीका नाति हुन्, एलेक्जान्डर र जर्ज । आफ्ना बाजेको सम्झनामा उनीहरूले वृत्तचित्त बनाउन लागेका हुन् । सायद त्यसमा उनीहरू आफ्नो बाजेसँगको सम्बन्ध कुनै न कुनै रूपमा देखाउन चाहन्छन् । यो वृत्तचित्रको कथा नेपालसँग पनि त जोडिनु नै पर्‍यो, त्यसैले फुन्जो पनि छानिएकी हुन् ।

धेरैले यस पात्रका लागि ‘अडिसन’ दिएका थिए, तर छानिए उनी नै । यसको पनि कारण छ । उनको जीवनमा सबैभन्दा ठूलो भूमिका खेल्नेमा पर्छन्, बाजे । त्यसैले पनि फुन्जो आफ्नो बाजे नोर्बु लामाको प्रसंग आउँदा भावुक हुन्छन् । फुन्जोलाई तिनै बाजेले हुर्काए र बढाए, गोर्खाको चुम भ्यालीमा । यसै कारणले तिनै बाजे र फुन्जोबीचको सम्बन्ध देखाउन पनि यो वृत्तचित्रका लागि उनी उपयुक्त भइन् । हाम्रो काम भने यो वृत्तचित्रको व्यग्रसँग प्रतीक्षा गर्ने नै हो, किनभने यसबारे धेरै जानकारी बाहिर आएकै छैन ।

फुन्जोले बिनाअक्सिजन चोयु हिमाल पनि चढिसकेकी छन् । गोर्खाकी यी युवतीले मनास्लु, आमादब्लम र उत्तर अमेरिकाको डेनालीको पनि सफल आरोहण गरिसकेकी छन् । उनी पाकिस्तानको के–टू हिमाल सफल आरोहणको निकै नजिक पनि पुगेकी थिइन्, तर सफल भने भइनन् । चुचुरोबाट जम्माजम्मी दुई सय मिटरको दूरीमा पुगिसक्दा पनि उनी आरोहण त्याग्न बाध्य भइन् । भने पछि उनको परिचय खाली सगरमाथा कम समयमा चढ्ने महिलाका रूपमा मात्र छैन ।

उनको एउटा अर्को ठूलै परिचय पनि छ र यो हो, नेपालकी पहिलो महिला हेलिकोप्टर लङ–लाइन रेस्क्युअरको । के हो त यो ? उनी भन्छिन्, ‘एउटा निश्चित उचाइपछि हिउँमा हेलिकोप्टर ओराल्न मिल्दैन । तर ६ हजार मिटरको उचाइ पनि उद्धार त आवश्यक हुन्छ नै । त्यस्तो स्थितिमा हेलिकोप्टरमा झुन्डेर उद्धार गर्ने काम हुन्छ ।’ यसका लागि पनि उनले निकै कडा प्रशिक्षण लिएकी छन् । भनेपछि यी फुर्वाको कति धेरै साइनो है, हिउँसँगै जोडिएर ।

प्रकाशित : माघ १२, २०७९ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×